७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

निबन्धकार ज्ञानेन्द्र विवशको आयाे ‘अर्धकदको अवसान’

वरिष्ठ निबन्धकार ज्ञानेन्द्र विवशको ‘अर्धकदको अवसान’ निबन्धसङ्ग्रहकाे भर्खर सार्वजनिक भएको छ। निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसकेका उनले लेखेका कलापरक सचित्र जीवनी कृति र कलानिबन्धका पुस्तकहरू पनि प्रकाशित छन्।

प्रस्तुत ‘अर्धकदको अवसान’ नामक निबन्धसङ्ग्रह निबन्धकार विवशको पन्ध्रौं कृति हो। यसमा तीन दर्जन निबन्ध छन्। भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस सङ्ग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैं हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मङ्सिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु–नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेट आदि शीर्षकका निबन्धहरू छन्।

निबन्धको प्रकाशकीयमा उल्लेख भएअनुसार प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ। निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगिन्ती सुवासहरू पाइन्छन्। यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन्। हाम्रै पाखापखेराका सुसाइहरू छन्। हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन्। हाम्रै जीवन, समाज र समयका तस्वीरहरू छन्। वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो।

अर्धकदको अवसानले समेटेका विचार–भावनाहरू निकै गम्भीर छन्। ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन–विवरण नेपाली समाजका दस्तावेज हुन्। देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन्। यिनमा तथ्यपूर्ण शब्द–तथ्यांकहरू छन्।

वरिष्ठ संस्कृतिविद तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले मन्तव्यमा भनेका छन्, ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ। अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैँले पनि यस्तो महसुस गरेको छु।’

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन्, ‘निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ। जुनै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गकहरूले निबन्धकहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन्। प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धकहरूले जागृत गराउने प्रयास गरेका छन्।

‘सुन्दर प्रकृतिका सौन्दर्यमा लेखकीय संवेदना तीव्र छ। प्रत्येक निबन्धले पाठकीय आकर्षण बटुल्ने र माया पाउने छ भन्ने विश्वाससहित यो पुस्तक यहाँहरूको हातमा सुम्पेका छौं।’ प्रकाशकीयमा भनिएको छ।

‘पीडाका अनुभूतिहरू’ (२०५८), ‘क्यानभासका तरङ्गहरू’ (२०५५), ‘राराकी अप्सरा’ (२०५८), ‘मृत्यु उत्सव’ (२०६०), ‘आकृतिको आवाज’ (२०६१), ‘प्रणय र पाइला’ (२०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (२०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (२०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (२०७०), ‘सुन्दरीचोक’ (२०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (२०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (२०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (२०७८) र ‘कलाकार सिद्धिमुनि शाक्य: जीवन र कला’ (२०७८) उनका प्रकाशित कृति हुन्। यसबाहेक कला, निबन्ध, नियात्रा तथा जात्रासंस्कृति विषयक उनका केही पुस्तक प्रकाशोन्मुख रहेका छन्।

‘शङ्कर लामिछाने राष्ट्रिय प्रतिभा पुरस्कार’ (२०५८) तथा ‘अरनिको युवा कला पुरस्कार’ (२०६१) बाट उनी पुरस्कृत भइसकेका छन्।

लेखक ज्ञानेन्द्र विवश नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य (२०६७–०७०) समेत भइसकेका छन्। सोही प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको ‘आकृति’ पत्रिकाको उनी कार्यकारी सम्पादक समेत हुन्। उनले केही वर्ष ‘कलाकर्म’ नामक ललितकला पत्रिकाको सम्पादन र प्रकाशन पनि गरेका थिए। ‘सुरुचि’, ‘हिमालय टाइम्स’, ‘परिस्थिति’ मा उनले केही दशक साहित्यिक पत्रकारिता गरेका थिए।

उनले केही साप्ताहिक र मासिक पत्रिकाहरू विमोचन, नेपाल जागरण आदिमा साहित्यिक स्तम्भ लेखेका थिए। त्यस्तै कान्तिपुरको साप्ताहिक पत्रिकामा धारावाहिक उपन्यास ‘टुङ्नाको धुन’ समेत लेखे। उनले केही दशक एफएम रेडियो तथा टेलिभिजनमा साहित्य र संस्कृतिसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरेका थिए।  

प्रसिद्ध साहित्यिक पत्रिका ‘मधुपर्क’, ‘गरिमा’, ‘समकालीन साहित्य’ आदिमा उनले नियमित ललितकलाविषयक स्तम्भ निकै वर्ष लेखेका थिए। हाल रातोपाटी, साहित्यपोस्ट, बाह्रखरी, लोकसंवाद, प्रभावन्यूज आदि अनलाइन पत्रिका तथा नागरिक दैनिकको ‘अक्षर’ मा निबन्ध र नियात्रा नियमित लेखिरहेका छन्। यसअघि उनले हिमाल, नेपाललाइभ र स्वतन्त्र समाचार जस्ता अनलाइन पत्रिकाकहरूमा पनि नियमित ललितकलासम्बन्धी लेखरचनाकहरू लेखेका छन्।

प्रकाशित: ७ आश्विन २०८१ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App