१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको काठमाडौंस्थित कीर्तिपुर अस्पतालको जलन उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको छ।  

मंगलबार बिहान ३ बजेको समयमा बिबेकको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए।

गत शुक्रबार आत्मदाहको प्रयास गरेका मण्डलको उपचारकै क्रममा सोमबार निधन भएको हो। शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका मण्डललाई प्राथमिक उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा रेफर गरिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

उपचारका क्रममा सोमबार प्रधानमन्त्रीको सचिवालयको टोली तथा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह अस्पताल पुगेर मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

मण्डलको निधनपछि सांसद डा. सिंहले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनलाई बचाउन आफू, सरकार र चिकित्सकहरूले कुनै कसर बाँकी नराखेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, 'विवेक मण्डललाई बचाउन मेरो व्यक्तिगत, सरकार र चिकित्सकहरूको तर्फबाट कुनै कसर बाँकी राखिएको थिएन।'

विवेक मण्डलले गत शुक्रबार आत्मदाहको प्रयास किन गरेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित: ३० असार २०८३ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App