१) मुक्तक
नगर पूरा हुने रहर भन्दिएको भए,
तिमिसँग बसाउन्न घर, भन्दिएको भए।
दोबाटोमा पर्खिएर म पनि त बस्नी थिइन्,
पहिल्लै आफ्नो सुर गर भन्दिएको भए।
२) मुक्तक
देशकै सेवा गर्न सकूँ दास बन्न सकूँ,
सबको प्रिय बन्न सकूँ खास बन्न सकूँ।
प्रकृतिको काखमा हुर्की पखेरामा फुल्ने,
डाँफे बन्न सकूँ लालीगुराँस बन्न सकूँ।
३) मुक्तक
जुन शिर मेरो सामु झुक्दैन आरोप लगाउँदिनँ,
नफलेको वृक्षको हाँगो नुग्दैन आरोप लगाउँदिनँ।
मेरा हरखुसीमा आँखा लगाउने आफ्नाहरू हुन्,
शत्रुको त औकात पुग्दैन आरोप लगाउँदिनँ।
४) मुक्तक
कसरी यहाँको नजरमा परूँ बताइदिनुहोला,
यसका लागि म के गरूँ बताइदिनुहोला।
सरकार म यो देशको इमान्दार गरिब हुँ,
भोकले मरूँ कि रोगले मरूँ बताइदिनुहोला।
५) मुक्तक
सुन्दरताको खजाना छ मेरो बिस्तारामाथि,
अमूल्य मोतीकै दाना छ मेरो बिस्तारामाथि।
मलाई चिह्याउन त्यो जून आफै आउने गर्छ,
जून चुहिने छाना छ मेरो बिस्तारामाथि।
६) मुक्तक
होस् कि नहोस् जम्मा गर्नुमा फाइदा देखाउँछन्,
उनकै अफिसको फारम भर्नुमा फाइदा देखाउँछन्।
बिमा अभिकर्तासँग एक घण्टा गफ गर्नुस्,
बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखाउँछन्।
७) मुक्तक
केही त अरुलाइ जलाउने काम गर्नै पर्ने हुन्छ,
जसरी हुन्छ कलाले प्रभाव छर्नै पर्ने हुन्छ।
जिउँदो छु पाइलापाइलामा आलोचना सुन्छु,
तारिफ सुन्न त मैले पनि मर्नै पर्ने हुन्छ।
८) मुक्तक
एउटा समस्या नै अर्को समस्याको हल हो,
समय अनुसार चल्न सिकाउने ज्ञान हो बल हो।
तिमी खुसी हुनु व्यर्थ थियो म पहेंलिएर झर्दा,
मेरा रूखकाे पात मेरै जराका लागि मल हो।
९) मुक्तक
निर्णय यति मजबुर छ फेर्नै मिल्दैन,
न यस्मा कसैको कसुर छ, फेर्नै मिल्दैन।
मनमा बसेको उनीसँग वर्षौपछि भेट भयो,
सिरमा अर्कैको सिन्दुर छ फेर्नै मिल्दैन।
१०) मुक्तक
जो घरको मुली भयो उहीं गुरु भयो,
उसकै इसारामा व्यवहार खुरुखुरु भयो।
उ जागिरे म जागिरे जिम्मेवारी त बराबर हो,
घरको काम नि बाडौं भन्दा, झगडा सुरु भयो।
- मिर्मिसा पराजुली
प्रकाशित: २७ माघ २०८१ १३:२४ आइतबार