पत्रकार प्रजु पन्त र पुष्पा थपलियाको ‘सुधारिएका सामुदायिक विद्यालय’ किताब सार्वजनिक भएको छ। दुई वर्षअघि मधेश र कोशी प्रदेशका सुधार भएका सामुदायिक विद्यालयमै पुगेर अध्ययन गरी किताब लेखिएको हो।
किताब सहलेखन गरेकी थपलियाका अनुसार उनीहरू पर्सादेखि झापासम्मका विद्यालयमा पुगेका थिए। विद्यालयको प्राङ्गणमै गरिएका कुराकानी र केही प्रतिवेदन हेरेर किताब तयार पारिएको थपलियाले जानकारी दिइन्। ‘दुई वर्षअघि हामी स्थलगत मधेश र कोशी प्रदेशका केही सामुदायिक विद्यालय गएका थियौं। त्यसैको आधारमा पुस्तक तयार भएको छ। यो पुस्तकले सामुदायिक विद्यालय सरकारीकरण गरेपछि कसरी बिग्रियो अनि फेरि समुदायकै हातमा पुगेपछि कसरी सुध्रदै गए भन्ने बुझिन्छ।’
त्यस्तै लेखक पन्तले यो किताब लेख्दा सामुदायिक विद्यालयको अवस्था कस्तो हो ठ्याक्कै थाहा भएको बताइन्। उनले भनिन्, ‘यो पुस्तक सुधारिएका सामुदायिक विद्यालयको कथा हो। कसरी बिग्रे, कसरी सुधारिए भन्ने प्रधानाध्यायपकको अनुभव पढ्न पाइन्छ। सामुदायिक विद्यायलयमा चासो राख्ने नागरिक कसरी विद्यायल सुधार्ने नीति निर्मातालाई यो पुस्तक उपयोगी हुन सक्छ।’
प्रकाशक पुष्पराज पौडेलले मधेश प्रदेशका ७ र कोशी प्रदेशका ४ विद्यालय छानेर किताबले आकार पाएको बताए। ‘हामीले विद्यालय छनौट गर्दा नेपाल सरकारको प्रतिवेदन, विद्यायलयको नतिजालाई समेत ख्याल गरी छान्यौं। यो किताब विद्यालय शिक्षा सुधार्नेका लागि मार्गदर्शन हुने विश्वास मैले लिएको छु।’
शिखा बुक्सले प्रकाशन गरेको किताबको मूल्य ४७५ रहेको छ।
प्रकाशित: २५ माघ २०८१ ०६:५७ शुक्रबार