राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्ट व्यवस्थाका संवाहक भएको आरोप लगाएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष थापाले गत भदौमा भएको जेन-जी आन्दोलनले भ्रष्ट शासक र व्यवस्थाबाट मुक्ति खोजेको भए पनि कांग्रेस र एमालेबाट त्यो सम्भव नभएको जिकिर गरे। उनले ठूला दलहरू नै समस्याको जड भएको टिप्पणी गरे।
अध्यक्ष थापाले मुलुकको संकट समाधानका लागि केवल सरकार वा नेता परिवर्तन गरेर मात्र नहुने भन्दै राजनीतिको ‘बाटो’ नै परिवर्तन गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिवर्तन गरेर देशको संकट समाधान हुँदैन। विगत २० वर्षदेखि देशले अवलम्बन गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा नै सुधार गर्नुपर्ने आवश्यकता छ। नयाँ भनिएका शक्तिहरू पनि केवल पात्र परिवर्तनको खेलमा लागेका छन्, तर हामी बाटो नै परिवर्तन गर्ने पक्षमा छौं।’
अध्यक्ष थापाले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता हुन लागेको औपचारिक जानकारी समेत दिए।
उनले भोलि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने बताउँदै भने, ‘यो एकतालाई हामीले केवल दुई पार्टीको प्राविधिक मिलनका रूपमा मात्र लिएका छैनौं। यो देशलाई भ्रष्ट व्यवस्थाबाट मुक्त तुल्याउने र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानको सुरुवात हो।’
उनले समान विचारधारा भएका दलहरू एक हुनु प्रजातान्त्रिक व्यवस्थामा स्वाभाविक प्रक्रिया भएको बताउँदै राष्ट्रवादी शक्तिहरूको ध्रुवीकरणले देशलाई निकास दिने दाबी गरे।
प्रकाशित: १५ पुस २०८२ १९:३५ मंगलबार





