नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा गुञ्जने भएका छन्। नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड साथीहरूसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन्।
काली र उनको व्याण्ड साथीहरू यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा सांगीतिक प्रस्तुति दिँदै छन् । यहाँ उनीहरूको व्याण्डको तेस्रो प्रस्तुति हुनेछ । किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरूबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको व्याण्डको कार्यक्रम राखिएको जनाएको छ।
काली र उनको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ। पोखरा र बुटवलमा काली र उनको व्याण्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन्।
पोखरा र बुटवलपछि काली र उनको व्याण्डले निकट भविष्यमै सुनसरी, झापा, चितवन लगायतका स्थानमा आफूलाई गुञ्जाउँदै छन्। यसअघि उनीहरूले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुति दिइसकेका छन्।
‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रूपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ। हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, काली भन्छन्।
कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ। नेटवर्कले चार वर्षदेखि काली र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ।
‘आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्त्वहरूसँग समसामयिक ध्वनिहरू मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन्। उनका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन्। उनको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’, पीभीई नेटवकका विकेश कायस्थ भन्छन्।
प्रकाशित: २९ कार्तिक २०८१ ०९:५६ बिहीबार