पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईद्वारा लिखित पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध: संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ काठमाडौंमा सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, टिप्पणीकारहरू पत्रकार कनकमणि दीक्षित, त्रिभुवन विश्वविद्यालयका पूर्व डीन प्रा. डा. कुशुम शाक्य, कूटनीतिज्ञ प्रा. डा. मोहनप्रसाद लोहनी र डा. मदन भट्टराईले सामूहिक रूपमा सर्वाजनिक गरेको पुस्तक इम्प्रिन्ट पव्लिसर्सले प्रकाशन गरेको हो। कार्यक्रम पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेका थिए।
नेपालको कूटनीतिलाई केन्द्रमा राखेर समग्र पक्षबाट वस्तुगत विशलेषणसहित सरल भाषामा लेख्ने प्रयत्न गरिएको यो पुस्तक डा. भट्टराईको चौथो कृति हो।
सिद्धान्ततः सबैले बुझेको ठान्ने तर व्यवहारमा कमैले राम्ररी ठम्याएको विषय हो– नेपालको कूटनीति। यस पुस्तकमा कूटनीतिजस्तो अति संवेदनशील विषयलाई फूल र काँडाका रूपमा नहेरी केवल फूल सरह हेर्ने अनौठो शैली अवलम्बन गरिएको छ।
नेपालको बाह्य नीतिसँग सोझो वा घुमाउरो सम्बन्ध राख्ने विषय र व्यक्तिको सबल/दुर्बल पक्षको मिहीन विश्लेषण गर्ने क्रममा यस पुस्तकले मुलुकको पहिलो परराष्ट्र सचिव नरेन्द्रमणिसँग जोडिने समष्टिगत पक्षलाई परराष्ट्र मामिला अध्ययनका रूपमा सप्रसंग उतारेको छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि र महाविद्यावारिधि गरेका व्यक्ति हुन्, पुस्तकका लेखक डा. मदनकुमार भट्टराई।
तुलनात्मक रूपमा छोटो तर आफ्नो अभिन्न प्रेम रहेका दुई विधा ( प्राज्ञिक र पत्रकारिता) क्षेत्रबाट दच्किएर अन्तर्राष्ट्रिय कूटनीतिको भुङ्ग्रोमा हामफालेका भट्टराईले झन्डै चार दशक सरकारी सेवामा बिताएका छन्।
ऐतिहासिक दस्तावेजको प्राज्ञिक अध्ययन र अनुसन्धान तथा विशिष्ट व्यक्तिहरूसँगको अन्तरक्रिया गर्न रुचि राख्ने भट्टराईको यो पुस्तक शृङ्खलात्मक अभिव्यक्तिका क्रमको चौथो प्रस्तुति हो।
पत्रकार कनकमणि दीक्षितले लेखक पुस्तकमार्फत भारतीय कूटनीतिको समेत सूक्ष्म विश्लेषण गर्दै इतिहासकारका रूपमा प्रस्तुत भएको बताए।
जीवित र दिवंगत व्यक्तिको समीक्षा धेरै कमले मात्र गर्छन् तर लेखक भट्टराईले त्यो भूमिका पुस्तकमार्फत निर्वाह गरेको बताए।
त्रिभुवन विश्वविद्यालयका पूर्व डिन डा. कुसुम शाक्यले ५ जना प्रधानमन्त्रीका साक्षी नरेन्द्रमणि दीक्षितका बारेमा धेरै थाहा नपाएका प्रसंग समेटेको बताइन्।
डा. शाक्यले महिलालाई उद्यमसँग जोड्नुपर्छ भन्ने सचेत व्यक्तित्वका रूपमा पुस्तकले प्रा. नरेन्द्रमणि दीक्षितलाई उभ्याउन सफल भएको बताइन्।
पूर्व कूटनीतिज्ञ प्रा.डा मोहन लोहनीले पुस्तकमा अभिलेखीकरण गर्नैपर्ने थुप्रै प्रसंग राखिएकाले लेखकको प्रयास प्रसंशनीय रहेको बताए।
केही ठाउँमा विषयान्तर हुन खोजे पनि लेखकले तिनलाई पुस्तकको केन्द्रीय व्यक्तित्व दीक्षितसँग जोड्ने प्रयत्न गरिएको बताए।
पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले यो पुस्तक प्रकाशन नभएको भए नेपालको कूटनीतिक क्षेत्रका धेरै कुरा थाहा पाउनबाट बञ्चित हुने महसुस गरेको टिप्पणी गरे।
उनले नरेन्द्रमणिकालका पात्र, तिनको क्षमता, विश्व र नेपाल अनि भारतसम्बन्धका धेरै कुरा उजागर गर्न सफलभएको हुँदा परराष्ट्र सम्बन्धका संक्रमणकालबारे थुप्रै पाठ सिक्न पुस्तक सहयोगी हुने बताए।
प्रकाशित: २४ फाल्गुन २०८१ २२:३७ शनिबार





