‘हैन भर्खरै यहीं त उभिरहेकी थिइन् एकाएक कहाँ गइहोली दिदी?’ भर्याङबाट उक्लिंदै विकास बर्बराउँदै मलाई हेर्दै कराउँछन्।
‘हो भन्या तिम्रो दिदीको बानी नै त्यस्ती! गइहोलिन् नि असनतिर किनमेल गर्न’ मैले सालालाई हेर्दै भनें।
‘दिदीको बानी त त्यस्ती नै हो। अब घण्टौ फर्किन्दिनन्। उनी एउटा सामान किन्न तोलमोल गर्न नै औधी समय लगाउँछिन्। एक्ली गएकी क्या हो’ मैले सोध्दै थिएँ।
‘खोई सानी पनि छैन भन्छिन् सुष्माले!’ आफ्नो छोरी र श्रीमती इंगित गर्दै विकास भन्छ्न्।
‘ल त ल म यसो असन त्यौडतिर गएर चाँडै फर्काएर ल्याउँछु’ भन्दै म बाहिरिएँ।
कमलादीदेखि नै दायाँबायाँ पसल चहार्दै म रियाकी आमा कमला खाेज्दै थिएँ तर भेटाउन सकिरहेको थिइन। केही क्षणमै असनचोक पुगें। अब कता मोडौ म अलमलिएँ। एकातिर त्यौड बाङेमोडा, ईन्द्रचाेक र महाबौद्व जाने गल्ली। लागें म महाबौद्व जाने गल्लीतिर। कि उता ऊ बेला चाइनिज सस्तो सामान प्रायः पाउने हुँदा पक्कै पनि कमला उत्तै गएकी हुनुपर्छ भनी म आँखा उतै घुमाउँदै गइरहें।

खासै लगनको सिजन त हैन, चैतको याम त्यति भीड लागिरहेको त थिएन। फेरि काठमाडौं महानगरपालिकाले नयाँ नगरप्रमुखको शहर व्यवस्थित आह्वान अनुसार सडक पेटीमा पसल राख्न नदिएको हुँदा मैले अलि खुला महसुस गरें। तैपनि अचानक सडकको एउटा कुनामा च्यापिएर नाङ्लामा अदुवा र लसुन बेचिरहेकी एउटी आइमाईमाथि मेरो नजर पर्यो।
उनीलाई मैले चिनें जस्तो लागेर अगाडि गएँ। नभन्दै उनी हाम्रै गाउँकै माला पो रहिछिन्। उनले पनि चिनेको जस्तो अनुहार लागेर ट्वाल्ल पर्दै हेर्छिन्।
‘गोपाल दाइ हैन?’ उनी मलाई नियाल्दै सोध्छिन्।
मैले हाँस्दै भनें, ‘हो नि चिन्यौ मलाई।’
घिउ रङे सेताम्मे वस्त्र र निधारमा उजाडिएको मालाको सिन्दुर देखेर म झस्किएँ। हुन पनि मैले माला नदेखेको नौदस वर्ष भयो होला। उनको बिहे यतै शहरतिरै भएकाे रहेछ। बिहे भइसकेपछि कहिलेकाहीं ऊ माइती आए पनि मैले भेटेकी थिइनँ।
उनी निकै बोलक्कड र चकचके थिइन्। म र उनकाे भावनात्मक रूपमा दाजुबहिनीको सम्बन्ध थियाे। आफ्नो कुनै समस्या हुँदा मलाई निर्धक्क सुनाउँछिन् र मैले सकेको समस्या कम पार्ने सल्लाह दिन्थें। पछि म माध्यमिक पढाइसकेपछि पढ्न शहर गएँ। समयको अन्तरालमा मेरो बसाइ पनि काठमाडौंमै भयो।
मैले सोधें, ‘अनि तिम्रो यो हाल?’ ज्वाइँ बितेको कति भयो?’
उनी भक्कानिदै सुनाउँछिन्, ‘पोहाेर भदौमा त हो नि। आठ महिना भयो। सानो छाेरा सुवास र मलाई छाडेर सधैंका लागि जानुभयो।’
म एकछिन सानो बाँसको मुढामा बसें र उनले आफ्नो विगत सुनाउँछिन्।
आफ्नो ह्रदयविदारक भाेगाइ सुनाउँदै उनी आँसु झारिरहन्छिन् मानौ उनीले आफ्नो बर्सौदेखि दबिरहेको दुखान्त ओकल्दै मन हलुको बनाउँदै थिइन्। उनको जीवनचर्या सुनेर म निकै भावुक भएँ। अन्त्यमा उनीसित बिदा लिंदै फेरि भेटौंला भन्दै उठें।
यस्तै बीसतीस पाइला के बढिरहेको थियो पछाडि ‘ए! बूढो, पर्खनुस् न’ भनेको आवाजले मुण्टो फर्काउँदा दुवै हातमा झोला बोक्दै कमला उभिरहेकी थिइन्। सानी एउटा हातले कमालाको पछ्यौराको टुप्पो समात्दै मिल्कबार खाँदै थिइन्। अलि कमलाको असहज देखेर म दौडिंदै एउटा झोला बोकिदिएँ।
‘कहाँ मात्र गइरहेकी भन्या उता विशाल कति कराइरहेको छन।’
‘आएको बेला अलिकति सामान किनौ भनेर निस्किहालेको’ मेरो झर्कोको सामना गर्दै भन्छिन्।
उनको बानी थाहा भएर मैले केही बोलिन। हामी सरासर विशालको घरतिर लाग्याैं। विशालको नयाँ घरको पुजामा आएका हामी भोज सकेपछि अलि रात छिपिए पनि घरमा छोरी रिया एक्लै भएकीले हामी आफ्नै कारमा घर फर्कियाैं।
कमला त घर पुग्नेबित्तिकै थकाइ लागेर घुप्लुक्क निदाइहालिन् तर मलाई पटक्कै निद्रै लागेन। बारम्बार आज भेटेकी मालाको नियति सम्झेर उनको रुग्न सलबलिन थाल्छ। सायद सपना हो कि बिपना मैले भन्न सकिनँ। मेरो आँखाको नानी सानोसानो भैसकेको थियो।
बिहे भएकै वर्ष मालाकाे श्रीमान् आफ्नो आर्थिक अवस्था सुघार्न बिदेसिएका थिए। गाउँमा बिदेसिने लहर नै चलेकाे थियाे। पहिले गएका आफ्ना दौंतरीहरूले राम्रोसँग कमाउँदै थिए। हिरा पनि हौंसिएर आमा र कलिलो बालक मालाको जिम्मामा छाडेर गएका थिए। बुबाको त उहिले नै देहावसान भैसकेका थियाे। समयले केही सन्तुष्टिको आकार लिइरहेकाे पनि थियाे। मालाको अँध्यारो आकाशले कालो बादलको घेरा तोडी केही उज्यालोका डोब भेट्दै थियो पनि।
गएको भदौमा हिराले मालालाई फोन गरेर बिदामा घर आउन लागेको कुरा सुनाए। दशैकै मुखमा आउने खबरले माला र आमाको खुसीको सीमै रहेनन् तर त्यो खुसी दुई घण्टै टिकेन।
लगत्तै अर्को खबर आयो हिरा मृत भेटिए। दुई घण्टाअघि अहिले ड्युटीमा छु। अब आउँदा बबुरालाई कपडा, तँलाई रातो सारी र आमालाई सारी पनि लिएर आउँछु भनेका हिरा एकाएक छाती नै चिर्ने खबरले मर्माहत बन्न पुगिन्।
एक्कासि किन घटना भयो भन्ने एकिनको खोजी मालाको दिमागमा चल्छिन् कतै श्रीमानले आफ्ना साथीहरूलाई सापटी दिइराखेको पैसा पनि उठाएर आउँछु भनेकाे शब्दले उनी झस्किन्छिन् र त्यही पैसा तिर्नुपर्नेहरूले नै हत्या गर्यो कि भन्ने उनी आशंका गर्छिन् तर परदेशमा भएको उक्त घटनाको तथ्यपरक अनुसन्धान गर्ने र त्यसबाट प्राप्त निष्कर्ष पीडित परिवारलाई जानकारी दिने कुनै संयत्र नै रहेन रैछन।
करिब छ दिनपछि हिराको लास भएको बाकस मालाको आँगनैमा पुग्छ्न्। केही सुखका आशा र सपना अचानक चकनाचूर भएको हुँदा उनी धेरैबेर रोइरहन्छिन्। छोरो मरेको केही महिना नबित्दै बुढी सासुको पनि मृत्यु हुन्छन्।
यसरी पतिवियोगपछि मालाको झन् अप्ठ्याराे दिन सुरु भयाे। हिरा बिदेसिंदा लिइराखेको ॠण पनि चुक्ता भएको छैन। बारीमा रोपिराखेको सागसब्जी र लसुन यही असनको गल्लीमा बेचेर साँझपख घर जाने उनको नित्यकर्म भैसकेकाे थियाे।
सायद यो एक घण्टाको बस यात्राबाट पुगिने असनका गल्ली नै उनको घोषित गन्तव्य भैसकेकी थियाे। अरू चाराे पनि छैन घरपरिवार चलाउन र श्रीमान् हिरा बिदेश जाँदा लिएको ॠण तिर्ने तरिका।
विदेशमा आफ्ना नागरिकहरू के कारणले जीवन गुमाइरहेका छन् भन्नेबारे जान्न यहाँको सरकारसँग अलिकति पनि चासाे रहेनछ। उही रोजगारीहरूले पठाएकाे पैसाबाट पाएको रेमिट्यान्सबाट सरकार चलिरहँदा पनि केही खोजीनीति गर्दैन।
बिचरा हिरा के कति कारण आफ्नो ज्यान गुमाउनुपर्यो भनी अलिकति पनि जरो उखेलेन। यस्तै कैयौं अन्नुत्तरित प्रश्नबिच माला यही विवशताको खडेरीमाझ निरीह हुँदै बाँचिरहेकी हुन्छिन्।
यति मात्र हो र आफू एकल महिला हुँदा थाेरै सहानुभूति नहुने अभद्र समाजको आँखाहरूसँग जाेगिंदै अनेक लाञ्छना खेप्नुपरेकाे छ। उनी धैर्य र संयमित हुँदै हिंड्छिन एकातिर जीवनसाथीको अभाव र अर्कोतिर सानु सुवासको सुसारको जिम्मेवारीलाई अठोट र संकल्पका साथ जिउने साहस पनि जुटाइरहन्छिन्। यही दुखै दुख बिच उनले आफ्नै बारीमा उब्जाएको लसुन र अदुवा तरकारी बेचेर गरेकी कमाइले गर्जो टार्दै सुबासको पढाइ तीव्र बनाउने गरेकी रहेछिन्।
आज आफ्नो जीवनको कलकलाउँदो फूल काँडाबिच फुलेर पनि माला सुवासको अनुहारमा हिरा हाँसिरहेको सम्झिन्छिन्। हिराको माया सुवासको आँखामा उनी अझै तृप्त हुन खोज्छिन्। त्यसैले त उनले आँसुमा नुहाएर पनि हाँसोको चहक देखाइरहन्छिन् ता कि असुर प्रवृत्तिका समाजले निरीहमाथि प्रहार गर्न नसकून्।
अकस्मात् म सपनाबाट बिउँझे जस्तो भएँ त्यो कुनै कथा नभै वास्तविक मालाले मसँग गरेको दुखेसोको हुबहु कपी रहेछ। जुन दबिरहेको बह एक हिस्सा ममाथिको आत्मीय थुँगामा सलल पोखेकी रहेछिन् जसले मालालाई आफ्नो मनमा सुकुन मिलेकी रहेछिन्।
प्रकाशित: १८ वैशाख २०८२ १२:२० बिहीबार





