२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

‘मनका तरङ्गहरू’मा कवि प्रतिमा छेत्री

पुस्तक

चेली कवि प्रतिमा छेत्रीको ‘मनका तरङ्गहरू’ हात पऱ्यो। सिलिगुडीको साहित्यिक भूमिमा एउटा नयाँ काव्यकृति भूमिष्ठ भयो। यो साँच्चै गर्व र हर्षको कुरो हो मेरो निम्ति।

कुनै डोलझ्याङ्ग्रो नबजाई, कुनै हल्ला नगरी कविता, गजल, गीत आदि लेखेर आफूभित्र सन्तुष्टि रही अन्त्यमा एउटा नयाँ काव्यकृति ‘मनका तरङ्गहरू’  सिलिगुडीको साहित्यिक फाँटलाई चढाइन् कवि प्रतिमा छेत्रीले। यसको निम्ति भक्कू स्यावासी चेलीकवि प्रतिमालाई।

धेर नबोल्ने। उनको स्वाभाव नै गम्भीर, शान्त। काव्यकृति ‘मनका तरङ्गहरू’ प्रकाशित हुनेबित्तिकै पहिल्यै मलाई चढाउन भनी मकहाँ आइन्। माइती सम्झी मलाई सर्वप्रथम उनको पहिलो काव्यकृति चढाउन आएकी म खुसी भएँ।भक्कुमारी। न किताब हात परेपछि हेरेँ।अहा, मैले नै भूमिका लेखेको रहेछु। मलाई सम्मानपूर्वक भूमिका लेखिमागेकी पनि चेली कवि प्रतिमाप्रति त्यसै पनि अनुगृहीत छु।

यतिञ्जेल ओझेलमा थिइन् प्रतिमा। हामीले पनि त्यति उनलाई याद नगरेका रहेछौं। प्रचारप्रसारदेखि कोशौं टाढा बस्ने प्रतिभालाई प्रकाशमा ल्याई उनलाई साहित्य लेखनमा हुटहुटी लाउनु मात्र होइन किताब समेत छाप्न हुटहुटाउने नेपालका झर्झराउँदा गीतकार एनबी दाहालले लिएका रहेछन्।

समीक्षक कृष्ण प्रधान

साँच्चै दाहाल जस्ता उदार हृदयी गीतकार नभएका हुँदा हुन् ता प्रतिमालाई भारतीय नारी हस्ताक्षरको रूपमा हामीले चिन्न सक्ने थिएनौं। यिनै दाहालको हुटहुटीले प्रतिमालाई भारतीय नेपाली नारी साहित्यकारको रूपमा हामीले चिन्ने भयौं। गीतकार दाहालजी जस्ता अरू २/४ व्यक्ति हुँदा हुन् ता हाम्रा नवोदित साहित्यकारहरू चिचिलामै निँखोज हुने थिएनन्।

जे होस् प्रतिमा छेत्रीको पहिलो कृति बल्ल पढेर सिद्ध्याएँ। यस ‘मनका तरङ्गहरू’ हरूमा सयभन्दा धेर कविता छन्। यस सङ्ग्रहमा परेका कविताहरू सरसरती पढ्दा के भन्न ठुङ मार्दो हुन्छ भने, प्रत्येक मानिसभित्र अनुभूतिका लहरहरू तरङ्गित भइरहेका हुन्छन्।

कोमल भावनका धनीहरू यसलाई शब्दमा उतार्नुका साथै ती अनुभूतिलाई जीवन प्रदान गर्छन् भने कसैमा भने ती अनुभूतिहरू आफूभित्रै बिलाएर जान्छन्। खासै भन्नुपर्दा कवि हृदयी मानिसहरू मात्र यस्तो स्नेही काम गर्न सक्छन्।

यसरी आफ्नो अनुभूतिलाई नाके डोरी लाउने सबल र अब्बल कवि हुन् प्रतिमा तामाङ। पहिलोपल्ट भारतीय नेपाली नारी कवि हस्ताक्षर रूपमा देखिएकी प्रतिमा तामाङका कवितामा वर्तमानको यथार्थबोध गराउने समसामयिक विषयवस्तु टपक्क टिपेर अनुभूतिपरक संवेदना उजागार गर्दै कवि हृदयका चित्रहरू उतारिएको पाइन्छ। आफू मात्रको होइन हरदर समाजकै पीरवेदनालाई मूल आधार बनाएर विम्बात्मक अनुभूतिहरू कवितामा भक्कु देखिन्छः

आफ्नो फाइदाको लागि

हामीलाई अल्छी बनायौ

हामी त विश्ववासी थियौं

हामीलाई बुद्धिहीन बनायौ

दुनियाँलाई हत्केलामा नचाउन चाह्यौ।

यिनका धेरजसो प्रणय रागका स्वरहरू नै सुनिन्छ। कति कविताहरू गीतकै भाखामा लेखिएको पाइन्छ कतिपय कविताहरू लोकलयमा आधारित पनि देखिन्छ।

त्रिवेणी खोला दोभान तरौंला

मैच्याङ्गलाई फुरुक्कै पारौंला

रङ्गीत खोलो तरौंला

आफू त चिटिक्क परूँला

रङ्गीन खोला तरौंला

फेरि

तीजको दिन सजुँला

फेरि अरू दिन यस्तै हो

यताउता गर्दा नै ठिक्क

व्यस्तको व्यस्त नै हो।

जीवनप्रति पनि कविको वितृष्णा देखिन्छ तर यो वितृष्णा एक्लो कविको मात्र हरदर आमा मान्छेको जीवनप्रतिको वितृष्णा हो। कविता लेखेरे वा कवितामा अनुभूति पोखेर मात्र कविको जिम्मावारी पूरा हुँदैन।

कवि बाँच्न कविताका साथै तिनका अनुभूति पनि जीवन्त हुनुपर्दछ। जीवनका यावत् पक्ष सङ्घर्ष, दुःख, प्रेम, थकान, हर्ष, चिन्ता, क्रोध, विषाद, विवाद, सहयोग तथा असहयोग आदिलाई निकटबाट परीक्षणनिरीक्षण गरेर कविता मार्फत् अभिव्यक्ति दिन राख्ने कवि प्रतिमाको कवितानुभूति लरतरो देखिन्न-

हर एक कदममा ठक्कर खानु

मात्रै हो यो जिन्दगी

दया र प्यारको भिख माग्नु

भन्ने यो मेरो जिन्दगी

हार खाएँ अब मैले संसारदिखि

पर्दैन अब माया देखाउनु।

सामाजिक विषमता, अन्याय, अत्याचार, वर्गीय शोषण, कहालीलाग्दो अवस्थाले कवि प्रतिमा विचलित बनेकी देखिन्छ।

न हाँस्न सकिन्छ न कतै एक्लै

हाँसे पागलको उपाधि पाइन्छ

न रुन सकिन्छ भीडभाडभित्र।

कविता वा गीत सरल भाषामा लेखिएका कविताहरू जीवनका मिठाइला, तिताइला कठोर अनुभूतिहरूको सशक्त माध्यमबाट कवि प्रतिमाले भरसके प्रयास गरेकी देखिन्छ। यिनका कविताहरू पढेर कतिले नाक खुम्याउलान्। हुनै सक्छ तर यो उनको पहिलो प्रयास भएकाले यिनको प्रयास र साहित्य मोहलाई कदर र स्वागत गर्नैपर्छ। यसबारे हेनतेन नभनेर यति मात्र भन्न चाहन्छु, कविता लेखनमा निरन्तरता अवश्य हुनुपर्छ। कारण भनिएकै छ नि छेउको सियो एक न एक दिन माझमा हुन्छ नै।

सिलिगुडीको साहित्य फाँटमा एउटा नयाँ कृति थपिएको कवि प्रतिमा तामाङलाई अशेष शुभकामना।

एनबी दाहाल नवीनले प्रकाशन गरेकाे उक्त कविता कृतिकाे मूल्य ३ रूपैयाँ रहेकाे छ।

प्रकाशित: २६ पुस २०८१ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App