२५ चैत्र २०८१ सोमबार
image/svg+xml १६:३४ अपराह्न
राजनीति

महिलाहरुलाई दाहालको आग्रह : क्रान्तिको नेतृत्व गर्नेले अब समाजवादी क्रान्तिको पनि नेतृत्व गर्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन् ।  

अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलनको नेपालगञ्जमा उद्घाटन गर्दै उनले हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका नेतृत्वदायी भूमिकामा अघि बढाइएको बताए । अध्यक्ष दाहालले भने, ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’  

जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उनले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गरे । अध्यक्ष दाहालले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए ।  

‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन संभव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो’– अध्यक्ष दाहालले भने, ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि उर्जाको स्रोत बनेको छ भने सामन्तहरुका लागि आफ्नो हैकम खोसिएकोमा चुनौतीको विषय बनेको छ ।’

उनले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेशी, मुस्लिम लगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताए ।

‘कतै न कतै कमजोरी भयो भन्ने महसुस गरेर नै पछिल्लोपटक सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरियो । यसले दलाल बिचौलियाहरु आतंकित र चिन्तित हुन थाले,’ अध्यक्ष दाहालले भने,  ‘माओवादी सरकारमा रहिरह्यो भने हाम्रो सेटिङको जालो भत्कने भयो भनेर नै सरकार ढालिएको नेपाली जनताले प्रष्टरुपमा बुझिसकेका छन् ।’  

माओवादी नेतृत्वको सरकार कांग्रेस–एमालेले ढालेको नभई केही नेतालाई कब्जा गरेर दलाल र विचौलियाहरुले सरकार ढालिएको उनको दाबी थियो ।  

सरकारले अहिले जताततै बेथिति बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले विद्युत प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिनेदेखि राष्ट्र बैंकमा आफ्नो अनुकूल गभर्नर ल्याउन अस्वभाविक रुपमा कार्यविधि परिवर्तन गर्नेसम्मका काम भइरहेको बताए । सरकारको जग नै गलत भएकाले यसले अझ बढी गलत गर्दै जाने खतरा देखेर नै पार्टीले सरकारविरुद्ध खबरदारी अभियान थालेको उनले स्पष्ट गरे। उनले अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेण्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारी दिए ।

प्रकाशित: २० चैत्र २०८१ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App