१० वैशाख २०८२ बुधबार
image/svg+xml ९:३९ पूर्वाह्न
कला/संस्कृति

कर्माको ट्रेलर र गीतले युट्युब ट्रेन्डिङ कब्जा

नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र 'कर्मा' ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ ।

'अगस्त्यः च्याप्टर १' निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित यो चलचित्रको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश 'पागल' बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन्।

टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन् । केही दिन अघि सार्वजनिक भएका चलचित्रका ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन् ।

प्रदर्शन मितिसम्म ट्रेन्डिङ र हाइपको यो गति कायमै रह्यो भने 'कर्मा' ले बक्स अफिसमा समेत उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ । ट्रेलर र गीतहरूमाथि दर्शकले दिएका प्रतिक्रियाहरू हेर्दा 'कर्मा' ले हलसम्म दर्शक तान्ने सम्भावना बलियो देखिन्छ ।

लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको यस चलचित्रमा समावेश 'पागल' बोलको गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । गायक केसीकै शब्द तथा संगीत रहेको यो गीत युट्युबको म्युजिक सेक्सन अन्तर्गत २ नम्बर ट्रेन्डिङमा छ ।

सोमवार सार्वजनिक गरिएको 'पागल' गीत युट्युबमा १३ लाख २२ हजार पटक हेरिएको छ । चलचित्रका लागि पहिलो पटक गीत गाएका सुशान्तको यस गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् ।

त्यस्तै, गत बिहीबार सार्वजनिक भएको 'कर्मा' को ट्रेलर युट्युबको मुभी सेक्सनको ६ औं नम्बर ट्रेन्डिङमा छ । नेपालसहति विभिन्न देशको युट्युब ट्रेन्डिङमा परेको ट्रेलर हालसम्म ९ लाख ९६ हजार पटक हेरिएको छ ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । जसलाई छोटो समयमै दर्शकले अत्यधिक मन पराएका छन् ।

यसैबीच, अहिले सर्वाधिक चर्चामा रहेका गायक दुर्गेश थापाले गाएको 'कर्मा' बोलको टाइटल गीत युट्युब ट्रेन्डिङमा ट्रेन्ड गरिरहेको छ ।

आइतबार साझ सार्वजनिक गरिएको टाइटल गीत सार्वजनिक भएको पाँच घण्टामै ट्रेन्डिङमा पर्न सफल भएको । हाल यो टाइटल गीत म्युजिक सेक्सन अन्तर्गत १४ नम्बर ट्रेन्डिङमा छ ।

प्रकाशित: २५ चैत्र २०८१ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App