५ कार्तिक २०८१ सोमबार
image/svg+xml
कला

खाली चेकको पाना जस्तो जिन्दगानी भयो!

मुक्तक

१) मुक्तक

दुई दिनको जिन्दगी यो मरी जाने चोला

कस्लाई पो थाहा छ र खै भोलि के होला

हाँसौंबोलौं सकेसम्म मधुर मिठो स्वरमा

नबोलौं भो तिखो वचन सबको मन रोला।

२) मुक्तक

ध्यान दिएर खोज्नुपर्छ अचेल यहाँ धेरै कुरा

आफन्तकै खल्तीमा हुन्छ प्राय: धारिलो छुरा

चिप्लो घस्छन् फकाएर देखाउनका लागि मात्रै

मौका मिले पछारेर लडाउँदा रहेछन् उनैले पूरा।

३) मुक्तक

जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो

खाली चेकको पाना जस्तो जिन्दगानी भयो

मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी

ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।

४) मुक्तक

सायद मेरो यी आँखामा, आँसु सुहाउँछ

त्यसैले होला दैवले मलाई सधैं रूवाउँछ

दु:ख धेरै भोगेँ मैले र ढुंगा धेरै ढोगेँ मैले

अझै पनि समयले हण्डर मात्रै खुवाउँछ।

५) मुक्तक

फूल रोजे बगैंचामा, काँडा पाएँ आज

विपत्तिमा रित्तिएको भाँडा भएँ आज

खुसी खोज्दै हिंडूँ भने थाहा छैन कहाँ छ

दुःखकष्ट बोकी हिंडने गाडा भए आज।

६) मुक्तक

कलकल खोली बग्दैमा मनको प्यास मर्दैन

गुलेलीले ताग्दैमा आकाशको चन्द्रमा झर्दैन

मोटो छु भन्दैमा नगर्नु घमण्ड कहिल्यै पनि

आत्मबल नहुनेले  लौरी  बिना खोली तर्दैन।

७) मुक्तक

पिरो  मिसाइ तेलमा सधैं चिल्लो नघस

दुःखेकै छ  साह्रो, वचनको छुरा नधस

काटे डाली पलाउला तर मन पलाउँदैन

पलपल रूवाउने भए यो मनमा नबस।

८) मुक्तक

घरआँगन टेढो नदेख्नेले नाँच्न जानेको हुन्छ

जिन्दगीको महत्त्व बुझ्नेले बाँच्न जानेको हुन्छ

क्षणिक देख्छ सबै कुरा मोजमस्तीमै रमाउनेले

दुरदर्शीले त भोलीका लागि साँच्न जानेको हुन्छ।

९) मुक्तक

सधैं राम नाम भज्दैनन् मन्दिरका भक्ताले पनि

कहिलेकाहीं भूल गर्छन् बोल्ने ती वक्ताले पनि

मनले चाहेमा धेरैथोरै जसरी पनि सम्भव छ यहाँ

इच्छा भए चढेका छन् सगरमाथा अशक्ताले पनि।

१०) मुक्तक

लिएर कसैबाट फेरि दिन नखोज्नु स्वभाव हुन सक्छ

सापोनापो मिलाइरहूँ लाग्ने मनलाई हिसाव हुन सक्छ 

जिन्दगी नै हाम्रो समर्पण हो पाइन्छ भन्ने मात्रै छैन

जति पाए पनि थोरै लाग्नु इच्छा र अभाव हुन सक्छ।

 -सुचिता काफ्ले

प्रकाशित: ५ कार्तिक २०८१ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App