विश्वको आँखैअगाडि अँध्यारो बादल मडारिन थाल्यो । भर्खरै टेलिभिजनको पर्दामा प्रसारित त्यो विभत्स समाचारले उसको मस्तिष्कमा एउटा ठुलो हलचल पैदा गरिदियो। समाचारमा विश्वास गरूँ कि नगरूँ भन्ने दोधारमा ऊ रनथनिइरह्यो । मनको ढुकढुकी असन्तुलित भयो र अनायासै आँखाका डिलहरू आँसुले भरिएर आए।
‘सुन्नुभयो?’ श्रीमती मन्दिराको आवाज बैठक कोठामा गुन्जियो ।
विश्वले हतार–हतार आफ्ना आँसु पुछ्दै आफूलाई सामान्य तुल्याउने असफल प्रयास गर्यो। उसले रिमोटले टिभी बन्द गर्यो। मन्दिरा भान्साबाट हस्याङफस्याङ गर्दै आइन् । उनको अनुहारमा त्रास र बेचैनी प्रस्टै देखिन्थ्यो । ‘थाहा पाउनुभयो? कोहिनुरको लास त नागार्जुनको डाँडामा बोराभित्र फेला परेछ रे ! पवित्राले भर्खरै फोन गरेर सुनाएकी।’
‘के भयो हजुरलाई? अनुहार त निकै मलिन देख्छु त!’ विश्वको रुन्चे अनुहार हेर्दै मन्दिराले सोधिन्।
विश्वले लामो सास तान्दै भन्यो, ‘खै, आज बिहानैदेखि अलि सन्चो छैन, त्यसैले मर्निङवाक पनि गइनँ।’
मन्दिराले श्रीमानको निधार छामिन्, ज्वरो त थिएन तर मनभित्रको तापक्रम भने निकै बढेको थियो। मन्दिरा ‘चिया बनाएर ल्याउँछु है’ भन्दै भान्सातिर लागिन्। विश्वलाई अझै पनि विश्वास लागिरहेको थिएन कि कोहिनुरको मृत्यु भइसकेको थियो र तिनको लास नागार्जुनको डाँडामा भेटियो भनेर। ‘कसरी भयो यस्तो? कसले मार्यो मेरी कोहिनुरलाई?’ विश्व मनमनै आक्रोशित हुन्छ।
केही दिनअगाडि मात्र त हो, न्युरोडको सपिङ कम्प्लेक्समा भेट भएको । तिनी आफ्नो भाइसँग आएकी थिइन् । विश्वको उनीसँग अकस्मात् जम्काभेट भएको थियो।
‘नमस्ते विश्व दा!’ ऊ छक्क पर्दै कोहिनुरलाई हेरेको थियो । टाइट जिन्स र पिंक टिसर्टमा तिनको जवानी खुब खुलेको थियो । ‘यहाँ किन आउनुभयो विश्व दा ? यो त लेडिज सप हो,’ जिस्काउँदै उनले भनेकी थिइन्।
‘मन्दिरालाई एउटा ब्याग किनिदिऊँ भनेर आएको, भोलि उनको बर्थ–डे हो ! बर्थ–डे गिफ्ट !’ अलि हडबडाउँदै भनेको थियो विश्वले।
‘अनि मलाई पनि किनिदिने हो कि बर्थ–डे गिफ्ट ?’ कोहिनुरले जिस्काइन्।
‘तिम्रो बर्थ–डे कहिले हो भन न। तिमीलाई पनि किनिदिऊँला नि,’ कोहिनुरको जवानी हेर्दै, घुटुक्क थुक निल्दै विश्वले भनेको थियो।
केही वर्षअघिदेखि कोहिनुर बाबु र बाह्र वर्षको भाइसँगै विश्वको छिमेकी भएर आएकी थिइन् । आमा धेरै पहिल्यै बेपत्ता भएको कुरा उसले मन्दिराकै मुखबाट सुनेको थियो । मन्दिरालाई छरछिमेकीको बारेमा खोजीनीति गर्न खुबै चासो लाग्थ्यो। ‘आइमाईको स्वभाव नै त्यस्तै हो’ भनेर ऊ चुपचाप सुनिदिन्थ्यो।
प्लस टु सकाएर बसेकी कोहिनुर गजबकी सुन्दरी थिइन् । देशका प्रसिद्ध मोडलहरूभन्दा पनि राम्री ! ठुलठुला मृगनयनी आँखा, गोरो वर्ण, छिनिएको कम्मर, अग्लो कद– हेर्नेहरू हेरेको हेर्यै हुन्थे। बैंसले लबालब भरिएको जवानी देखेर जोकोही पनि लट्ठिन्थे। विश्व पनि कोहिनुरको जवानीमा मोहित थियो र पहिलो भेटमै आकर्षित भएको थियो।
पल्लो घरमा नयाँ मान्छे आउँदै छन् भनेर मन्दिराले नै भनेकी थिइन्। एकदिन अकस्मात् पल्लो घरको छतमा एउटी युवतीलाई देखेको थियो विश्वले। युवतीको रूपले उसलाई मन्त्रमुग्ध बनाएको थियो। मन्दिरालाई सोध्न पनि ऊ डरायो– किन केटीबारे सोधेर तिनलाई शंकाको महल ठड्याउन जग बसाल्न दिने! त्यसैले ऊ चुपचाप लाग्थ्यो।
एकदिन अकस्मात् आफ्नै घरको गेटमा देखा परिन् ती सुन्दरी युवती । विश्वले अचम्म मान्दै बरन्डाबाटै सोधेको थियो, ‘कसलाई खोजेको?’
ती युवतीले हातको कार्ड देखाउँदै भनिन्, ‘अंकल, म कार्ड दिन आएको।’
यति कुरा सुन्नेबित्तिकै हत्तपत्त भर्याङ ओर्लेर ऊ एकैछिनमै गेटमा पुगेको थियो । जोसँग बोल्ने मौका खोजिरहेको थियो, उनी नै आफ्नै घरको गेटमा आएपछि विश्वलाई ‘के खोज्छस् काने आँखा’झैं भएको थियो। उसले फुरुङ्ङ पर्दै गेट खोल्यो।
‘म पल्लो घरमा बस्छु अंकल, पर्सि मेरो भाइको व्रतबन्ध छ, हजुरहरूलाई निमन्त्रणा कार्ड दिन आएकी।’
‘अनि हाम्रो नामचाहिँ कसरी थाहा पायौ त बहिनी ?’ कार्ड हातमा लिँदै सरसर्ती हेरेर सोध्यो उसले।
‘पवित्रा आन्टीले भन्नुभएको थियो, हिजो उहाँलाई कार्ड दिन जाँदा।’
‘ए !’ भन्दै कार्डमा भएको नाममा आँखा दौडाएको थियो उसले। ‘कति राम्रो नाम– कोहिनुर !’ भन्दै ऊ मुसुक्क हाँस्यो।
‘मेरो नाम हो अंकल, कोहिनुर। थ्यांक यु अंकल !’ भन्दै तिनी पनि मुसुक्क हाँसिन्।
‘नाम पनि कोहिनुर अनि मान्छे पनि कोहिनुरजस्तै पो रहिछौ त ! आऊ भित्र, चिया पिएर जाऊ न। अनि मलाई अंकल भन्नुपर्दैन, दाजु भने भइगो नि, कसो ? म त्यस्तो बुढो भएको चाहिँ छैन है,’ ठट्यौली पारामा विश्व मुस्कुरायो।
तिनी खितिती हाँसिन्– ‘होइन होइन अंकल ! ओ सरी दाजु ! फेरि कुनै दिन पिउँला नि चिया, अहिले अलि हतारमा छु । बरु आउनुस् है पार्टीमा, नबिर्सिनु नि फेरि।’ यस्तो भन्दै चञ्चल प्रवृत्तिकी कोहिनुर बिदा भएकी थिइन्।
विश्वलाई त्यो रात पटक्कै निद्रा परेन। घरिघरि कोहिनुरको त्यो चञ्चले मादकता भरिएको हाँसोले विचलित गराइरह्यो। ऊ आशक्तिको पहिलो खुड्किलो पार गरिसकेको थियो। ऊ जहिले पनि कोहिनुर हिँड्ने बाटोमा ढुक्न थाल्यो तर मन्दिराले थाहा पाउलिन् भन्ने डर भने मनमा रही नै रहन्थ्यो। मन्दिराको आँखा छली छली भए पनि कोहिनुरको बाटो हेर्न भने उसले छाडेको थिएन । कोहिनुरको यौवनले उसको दिलोदिमागमा डेरा जमाउन थालिसकेको थियो । तिनको त्यो भरिलो जवानीले उसको तनमनमा आगो सल्काइसकेको थियो । कसरी कोहिनुरसँग नजिक हुने, उसले उपाय सोच्न थालेको थियो।
एकदिन मन्दिरालाई भनि पनि हाल्यो– ‘साँच्चै मन्दिरा, ती पल्लो घर किनेर बस्न आएकाहरू कस्ता हुन् हँ ? अस्ति व्रतबन्धको पार्टीमा तिमी त गयौ, होइन ? आफू त जान पनि पाइएन। कहाँबाट त्यही दिनमा कलेजको शैक्षिक भ्रमण राखिदिएको भन्या पोखरामा।’
कोहिनुरको भाइको व्रतबन्ध पार्टीमा जान नपाएकोमा ऊ निकै चुकचुकाएको थियो । कोहिनुरसँग नजिक हुने ठुलो मौका गुमेकोमा ऊ पछुताउनु पछुतायो।
‘विश्व दा, किन आउनुभएन भनेर सोध्दै थिइन्। मैले शैक्षिक भ्रमणमा जानुपरेकाले आउन पाउनुभएन भनेर भनेँ। अनि अचम्म लागेको कुराचाहिँ, मलाई चाहिँ ‘आन्टी’ भनिन्, अनि हजुरलाई चाहिँ ‘दाइ’ पो भन्छिन् त!’ मन्दिरा ईष्र्यावश ठुस्किँदै भनिन्।
विश्व मुसुक्क हाँस्दै भन्यो– ‘ए! हो र? अनि कोहिनुरको कोको रहेछन् परिवारमा?’ उसले प्रश्नवाचक दृष्टि श्रीमतीतिर फैलायो।
‘कोहिनुरको बाबु त बिएल सिन्हा रहेछन्, संसद् भवनभित्र क्यान्टिन चलाउने। मान्छे त हेर्दा भलादमी नै जस्तो देखिन्थे। पार्टीमा त सांसद–मन्त्रीहरू पनि आएका थिए। उठबस चाहिँ ठुलठुलै मान्छेहरूसँग रहेछ। पैसा पनि खुबै कमाएका रहेछन्। घर त गजबले सिँगारेका, जाबो व्रतबन्धको पार्टी त यस्तो भव्य! कोहिनुरको विवाह झन् कस्तो होला! म त छक्क परेँ,’ मन्दिरा बखान गर्न थालिन्।
उसले मनमनै सोच्यो– ‘किन मलाई कोहिनुरको यादले यतिबिघ्न सताउँछ ? म किन उनीप्रति यसरी आकर्षित भइरहेको छु? यो कस्तो आशक्ति ? मेरो त श्रीमती छिन् माया गर्ने तर पनि यो मन किन मान्दै मान्दैन? कोहिनुरको समीप हुन पो तड्पिरहन्छ त!’
एकदिन फेरि अचानक घरको ढोकामा आइन् कोहिनुर। ऊ खुसीले प्रफुल्ल भयो। घरमा मन्दिरा पनि थिइनन्, तरकारी किन्न बजार गएकी थिइन्। ऊ भर्खरै कलेजबाट थाकेर आएको थियो। तर कोहिनुरलाई देख्नासाथ उसको थकाइ एकैछिनमा हरायो।
‘आन्टी हुनुहुन्छ?’
विश्वले ढोका खोल्दै भन्यो, ‘ओहो ! कोहिनुर, तिमी यहाँ ! आऊ न भित्र।’
‘होइन अंकल,’ फेरि सम्झेझैं गरी भनिन्, ‘होइन विश्व दा, आन्टीलाई भेट्नु थियो। एउटा जरुरी कुरा गर्नु थियो।’ उनी अलि लजाएझैं गरिन्।
‘अहिले बजार गएकी छिन्, आइहाल्छिन् नि! आऊ न, बस्दै गर। म कफी बनाएर ल्याउँछु।’
अलि अप्ठ्यारो मान्दै उनी भित्र आइन् र सोफामा बसिन्। विश्व खुसीले प्रफुल्ल हुँदै कफी बनाउन भान्सातिर छिर्यो। कोहिनुरको आगमनले मनभरि उमङ्गको लहर फैलियो । एक कप कफी दिएपछि सँगै बसेर कुरा गर्ने बहाना खोज्न थाल्यो ऊ।
कोहिनुरले अप्ठ्यारो मान्दै कफी लिइन् र ‘धन्यवाद!’ भनिन्। आज अलि नजिकबाट हेर्न पाएको थियो उसले कोहिनुरको सौन्दर्यलाई। मन एकतमासले धड्कियो, कोहिनुरको सौन्दर्यरूपी तलाउमा ऊ चुर्लुम्म डुब्न पुग्यो। ठुलठुला आँखा, सुलुत्त परेको नाक, रसिलो ओठ र उन्नत वक्षस्थलमा उसले नजर सर्सती दौडायो। आँखाले भए पनि रसपान गर्यो विश्वले। उसलाई लाग्यो– ‘कोहिनुरको नरम हात समाती अधरको चुम्बन लिऊँ। प्रेमको सागरमा डुबाइदिऊँ। तिनका ती रसिला ओठको स्वाद लिँदै चुम्बनको वर्षा गरिदिऊँ।’
‘के टोलाएर हेरिरहनुभएको विश्व दा ? खै, कति बेला आउनुहुन्छ मन्दिरा आन्टी ? खासमा मन्दिरा आन्टीको फुपूको छोरा मेरो कलेजको साथी पो रहेछ! अस्ति पार्टीमा कुरा गर्दा पो थाहा पाएकी मैले।’
‘हँ !’ विश्व झसङ्ङ भयो। पिइरहेको कफी टक्क रोकियो। कोहिनुरको सौन्दर्यरूपी नशा एकै झट्कामा उत्रियो। ‘ए ! प्रतीक तिम्रो क्लासमेट हो र?’ अचम्म पर्दै सोध्यो उसले।
‘हो नि विश्व दा, मेरो सबैभन्दा मिल्ने साथी,’ प्रसङ्ग बदल्दै फेरि भनिन्– ‘अनि हजुर कुन कलेजमा पढाउनुहुन्छ? अस्ति आन्टीले भन्दै हुनुहुन्थ्यो।’
विश्वको मन एकाएक हिउँझैं चिसिन पुग्यो। अघिसम्मको त्यो रोमाञ्चकता एकाएक खहरे खोलाझैं सुकेर गयो। मनमनै निराश हुँदै भन्यो– ‘बालाजुको जेभिएर कलेज।’
मन्दिराको आगमन भएपछि दुवैजना खुसी हुँदै गफ गर्न थाले। उसलाई भने आफ्नो खुसी खुइलिएको झैं भान भयो । सालाको गर्लफ्रेन्ड पो रहिछिन् ! के गर्नु र अब! आशक्तिको डोरी एकै झट्कामा चुँडियो।
‘यी लिनुस् चिया, नौ बजिसक्यो । होइन, कति बेडमै टोलाएर बसिरहनुभएको भन्या ! उठेर फ्रेस हुनुहोस्! कलेज जानुपर्दैन र?’ मन्दिरा कोठाभित्र प्रवेश गर्दै भन्छिन् ।
विश्वको तन्द्रा भंग हुन्छ । अगाडि चियाको कप लिएर ठिंग उभिएकी स्वास्नीलाई उसले बस्ने संकेत गर्छ । अनि चिया हातमा लिँदै भन्छ– ‘मैले पनि भर्खर सात बजेको समाचारमा सुनेको, नागार्जुनको डाँडामा बोरामा फालिएको शव भेटियो भनेर। पहिचान पनि खुल्यो– बाफल बस्ने अन्दाजी वर्ष २२ की कोहिनुर सिन्हा रे । म त झन्डै बेहोस भएको । कसले गर्यो होला त्यस्तो अपराध?’
निराश भावमा उसले भन्दै जाँदा मन्दिरा पनि अँध्यारो अनुहार पार्दै भन्छिन्– ‘त्यही त, अघि बिहान पवित्राले कल गरेर भनेकी, म त अचम्मै परेँ। दुई हप्ताअगाडि त हाम्रै घर आएकी थिइन्। प्रतीक मेरो भाइ भन्ने थाहा पाएपछि कति खुसी भएकी थिइन्। अब त हजुरलाई आन्टी भन्दिनँ, दिदी नै भन्छु भन्थिन्। कति राम्री थिइन्। कुन पापीले त्यस्तो गर्यो होला? अब त काठमाडौं पनि सुरक्षित रहेन। मलाई त भात पकाउनै मन लागेन । कोहिनुरको त्यो हसिलो अनुहार मात्र आँखाअगाडि आइरहेको छ । उता प्रतीकको पनि बेहाल छ । अघि कुरा भएको थियो, उसले पनि हप्ता दिन भयो नभेटेको, फोन गर्दा पनि मोबाइल अफ छ। समाचार सुनेर ह्वा ह्वा रोयो मेरो भाइ । कस्तो घटना घट्यो, हे भगवान्!’
मन्दिरा सुकसुकाउन थालिन्। विश्वले सम्झाउँदै भन्यो– ‘पुलिसले पत्ता लगाउँछन् एकदिन अवश्य हत्यारालाई ! हुने कुरा भइसक्यो, पिर नगर। मलाई पनि केही गर्नै मन लागेन तर अब कलेज त जानुपर्यो। आज म क्यान्टिनमै खाउँला। तिमी स्कुल जान्नौ त आज?’
‘अहिले प्रतीक आउँछु भनेको छ। आज जान्नँ स्कुल, मेरो मुड पनि ठिक छैन। प्रतीकको गर्लफ्रेन्ड रहेछ, फुपूलाई पनि कोहिनुरबारे थाहा रहेछ। फुपूले त स्वीकृति दिइसक्नुभएको रहेछ तर फुपाजुले चाहिँ बाबु इन्डियन भएकाले हुँदैन भनेर अडान लिनुभएको रहेछ। फुपाजुलाई पहिलेदेखि इन्डियनहरू मन नपर्ने, दिल्लीमा बसेर आएकाले हो कि! नत्र यो वर्ष नै विवाह गर्ने सोच रहेछ प्रतीकको। विचरा मेरो भाइ!’ मन्दिरा एकै सासमा भन्दै जान्छिन्।
समय यसरी नै बितिरहन्छ । विश्वले जति कोसिस गरे पनि कोहिनुरलाई बिर्सन सकेको हुँदैन । एकदिन कलेजबाट थाकेर घर आएको मात्र के हुन्छ, मन्दिरा आत्तिँदै भित्र पस्छिन्। ‘के भयो मन्दिरा, किन यसरी आत्तिएकी?’
‘कोहिनुरको घरमा त पुलिस आएको रहेछ। कोहिनुरको बाबुलाई पक्रे रे !’ मन्दिराले सुइय सुस्केरा तान्दै भनिन्– ‘बाबुले नै मारेको भन्दै छन् सबैले कोहिनुरलाई त !’
‘हैट ! नचाहिने कुरा, कहीं बाबुले पनि आफ्नी छोरीलाई मार्छ ?’ ऊ अविश्वास प्रकट गर्छ ।
‘कोहीकोही पुरुषहरू कति निर्दयी हुन्छन्, हजुरलाई थाहै छैन!’ मन्दिरा सोफामा ढल्किन्छिन्।
ऊ किंकर्तव्यविमूढ भई स्वास्नीको अनुहार केलाउन पुग्छ । उसको आँखाअगाडि प्रतीकको रुन्चे अनुहार नाच्न थाल्छ । केही दिनअगाडि कलेजमै भेट्न आएको थियो प्रतीक। दुवै नजिकैको रेस्टुरेन्टमा पसेका थिए।
‘के गर्नु भिनाजु, मेरो त जिन्दगी नै बर्बाद भयो। मेरी कोहिनुरको कसले हत्या गर्यो?’ प्रतीकले निराश हुँदै सोधेको थियो– ‘हजुरलाई बिएल सिन्हाबारे केही थाहा छ कि ?’
विश्वले ‘दुई–चार चोटी देखेको, बोलचाल भएको थिएन’ भन्दै अनभिज्ञता प्रकट गरेको थियो ।
प्रतीकले रुन्चे स्वरमा भन्दै गयो– ‘हामी एकअर्कालाई एकदम मन पराउँथ्यौं । नामअनुसारकी साच्चै नै कोहिनुर हीराजस्तै थिई। हाम्रो प्रेममा कसको कुदृष्टि पर्यो भिनाजु ! कोहिनुरका बुबा हाम्रो सम्बन्धले खुसी हुनुहुन्नथ्यो । बेलाबेला कोहिनुरसँग झगडा हुन्थ्यो रे, एकदिन त हात पनि हाल्नुभएछ। बाबुसँग उनी एकदमै डराउँथिन् । कोहिनुरले त मलाई ‘भगाऊ’ पनि भनेकी थिइन् तर मैले पहिले बुबालाई मनाउँला भनेर आँट गरिनँ।’
विश्वको मन प्रतीकको कुरा सुनेर साह्रै दुख्यो । ऊ मनमनै पछुतायो– आफ्नै सालाकी प्रेमिकामाथि कस्तो आशक्त भएछु भनेर ।मोबाइलको घन्टीले उसको अतीत छताछुल्ल पारेर पोख्छ। ऊ वर्तमानमा फर्कन्छ। साथी दीपक (सरकारी वकिल) को फोन रहेछ।
‘हेलो विश्व ! के छ खबर ? त्यो बिएल सिन्हा भन्ने तेरै टोलतिर बस्छ हैन ? त्यसले त आफ्नै छोरी मारेछ नि ! तँलाई थाहा छैन ?’ दीपकले सोध्यो।
‘तँले कसरी थाहा पाइस्?’
‘त्यो कोहिनुर हत्याकाण्डको केस त मैले नै हेरिरहेको छु नि ! मान्छे पहुँचवाला भएकाले अलि गाह्रो भएको थियो अनुसन्धानमा। नेता–मन्त्रीहरूसँग पनि उठबस रहेछ । तँले कुरा सुन्यो भने अचम्म पर्छस्,’ दीपकले रहस्य खोल्न चाह्यो।
‘भन् न त ! सुन्न हतार भो,’ विश्वले भन्यो।
‘ल सुन, त्यो पातकीले त छोरीलाई बच्चैदेखि यौनशोषण गरिरहेको रहेछ । छोरीको अरूसँग प्रेम भएकाले नै उसले मारेको रहेछ।’
यो कुराले विश्वको मस्तिष्क नै झनझनाउँछ । ‘ओ माई गड! त्यस्तो पनि गर्छन् ? आफ्नै छोरीलाई पनि बाँकी नराख्ने ! छि, पुरुष भन्न पनि लाज लाग्ने भयो।’
‘लौ, तँलाई यो पनि थाहा रहेनछ– कोहिनुर त बिएल सिन्हाकी आफ्नै छोरी होइन रहिछिन् नि। त्यो पापी नरपिशाच गरिब नेपालीकी छोरी धर्मपुत्रीका रूपमा पालेको रहेछ र ‘रखैल’ बनाएको रहेछ,’ दीपकले थप रहस्य खोल्यो।
विश्वको मनमा ठुलो भूकम्प जान्छ। आँखैअगाडि कोहिनुरको त्रसित अनुहार आउँछ। कोहिनुर रुँदै भनिरहेकी थिइन्– ‘हो विश्व दा, मलाई मेरै अधर्मी बाबुले मार्यो। जब मैले उसको इच्छा पूरा गर्न मानिनँ, अनि मलाई घाँटी थिचेर मार्यो। बच्चैदेखि मेरो शरीरसँग खेल्दै आएको मेरो नरपिशाच बाबुले प्रतीकलाई माया गरेको सहन सकेन। त्यो रात पनि सधैंजसो मलाई ओछ्यान बनाउन चाह्यो, मैले मानिनँ। मलाई यो पापको जुनीबाट मुक्ति दिनुस् पापा भन्दै अनुनयविनय गरेँ तर उसले मलाई मारेर जंगलमा फालिदियो।’
‘खाना खान जाने होइन ?’ मन्दिराको यो आवाजले उसको सपना गल्र्यामगुर्लुम भत्किन्छ । दीपकसँगको वार्तालापपछि त ऊ सोफामै निदाउन पुगेछ ।
‘लौ, सोफामै निदाउनुभएछ त!’ मन्दिरा छक्क पर्छिन्।
‘ओहो ! कस्तो डरलाग्दो सपना देखेछु कोहिनुरको,’ वाक्य बिचमै अड्किन्छ। अनि आक्रोशित हुँदै भन्छ– ‘त्यो पापी बिएल सिन्हालाई फाँसी दिनुपर्छ। कोहिनुरको हत्यारा हो त्यो नराधम!’
उसको अनुहारमा क्रोधको रेखा यत्रतत्र फैलिन्छ। मन्दिरा आश्चर्यचकित भावमा लोग्नेको अनुहार केलाउन पुग्छिन्।
प्रकाशित: २८ चैत्र २०८२ ०६:०४ शनिबार





