काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३।०८४ मा काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुने बताएकी छिन्।
बुधबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेटघाट गर्दै महानगरपालिकाको काम चलचित्र नभएपनि रचनात्मक उद्योगको विकासमा समुदाय जोड्ने सशक्त माध्यम रहेको बताएकी छिन्।
महानगरपालिकाले आयोजना गर्ने फेस्टिभलमा अष्ट्रेलियन कलाकार, चलचित्र निर्माता, निर्देशक, प्राविधिकहरुलाई सहभागी गराउन चाहेको धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले, नेपालमा चलचित्र क्षेत्रका पेशाकर्मीहरुको क्षमता विकास, समुदाय तथा शैक्षिक प्रतिष्ठानमा चलचित्र शिक्षा र सचेतना, अध्ययन अनुसन्धान तथा चलचित्रमार्फत रचनात्मक उद्योगको विकास गरेर स्थानीय जीवनस्तर सुधारमा सहकार्य गर्न सकिने बताइन्।
‘चलचित्रले घरभित्र रहेका व्यक्तिलाई सार्वजनिक स्थलमा ल्याएर सामाजिक सद्भाव बढाउन सहयोग गर्ने हामीले महसुस गरेका छौँ।’ भर्खरै महानगरपालिकाले सम्पन्न गरेको टोल टोलमा फिल्म महोत्सवको नतिजाका विषयमा कुरा गर्दैउनले भनिन्, ‘बालबालिका र महिलाहरुको सहभागिता र त्यसबाट प्राप्त भएको खुशी हामीले अपेक्षा गरेको नतिजा थियो, प्राप्त भयो।’
त्यस क्रममा राजदूत अर्न्स्टले करिब ५० हजार अष्ट्रेलियन नागरिकले नेपालको भ्रमण गरेको बताउँदै हजारौ संख्यामा नेपालीहरु अष्ट्रेलियाका विभिन्न सहरमा जाने क्रम रहेको र काठमाडौंमा आयोजना हुने कार्यक्रमसँग अष्ट्रेलिया जोडिन चाहेको भन्दै आफु सकारात्मक भएको बताएका छन्।
प्रकाशित: ३२ असार २०८३ १२:०३ बिहीबार





