चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि त्रास फैलाउँदै आएको जङ्गली भाले हात्ती ‘ध्रुवे’ लाई १० दिनको अथक प्रयासपछि नियन्त्रणमा लिई अत्याधुनिक स्याटेलाइट रेडियो कलर जडान गरिएको छ।
असार २० गते पश्चिम चितवनमा दुई जना स्थानीयको ज्यान लिएपछि बढेको जनआक्रोश र त्रासका बीच निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले असार ३१ गते राति १०:३० बजे सुखीभार क्षेत्रबाट यसलाई नियन्त्रणमा लिएको हो।
बाढी, निरन्तरको झरी र बढेको झाडीका बीच तीन पालो (सिफ्ट) मा विभाजित भएर गरिएको अथक खोजीपछि टोली ध्रुवेलाई नियन्त्रणमा लिन सफल भएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनका अनुसार यस पटक ध्रुवेलाई नियन्त्रणमा लिनु केवल प्राविधिक प्रयास मात्र नभई उसको उग्र स्वभाव शान्त पार्ने र प्रविधिको उच्चतम प्रयोग गर्ने एक जटिल ‘मेडिकल अपरेसन’ समेत थियो।
असार ३१ गते साँझ ७:०० बजे टोलीले ध्रुवेलाई लठ्ठ्याउने औषधि ‘जाइलाजिन’ दिएको थियो र पूर्ण रूपमा नियन्त्रणमा लिन राति ९:३० बजे बेहोस बनाउने औषधि ‘जनरल एनेस्थेसिया एम९९’ प्रयोग गरिएको थियो। करिब ४० मिनेटभित्र कलर जडान, दाह्रा काट्ने र औषधोपचारको काम सकेर ब्युँझने औषधि दिएपछि ध्रुवे सकुशल जङ्गलतर्फ लागेको थियो।
हात्ती मत्त चढेका बेला उग्र हुने जैविक चक्रलाई रोक्न यस पटक प्राविधिक टोलीले विशेष औषधिको प्रयोग गरेको छ। विगत २५ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत भेटेरिनरी प्राविधिक किरणराज रिजालले ध्रुवेको मत्त हर्मोन कम गर्न ‘जीएनआरएच एनालग’ नामक औषधि दिइएको जानकारी दिए।
यसको प्रभाव ७२ घण्टापछि सुरु भई करिब डेढ महिनासम्म रहनेछ। यसैगरी, भौतिक संरचनामा क्षति पुर्याउन कम गर्ने र मनोवैज्ञानिक रूपमा हात्तीको मनोबल घटाउने उद्देश्यले ध्रुवेको दाह्रालाई ६ इन्च काटिएको छ।
ध्रुवेको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको यो चौथो पटक हो। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरले यस पटक जडान गरिएको कलर पहिलेको भन्दा अत्याधुनिक रहेको बताए।
यो नयाँ प्रणालीमा रहेको ‘जियो फेन्सिङ’ प्रविधिले ध्रुवे मध्यवर्ती क्षेत्र वा मानव बस्तीतर्फ प्रवेश गर्नासाथ हरेक १५–१५ मिनेटको छोटो अन्तरालमा निकुञ्ज प्रशासनलाई स्वचालित रूपमा सतर्कता सन्देश पठाउनेछ। यसले गर्दा सम्भावित मानवीय क्षति रोक्न तत्कालै उद्धार टोली परिचालन गर्न सहज हुनेछ।
पहिलो पटक २०६६ साल मङ्सिरमा मानिस मारेपछि चर्चामा आएको ध्रुवे हात्तीको आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन्।
यसअघि प्रत्येक एक घण्टाको फरकमा मात्र भौगोलिक अवस्थाको विवरण प्राप्त हुने गरेकामा नयाँ प्रविधिले थप प्रभावकारी पहरेदारी गर्ने प्रमुख संरक्षण अधिकृत पुनले विश्वास व्यक्त गरे।
निकुञ्ज प्रशासनले आफ्नो शतप्रतिशत क्षमता लगाएर काम गरिरहेको अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीयको सचेतता र सहयोग उत्तिकै आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।
प्रकाशित: ३२ असार २०८३ २२:१४ बिहीबार





