२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

‘नाथहरू’को देशमा ‘अनाथ’

काठमाडौँस्थित मानवसेवा आश्रममा आश्रित वृद्धवृद्धाहरू। तस्बिर: उपेन्द्र/नागरिक

चाडपर्वहरू नजिकिँदै छन्। ‘यो वर्षको चाडपर्वमा कसैले बस्नुपर्दैन सडक पेटीमा’ भन्ने मूल भावनाका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले असोज १५ देखि छठ पर्वसम्म मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गर्ने भएका छन्। सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धारका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडकआश्रित मानवहरूको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरूसँगै दसैं, तिहार, छठजस्ता पर्व मनाउनेगरी यो अभियान सञ्चालन गर्न लागिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।

‘हाम्रो देश पशुपतिनाथ, गोरखनाथ, बौद्धनाथ आदि नाथैनाथले बास गरेको ठाउँ हो’, अधिकारीले भने, ‘यही देशमा अझै पनि हाम्रा आमाबुबा, दाजुभाइ, दिदीबहिनी र बाबुनानीहरू अनाथ भएर सडकमा बस्नुपर्ने बाध्यता छ।’

उहाँहरू पनि पर्व र उत्सवमा रमाउन सक्नुपर्छ भन्ने उद्देश्यले यो उद्धार यात्रा सुरु गर्न लागिएको उनले बताए।

पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका विभिन्न जिल्लालाई लक्षित गरी यो यात्रा सञ्चालन गर्न लागिएको जानकारी अधिकारीले दिए।

 यसपटक यो अभियानलाई अझ प्रभावकारी बनाउन समाजसेवी एवं आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि यसमा जोडिएकी छिन्।

२०७९ सालको कार्यक्रममा व्यक्तिगत रूपमा आंशिक सहयोग गरेकी आनीले २०८० सालको उद्धार अभियानका लागि आर्थिक पाटोको जिम्मेवारी लिएकी थिइन्। यसपटक पनि यात्राको सम्पूर्ण आर्थिक पाटोको जिम्मेवारी डोल्मा फाउन्डेसनले लिने भएको छ।

‘मानव रक्षाका लागि खटिएका भाइबहिनीहरू नथाकून् भनेर मैले सहयोगी हात बढाएकी हुँ’, उनले भनिन्, ‘यो अभियानलाई सबैले आफ्नो ठानेर अगाडि बढाउनु जरुरी छ।’

व्यक्तिले गरेको सहयोग दीर्घकालीन हुन नसक्ने भन्दै उनले संस्थागत रूपमा यस कार्यले निरन्तरता पाउनुपर्ने बताइन्। ‘नागरिकले खान पाउने, लगाउन पाउने अधिकार संविधानमा लेखिएको छ,’ उनले भनिन्, ‘यो समस्याको दीर्घकालीन समाधानका लागि राज्यले पनि हात बढाउनु जरुरी छ।’

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण संकल्पसहित २०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडामा स्थापना भएको मानवसेवा आश्रम मुलुकभरि फैलिँदै छ।

मानवसेवा आश्रमका देशका सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्रहरू छन्। ती केन्द्रहरूबाट हालसम्म १० हजारभन्दा बढीको उद्धार र चार हजारभन्दा बढी मानिसको पारिवारिक मिलन गरिएको छ।

आश्रममा हाल एक हजार सात सय १८ जना आश्रित छन्। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने संकल्प पूरा गर्न तीनै तहका सरकारसँग सहकार्यको कामलाई पनि आश्रमले अगाडि बढाएको छ।

असोज १५ गते प्रधानमन्त्रीको सरकारी निवास वालुबाटारबाट सुरु हुने उद्धार यात्रामा ४५ जनाको सहभागिता रहने आयोजकले जनाएका छन्। त्यस्तै १७ गते घटस्थापनाका दिन मेची पुलबाट सुरु हुने यात्रा छठको भोलिपल्ट काठमाडौंमा एक औपचारिक कार्यक्रमसहित समापन हुने आयोजकले जनाएको छ।

यस्तै कार्यक्रममा अघिल्लो वर्ष तीन सय चार जनाको उद्धार गरिएको र यो वर्ष पनि सोही हाराहारीमा उद्धार हुने आयोजकको अनुमान छ। ‘हामी उद्धार यात्राबारे जानकारी दिन र यसलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गर्छौं,’ आश्रमका अध्यक्ष अधिकारीले भने, ‘ताकि कोही अनाथ सडकमा नछुटोस्।’ 

प्रकाशित: २९ भाद्र २०८१ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App