सहमति र समझदारीबाट विश्वविद्यालयको शैक्षिक उन्नतिका लागि त्रिविलाई निर्वाध रूपमा सञ्चालन गर्न दिने भन्दै सबै राजनीतिक दलका विद्यार्थी संगठनहरूले प्रतिबद्धता जनाएको केही महिनाभित्रै फेरि तालाबन्दी गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विद्यार्थी संगठनले तालाबन्दी गरेका हो।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीसँग गरेको शुल्क समायोजनको सहमति कार्यान्वयनको माग गर्दै क्रान्तिकारी विद्यार्थीले विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

क्रान्तिकारीका त्रिवि जिल्ला कीर्तिपुर अध्यक्ष दिनेश ऐरको संयोजकत्वको टोलीले गत शुक्रबार शुल्क समायोजनको सहमति कार्यान्वयन हुनुपर्ने दबाबसहित त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालको कार्यकक्षमा विज्ञप्ति टाँस गरी घटाएको शुल्क अनुसार नयाँ विद्यार्थी भर्ना नलिएसम्म अनिश्चितकालीन तालाबन्दी गरेको अध्यक्ष ऐरले बताए।
‘असार साउनतिर हामी विद्यार्थीहरू ३२ दिन लामो अनशन बसेर त्रिविका चार वटा विभागमा पनि केन्द्रीय विभाग सरह स्नातकोत्तर तह दुई वर्षको शुल्क १ लाख १० हजार कायम गर्ने त्रिवि पदाधिकारीले नै सहमति गर्नुभएको थियो,’ अध्यक्ष ऐरले नागरिकसँग भने, ‘तर सहमति गरेको ६ महिना बित्न लाग्दा समेत अन्तर्राष्ट्रिय सम्बन्धन, जेन्डर स्टडी, पिस एन्ड कन्फ्लिक्ट म्यानेजमेन्ट र सोसल वर्क विषयको शुल्क विगतमा कायम गरिएको निजी सरह अर्थात् साढे दुई लाख नै त्रिविले लिएको छ।’ उनले थपे, ‘सेकेन्ड सेमेस्टरको पुरानै शुल्कमा त्रिविले भर्ना लिएको छ। सहमति कार्यान्वयन नभएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको हो।’
प्रकाशित: २४ पुस २०८२ १४:०९ बिहीबार





