१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

तिमीलाई नदेख्दा मनमा खलबल हुन्छ सधैं!

मुक्तक

१) मुक्तक

तिमीलाई नदेख्दा मनमा खलबल हुन्छ सधैं,

जब आउँछौ मेरो मनमा चलबल हुन्छ सधैं।

तिमीबिना मेरो जिन्दगी खल्लो, उदास हुन्छ,

तिम्रो प्रेम अनन्त ऊर्जाशील सलबल हुन्छ सधैं।

२) मुक्तक

साथी हुन्छन् अनेक थरी चिन्न गाह्रो हुन्छ, 

कसलाई दिउ यो मन झन मन साह्रो हुन्छ।

खुल्छन् खुलेर बोल्छन्  झन् मन दुख्ने,

नबोलेर के गरूँ दिनभरिको त्यही चारो हुन्छ।

३) मुक्तक

किन बुझ्दैन मान्छे उसको आफ्नै संसार हुन्छ,

उसको स्वतन्त्रतामा रमाउने एउटा आकार हुन्छ।

इच्छा हुन्छ सबैको स्वतन्त्रतामा नआओस् आँच भनी,

त्यसैले देशप्रति सबैको  सम्मान अपार हुन्छ।

४) मुक्तक

कसैसँग नगदी हुन्छ कसैसँग धनमाल छ,

सबैथोक भएर पनि मान्छेको साह्रै बेहाल छ।

घमण्ड गरेर हुन्न के थाह कुन बेला के हुने हो,

अरू जेसुकै होस् सबैको भाग्यमा काल छ।

 मुक्तककार  पारू अर्याल नेपाल

५) मुक्तक 

प्रेममा धोका खाएपछि अचम्मको प्रेम रोग लाग्छ,

यसको ओखती पाइन्न, दारु पिएपछि रोग भाग्छ।

एकचोटि पिएर हुन्न सम्झना आउनासाथ पिउने हो,

पिउने बानी परेपछि उसको शरीरले सधैं दारु माग्छ।

६) मुक्तक

घुमफिर गर्न जान पनि डर भयो हिजोआज,

नक्कली मायाको मात्रै भर भयो हिजोआज।

यो तन छैन सुरक्षित विश्वास कसरी गर्ने,

हेर्दा प्रेममा फस्न पनि कर भयो हिजोआज।

७) मुक्तक

तिमी गएपछि मेरो जीवनको एउटा लय सकिन्छ,

एक्लो देखेपछि आफ्नो खुशीको समय सकिन्छ।

तर आफू निडर भएमा कसैको चल्दैन जोर यहाँ,

सारा समस्यालाई मुठ्ठीमा कसेपछि भय सकिन्छ।

८) मुक्तक

जिन्दगीमा अँध्यारोलाई समेट्दै हिंड्नुपर्छ,

भएका समस्याहरूलाई भेट्दै हिंड्नुपर्छ।

बाध्यता छ कसैको लागि कसैले बाँच्नुपर्ने,

दुखहरू सहेर सुखहरूलाई रेट्दै हिँड्नुपर्छ।

९) मुक्तक

प्रकृतिको सुन्दरतामा नरमाउने को होला!

बैंसले मैमत्ता भएको देखी नठम्याउने को होला!

यसै भुलिदिन्छन् भमराहरू यो फूलको यौवनमा,

आफूलाई भुल्न त्यही बाटो नअपनाउने को होला!

१०) मुक्तक

सबैले सफलता प्राप्त गर्न लक्ष हेर्छन्, 

कसैले लक्ष हेर्नुभन्दा यता बकस हेर्छन्।

युद्ध त्यसै कहाँ जितिन्छ र दुनियाँमा,

बहादुर युद्ध जित्नको लागि अक्ष हेर्छन्।

- पारू अर्याल नेपाल

प्रकाशित: ५ जेष्ठ २०८२ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App