नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई परशु-कल्पना स्रष्टा सम्मान- २०८१ अर्पिएकाे छ।
नेपाल स्रष्टा समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरूलाई संयुक्त रूपमा उक्त सम्मानबाट सम्मान अर्पिएको हो।
आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो।
नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशक बढी योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मान अर्पण गरिएको हो।
सम्मानित स्रष्टा गणेश रसिकका क्षितिज छुन खोज्दा (कथासंग्रह), एउटा सारंगी छुन खोज्दा (कथासंग्रह), रसिकका गीतहरू,आकाशगंगाको ओतमुनि (उपन्यास), जब सिस्नुहरू टेक्दै हिंडे (संस्मरण), दशगजामा उभिएर हेर्दा लगायतका दर्जनौं कृति प्रकाशित छन्।
त्यस्तै आख्यानकार सापकोटाका उच्चारण (कथासंग्रह), नेपथ्य (कथासंग्रह), हामी हाँसिरहेछौं (कथासंग्रह), अन्धकार (कथासंग्रह), अकल्पनीय (उपन्यास), विखण्डित (उपन्यास), लगायतकाे कृति प्रकाशित छन्।
साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित समितिले गरेको सम्मान सिफारिस समाजको कार्यसमिति बैठकले स्वीकृत गर्दै सापकोटा र रसिकलाई छनोट गरेको हो।
कार्यक्रमका वरिष्ठ अतिथि नगेन्द्रराज शर्मा र रोचक घिमिरे, पुरस्कारका संस्थापकमध्येका प्रतिबोध प्रधान, प्रतिमा प्रधान न्यौपाने, प्रतिक्षा प्रधान जोशी लगायतले उक्त सम्मान अर्पिएका थिए।
उक्त सम्मान नेपाली साहित्यमा आख्यान लगायत विभिन्न विधामा सशक्त कलम चलाएका वरिष्ठ आख्यानकार परशु प्रधान र उनकी धर्मपत्नी कल्पना प्रधानको नाममा उनका छोराछोरीहरूले स्थापना गरेका हुन्।
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उचित व्यक्तिको नाममा रहेको पुरस्कार सही व्यक्तिले पाएको बताए। उनले यस्ता पुरस्कार र छनोटले साहित्यकारलाई प्रेरणा मिल्ने भन्दै यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे।
साहित्यिक पत्रकार रोचक घिमिरेले प्रधानसँग आफ्नो चिनजान २०१८ सालबाट भएको स्मरण गरे। ‘रचना’ साहित्यिक पत्रिकामा प्रधानले भोजपुरबाट धेरै योगदान गरेको चर्चा गरे।
नेपाल स्रष्टा समाजका संरक्षक तथा पुरस्कार छनोट समितिका संयोजक पवन आलोकले आफू परशु प्रधानको प्रेरणाले साहित्यमा आएको बताए। भोजपुरको विद्यालयमा शिक्षक हुँदा नै प्रधानले आफूलाई साहित्यमा लाग्न प्रेरित गरेको उनले बताए।
कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहालले परशु प्रधान नेपाली साहित्यको बृहस्पति भएको बताए।
प्रधान नेपाली साहित्यमा जता राखे पनि चम्किने साहित्यकार भएको उनको भनाइ छ। उनले सम्मानित आख्यानकारहरू रसिक र सापकोटाको योगदानको चर्चा गरेका थिए। सही व्यक्तित्व चयन गरेर सम्मान अर्पण गरिएकोमा उनले खुशी व्यक्त गरेका थिए।
यसैगरी कार्यक्रममा स्वर्गीय परशु प्रधानका छोरा वरिष्ठ पत्रकार प्रतिक प्रधानले पिताको नाउँमा राखिएको सम्मानको निरन्तरता दिइने बताए। साथै सम्मानको राशि सम्भव भएसम्म बढाउँदै जाने बताए।
नेपाल स्रष्टा समाजका अध्यक्ष एवं सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले परशु प्रधान अरूलाई पनि अगाडि सार्ने साहित्यकार भएको बताए। ‘उहाँले कस्तो सिर्जना गर्नुभयो, त्यो भनिरहनुपरेन तर आफूले सिर्जना मात्रै गर्नुभएन। ‘हामी आग्रह पूर्वाग्रहविना सम्मान गर्छौ।‘ उनले अगाडि भने।
नेपाल स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा गरेकाे उक्त सम्मान अर्पण कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षता भएकाे थियाे। कार्यक्रममा सदस्य शंकर भारतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रकाशित: ६ चैत्र २०८१ १०:४८ बुधबार