अपेक्षाको आँगनबाटै
अनगिन्ती खुसीहरू खोसिएपछि
उत्सवकै बाजा घन्किँदा पनि
नाच्न सकेनन् असुरक्षित विचारहरू
सुरक्षित हुँदैनन् भनेर जान्दाजान्दै
जन्माएका सन्तान जस्ता विचारहरूले
पलपल विद्रोह गर्छन् बन्धकहरूको
भौतिक खुसीभन्दा
कयौं गुना बढी हुन्छ
स्वतन्त्रताको खुसी
चाहन्छन् असुरक्षित विचारहरू पनि
स्वतन्त्र हुन
सत्तरी/असीको दशकमा
पाएको स्वतन्त्रताले के अर्थ राख्ला र?
इन्द्रेणी हराएपछि क्यामेरा हात परे जस्तो।
सिस्नोले पोल्यो भन्दै
सिस्नोसँगै गुहार मागेर
कहिले न्याय मिल्ला र?
जीवनप्रतिका झिँजा असन्तुष्टिहरूले
खुसीका बोधिवृक्षहरूलाई
शक्ति राख्छ खरानी बनाउने
यी सब जान्दाजान्दै पनि
उत्तर खोज्दै हिँडिरहेछ मन
आफ्नै प्रश्नको घेराभित्र।
- लिली अधिकारी
प्रकाशित: १८ फाल्गुन २०८१ १०:१२ आइतबार