२४ चैत्र २०८१ आइतबार
image/svg+xml २०:१० अपराह्न
समाज

प्रहरीले भन्यो: उत्तेजित भिड नियन्त्रण गर्न गोली चलाउनुपर्‍यो

नेपाल प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा उत्तेजित भिडलाई नियन्त्रण गर्न गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ।

प्रहरीले आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा घटनाको विवरण सार्वजनिक गर्दै स्थिति नियन्त्रणबाहिर गएपछि बाध्य भएर गोली चलाएको जनाएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले पत्रकार सम्मेलनमा बोल्दै चैत १५ गते दिउँसो २:५४ बजे पहिलो पटक गोली चलाउनुपरेको बताए।

उनका अनुसार, सो दिन १२:५० बजे पहिलो पटक अश्रुग्यास प्रयोग गरिएको थियो। तर, दुर्गा प्रसाईंको नेतृत्वमा रहेको करिब २ देखि ३ हजारको भिडले कार्यक्रमस्थलतर्फ नगई प्रहरीको घेरा तोड्ने प्रयास गरेको उनले उल्लेख गरे।

“उत्तेजित भिडले धेरै घरमा तोडफोड गर्‍यो। अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपर्ने बाध्यता आइपर्‍यो,” डीआईजी आचार्यले भने।

उनले प्रदर्शनकारीको आक्रामक व्यवहारका कारण घटना भएको र प्रहरीले न्यूनतम बल प्रयोगको नीति अपनाउँदा पनि स्थिति बिग्रिएको दाबी गरे।

तीनकुनेमा भएको सो प्रदर्शन राजावादी समूहले आयोजना गरेको थियो। उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा सम्पत्ति नष्ट भएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित: २० चैत्र २०८१ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App