२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पातारासीका जनताको खोजीः जिम्मेवार प्रतिनिधि

पातारासी क्षेत्रका उर्थु र लोर्पा गाउँ । तस्बिर: गोल्डेन बुढा/नागरिक

पातारासीका स्थानीयहरू हरेक प्रतिनिधि छान्ने निर्वाचनमा उत्साहित हुने गर्छन्। तर फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पनि गाउँमा चुनावी रौनक कम छ।

२०४८ सालको संसदीय चुनावदेखि मतदाता बनेका पातारासी–४ का मोतीलाल बुढा भन्छन्, “अहिलेसम्म धेरै प्रतिनिधि बने, तर हाम्रो बाटा अझै कच्चा छन्। मुहान सुक्दा पानीका धारा बन्द हुन्छन्। शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ। अस्पताल पुग्न नसक्दा बिरामी गाउँमै थन्किन्छन्।”

पातारासीकी लुम गाउँकी चुट्कला कामी पनि हरेक चुनावमा उम्मेदवारसँग मत माग्ने काममा संलग्न भएकी थिइन्। तर यसपटक उनले मतदानमा सहकार्य नगर्ने निर्णय गरेकी छिन्। उनले भनिन्, “अहिलेसम्म जिताएका प्रतिनिधिले जनताको काम गरेनन्। फोन उठाएनन्, गाउँ फर्केर बिरामीको अवस्था बुझेनन्। यसपटक उम्मेदवारसँगै हिँड्ने छैन।”

जुम्लामा हरेक निर्वाचनमा उम्मेदवारहरूको मनोनयन दोहोरिन्छ, तर अहिलेसम्म कसैले पनि निरन्तरता पाउन सकेका छैनन्। स्थानीय जगतबहादुर रोकायाले भने, “जनताको माग सम्बोधन गर्न नसक्ने भएकाले अहिलेसम्म एउटै प्रतिनिधि दोहोरिएको छैन। बाढीले बगाएका कुला बनाएका छैनन्, सडक पक्की हुन सकेका छैनन्। शिक्षा, स्वास्थ्य, खानेपानी सुधार्न सकेको छैन। रोजगारको अभाव हुँदा वर्षौंदेखि कालापहाड झर्ने बाध्यता उस्तै छ।”

मतदाताले अब घरदैलोमा आएर हारगुहार गर्नेभन्दा जनमुखी काम गर्ने, साधारण जीवनशैली भएका र संसदमा दबाब दिन सक्ने प्रतिनिधि खोजिरहेका छन्।  

२०४८ सालदेखि जुम्लाबाट निर्वाचित सांसदहरूमा नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत (२०४८), नेमकिपाका भक्तबहादुर रोकाया (२०५१), नेकपा एमालेका देवीलाल थापा (२०५६), माओवादी केन्द्रका नरेश भण्डारी (२०६४), कांग्रेसका ललितजंग शाही (२०७०), माओवादीका गजेन्द्रबहादुर महत ‘कार्मा’ (२०७४) र राप्रपाका ज्ञानबहादुर शाही (२०७९) रहेका छन्।  

जनताको अपेक्षा अनुसार काम नगरेका कारण जुम्ला हरेक चुनावमा नयाँ अनुहार खोज्दै आएको छ तर, विकासका केही सकारात्मक संकेत पनि देखिएका छन्। नरेश भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता हुन्। प्रतिष्ठानले जुम्लाको स्वास्थ्य परिभाषा बदल्दै चिकित्सक टिकाउने र विशेषज्ञ आउन सुनिश्चित गरेको छ। शिक्षा क्षेत्रमा पनि विद्यार्थी आकर्षित भएका छन्। छिमेकी देश भारतका विद्यार्थी पढ्न पुगेका छन्। ऊर्जा क्षेत्रमा स्थानीय आत्मनिर्भरता बढिरहेको छ। संस्कृति संरक्षणतर्फ पनि कदम चालिएको छ।  

सांसद नरेश भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक दर्ता गराएका छन्। संघीय व्यवस्थापछि प्रदेशसभामा दर्ता भएको पहिलो गैरसरकारी विधेयकका रूपमा यसले जुम्लाको सांस्कृतिक पहिचान सुरक्षित राख्नेछ।मन्त्रिपरिषदबाट पारित भई संघीय संसद्मा पेश हुने प्रक्रियामा यो विधेयक अहिले प्रतीक्षामा छ।  

स्वर्गीय हरिश्चन्द्र महतले खलंगामा बिजुली पुर्याए, स्वर्गीय अदनसिंह कठायतले विमानस्थलको पहल गरेका थिए। स्वास्थ्य, ऊर्जा, खानेपानी र संस्कृति संरक्षणमा देखिएका प्रगतिका बाबजुद, जुम्लावासी अझै जनमुखी, जिम्मेवार र विकासप्रतिको प्रतिबद्ध प्रतिनिधिको खोजीमा छन्।

प्रकाशित: १५ पुस २०८२ १९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App