९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

झापाको माईखोला पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

झापाको कन्काई नगरपालिका–४ स्थित माईखोला पुल नजिक फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

शनिबार (आज) बिहान करिब साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्गको पुलको पूर्वतर्फ सडकको छेउमा एउटा कालो झोला फेला परेको थियो। उक्त झोलाभित्र प्रेसर कुकर र त्यसबाट निस्किएको तार देखेपछि त्रसित बनेका स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी विजय श्रेष्ठसहितको टोलीले उक्त क्षेत्रलाई सुरक्षित राख्न घेराबन्दी गरेको थियो। त्यसपछि चारआलीस्थित श्री अरिदमन गणबाट सेनानी आनन्दकुमार श्रेष्ठको नेतृत्वको बम डिस्पोजल टोलीले बिहान सवा ७ बजेति उक्त वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।  

घटनास्थल नजिकै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत फेला परेको छ। उक्त पर्चामा राजसंस्थाको पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने र वर्तमान व्यवस्थाको विरोध गर्दै आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरिएको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु डिस्पोज गरिएसँगै अहिले उक्त क्षेत्रको जनजीवन र पूर्वपश्चिम राजमार्गको यातायात सुचारु रूपमा सञ्चालन भइसको डिएसपी खड्काले बताए।

घटनामा संलग्न व्यक्तिहरूको खोजी र थप अनुसन्धान तीव्र बनाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ पुस २०८२ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App