१) मुक्तक
हरेक हारपछि पनि जितको म अपेक्षा राख्दथें,
काँडै सही फुलिरहने फूलको म शुभेच्छा राख्दथें।
आँधीसँग पनि म खेल्दछु आगोसँग पनि चल्दछु,
सम्झौता हैन संघर्षमै जिन्दगीको प्रेक्षा राख्दथें।
२) मुक्तक
मायाका प्रतित चखेवाको जोडी देखिरहूँझैं लाग्छ,
छमछम पंख मूजुर नाचिरहेको हेरिरहूँझैं लाग्छ।
जीवन साँच्चै लालीगुँरासझैं भीरमै फुलेर नै यस्तै,
सुखदु:ख थाती राखेर सधै यहाँ हाँसिरहूँझैं लाग्छ।
३) मुक्तक
धनभन्दा ठुलो जिन्दगीमा साथ कमाउनु,
आफूभन्दा ठुलो मायामा आँखा लगाउनु।
दुई दिनको रामछायामा मान्छे भै बाँच्नु छ,
सेवा नै रहेछ ठुलो मर्दा पर्दा हात बढाउनु।
४) मुक्तक
स्वभावैमा बद्लिने बादलको कुनै आकार हुँदैन,
तातो कहिले चिसो बहने हावाको एउटै धार हुँदैन।
अस्थिरले तृष्णाको जालो बुनेर जल्ने मान्छेहरूमा,
आखिर यहाँ हुँइकिने जीवनको त कुनै सार हुँदैन।
५) मुक्तक
म मान्छु जीवन आखिर तय गरिएको रहेछ चिहानसम्म,
म मान्छु रातको अन्त्य तय गरिएको रहेछ बिहानसम्म।
मृत्यु शाश्वत सत्य हो हामीले किमार्थ रोक्न सक्दैन समय,
जस्ले पापपुण्य हिसाब गर्छ अन्त्य अघिको मिलानसम्म।
६) मुक्तक
आफूले गरेको हर गुणलाई बदलामा मूल्य कहिले नतोक्नु,
कुनै बेला समय साथ छुट्दा उल्टो सम्बन्ध कहिले नरोक्नु।
घण्टी बज्नासाथ दौडिन नसक्नु सायद मजबुरी हुन सक्छ,
आखिर आफू नै सही भन्ने निर्धिग्नता सोच कहिले नबोक्नु।
प्रकाशित: २८ माघ २०८१ १२:१७ सोमबार