२४ चैत्र २०८१ आइतबार
image/svg+xml १८:५५ अपराह्न
समाज

भाटभटेनीका सुरक्षा गार्ड भन्छन्: ‘मैले यहाँ २२ वर्ष जागिर खाएँ, सन्तान पढाए, घर-गाडी जोडे’

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुल (कृष्ण) प्रसाद पराजुलीले भाटभटेनीको २२ वर्षको जागिरे जीवनमा आफूले परिवारको सपना पूरा गर्न सकेको बताएका छन्।

चैत १५ गते प्रदर्शनकारीको लुटपाटबाट स्टोर जोगाएर चर्चामा आएका उनले आफ्नो मेहनत र साहसको कथा सुनाएका हुन्।

बुधबार भाटभटेनी सुपरमार्केटले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पराजुलीले आफ्नो २२ वर्षे यात्राको अनुभव सुनाए। उनले भने, “मैले यहाँ २२ वर्ष जागिर खाएँ। यो अवधिमा छोराछोरी पढाएँ, छोराको बिहे गरेँ, घर बनाएँ, गाडी जोडेँ।”

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन उग्र बनेपछि कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट र तोडफोडको प्रयास भएको थियो।

सो क्रममा पराजुली नेतृत्वको सुरक्षा टोलीले प्रदर्शनकारीलाई लखेटेर स्टोरको सम्पत्ति जोगाएको थियो। “आतंककारी आए, ढुंगामुढा गर्न थाले, लुटपाट गर्न खोजे। हामी सबै साथी मिलेर लखेट्यौं,” उनले घटना सम्झँदै भने। “एक्लै बाहिर हुँदा पनि मलाई डर लागेन।”

उनको साहसको कदर गर्दै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार उनलाई ५ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे।

साथै, उनको पदमा पाँच ग्रेड बढुवा गरिएको छ। गुरुङले सो घटनामा ७० लाखभन्दा बढीको क्षति भएको बताउँदै पराजुली र उनको टोलीको साहसले थप नोक्सानी हुनबाट जोगिएको उल्लेख गरे।

सामाजिक सञ्जालमा पराजुलीको लाठी लिएर प्रदर्शनकारीलाई प्रतिकार गरेको भिडियो भाइरल भएपछि उनको प्रशंसा चुलिएको छ।

प्रकाशित: २० चैत्र २०८१ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App