६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

अक्षरले थपेको जिम्मेवारी

रिपाेर्टरकाे डायरी

गत मंगलबार अपराह्न ३ बजेतिर काठमाडौंस्थित सिटिसी मलनजिकै हिँडिरहेका बेला मेरो मोबाइलको स्क्रिनमा अचानक ल्यान्डलाइन फोन नम्बर देखियो। नचिनेकै नम्बरबाट फोन आए पनि प्रायः उठाउँछु। यस्तै नचिनिएका नम्बरबाट आएका फोनमा कैयन्का समस्या मैले सुनेकी छु।

‘नमस्कार, हजुर सविता खड्का हो ?’ एक महिलाको आवाज आयो। मैले भने, ‘हजुर हो, भन्नुस् न।’

उताबाट फेरि आवाज आयो, ‘ल बधाई छ, हजुर राष्ट्रिय पुरस्कारका लागि छनोट हुनुभएको छ। मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित लुकेका वास्तविक पीडालाई उजागर गर्दै रोकथाम र नियन्त्रणका लागि निरन्तर समाचार तथा लेख लेख्नुभएको आधारमा हजुरलाई यसपालि पुरस्कृत गर्दै छौं।’

‘थ्याङक्यु हजुर, थ्याङक्यु सो मच हजुर,’ मैले भनें।

ती महिलाले थपिन्, ‘ल फेरि पनि बधाई छ। हामीले हजुरलाई मेल पनि भर्खर गरेका छौं। मेलमा तोकिएको स्थानमा आएर राष्ट्रिय पुरस्कार ग्रहण गरिदिनुहोला। हवस् त अहिलेलाई नमस्कार।’

मन ढुकढुक गर्‍यो। निकै खुसी लाग्यो। म आफ्नो कार्यकक्षमा आएँ। त्यहाँ सुनसान थियो। मैले एकपछि अर्को गरी विगत सम्झिरहेकी थिएँ।

त्यही बेला मेरी प्यारी बहिनी सस्कन्दा मेरै छेउमा आएर बसी। अनि सोधी, ‘दिदी केही खान मन छैन? के खानु के खानुजस्तो भयो। केही खाने कुरा होला नि?’ मैले उसलाई सोधेँ, ‘भन तँलाई आज के खान मन छ, म खुवाउँछु।’

पेट टन्नै भएकाले केही खान मन नभएको उसले बताई। मनभरि खुसी थियो, छेउमै बसेकी उसलाई नभनी बस्नै सकिनँ।

सबै बेलिविस्तार लगाएँ। अब खुसी हुने पालो उसको थियो। ऊ मभन्दा धेरै खुसी भई। ‘अब पार्टी खानुपर्छ। घरमा ममीबुबालाई भन्नुभयो त ?’ उसको जिज्ञासा थियो। अहिले कसैलाई नभन्ने पछि एकैचोटि भनौंला भनेर बहिनीलाई थुमथुम्याएँ।

यो खबर पतिलाई सुनाउने हतारमा थिएँ, तर उहाँको व्यस्तताका कारण सोही समयमा मेरो खुसी साट्न सकिनँ। मैले उहाँलाई म्यासेजबाट सन्देश पठाएँ, ‘स्ट्स अर्जेन्ट, कल मी फास्ट।’

जवाफ आयो, ‘बाबु, म पछि कल गर्छु। अहिले क्लासमा छु।’

मैले जरुरी भनेर गरेकाले सन्देशका कारण क्लासबाट बाहिर निस्किएर फोन गर्नुभयो। ‘के भयो बाबु?’ उहाँलाई सबै बेलिविस्तार लगाएँ, ‘राष्ट्रिय पुरस्कार पाउनेमा म छनोट भएछु। यो सबै देन हजुरकै हो। हजुरले नै भन्नुभएको थियो- बाबु मेहनत गर्न कहीं छोड्न हुन्न। मेहनतपछिको फल मिठो हुन्छ। तिम्रो मेहनतले गर्दा मलाई पनि हौसला मिलेको छ।’

उहाँ खुसी भएको देखेर मेरो खुसी अरू बढ्यो। ‘यस्तो खुसीमा म सामेल त हुन पाउँदिनँ बाबु तर मजति आज कोही खुसी हुँदैन।’

उहाँ जति खुसी यो संसारमा दोस्रो मान्छे कोही छैन भन्ने मलाई पनि लाग्यो। त्यसपछि क्लासबाटै झन् धेरै सन्देश पठाउन थाल्नुभयो। ‘आइ एम सच अ लक्किएस्ट हजबेन्ड बाबु। आइएम प्राउड अफ यु।’

यसलगतै मलाई जहिल्यै काममा प्रेरित गर्ने नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई यो खबर नसुनाई बस्नै सकिनँ। उहाँलाई पनि धन्यवाद दिएँ। उहाँले मलाई सधैं मार्गदर्शन गर्नुभयो।

त्यति मात्रै नभएर पीडितको वास्तविक कहानी नै समाचार हो भन्ने उहाँले बुझाइरहनुभयो। उहाँले मलाई सधैं भन्नुभएको छ, हामीले सधैं भुइँमान्छेका समाचार खोज्नुपर्छ। लुकेर बसेका समाचारमा ध्यान दिनुपर्छ भन्ने उहाँको दिन प्रतिदिनको सिकाइले ममा ठुलो परिवर्तन आएको महसुस गरेँ।

साथै उहाँको सकारात्मक सोचले कतिपय विषयलाई हेर्ने दृष्टिकोण पनि फरक पाएकी छु। उहाँले देखाएको बाटोमा हिँड्दा मैले समाचार मात्र बुझेकी छैन, अरूका दुःखमा समानुभूतिको पाठ पनि पढेकी छु। प्रधान सम्पादकप्रति म कृतज्ञ छु।

नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यो मञ्च दिएकोमा म आभारी छु। ममा कामको चाहना भएर मात्र पुग्दैन, त्यसलाई सही ठाउँमा उपयोग गर्ने माध्यम पनि हुनुपर्छ। त्यो माध्यम हो– नागरिक र यसका अन्य प्रकाशनहरू।

मेरा केही साथीहरू पीडितका समाचार कति लेखेको भन्ने धारणा राख्छन्। पीडितको मात्रै समाचार लेख्दा आफैं पीडित भइन्छ भन्ने सोच पनि उनीहरूको छ। केहीलाई पत्रकारितामा वातावरण नै नभएको भन्ने पनि लाग्छ। कामप्रतिको जाँगर अरूले ल्याइदिने होइन। आफू कस्तो बन्ने भन्ने सोच पनि अरूले दिने होइन। यो आफैंभित्रको कुरा हो।

वास्तवमा पत्रकारिता आवाजविहीनको आवाज हो। त्यसैले पीडितका कथाव्यथा सुनाउने ठाउँ आफू हो भन्ने बुझ्नुपर्छ। मलाई भने अझै सिक्नु र न्यायको आवाज बन्नुमा रुचि छ। मलाई अहिल्यैदेखि नकारात्मक कुरा गर्नु र राजनीतिमा लाग्नु छैन भन्ने लागिरहन्छ।

आफूभन्दा अघिदेखि यस क्षेत्रमा काम गरिरहेकाबाट मैले गर्ने अपेक्षा भनेको अनुभव आदानप्रदान, ज्ञान र सिपको विस्तार हो। अझ राम्रो गर्नुपर्छ भन्ने हौसला नै मैले खोजेको हो। हामीसँग हिँड्ने राजमार्ग छ, त्यसमा हिँड्ने वा नहिँड्ने जिम्मा हाम्रो हो। काम नगरी बसे केही समय संस्थालाई घाटा होला तर जिन्दगीभरि आफैंलाई नोक्सान हुन्छ भन्ने मैले बुझेकी छु। यस्तो सुझबुझको जानकारी मेरै सहकर्मीहरूले दिने गरेका छन्।

बिहीबारको दिन, बिहानैदेखि मन फुरुंग थियो। सबेरै उठेसँगै आफू तमतयारी भई बहिनी लिएर सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को प्रांगणमा पुग्यौं। मेरो खुसीले हिमाल छोइरहेको थियो।

महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अठारौं राष्ट्रिय वार्षिक उत्सव समारोहमा पानसमा दीप प्रज्वलन भयो। त्यसलगतै नागरिक राष्ट्रिय दैनिककी संवाददाता सविता खड्का भन्दै मेरो नाम उद्घोषण भयो। मनमा थेगिनसक्नुको खुसी भयो।

महिलामन्त्री नवलकिशोर साह सुडी, महिला आयोग अध्यक्ष कमला पराजुलीलगायतबाट पुरस्कार तथा सम्मान प्राप्त गरेँ। त्यो मेरो खुसीको अनुपम क्षण थियो। यो तीजको दर खाने दिन थियो। यो दिन मैल सुखीका तीनवटा दर खाएँ।

बिहानको पुरस्कार, सोही अपराह्न नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आयोजित कार्यक्रममा समेत मलाई सञ्चार क्षेत्रबाट गरेको योगदानका निम्ति प्रशंसापत्र दिइयो। राति बुबाआमा र बहिनीहरूसँगको अर्को दरले मेरो दिन धन्य भयो।

अफिसले त्यही दिन खुवाएको दरको त झन् चर्चा गर्नैपर्छ। दर खाएर निस्किँदै गर्दा प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले स्कुटरमै हिँड्ने होइन ? भनेर सोध्नुभयो। मैले हो भनेपछि उहाँको जवाफ थियो, ‘बहादुर केटी।’ मेरो प्रकाशन संस्थाकी निर्देशक शोभा ज्ञवाली त हामीजस्ता लेखनकर्मीहरूलाई अगाडि बढ्न सधैं प्रेरित गर्ने व्यक्ति हुनुहुन्छ।

वास्तवमा हामी महिलाले सबै क्षेत्रमा सशक्त हस्तक्षेप गर्नुपरेको छ। त्यसका निम्ति उपयुक्त वातावरण भयो भने हामीलाई काम गर्न गाह्रो छैन। सुरुसुरुका दिनको मेरो कामप्रतिको अप्ठ्यारो हटेर गएको छ। नयाँनयाँ सिप सिकिरहेकी छु। नयाँ ढंगले आफ्नो तोकिएको क्षेत्रका समाचार र लेख लेख्न दिनानुदिन प्रगति भइरहेको छ।

नेपालमा पुरस्कार भन्नेबित्तिकै नाक खुम्च्याउने अवस्था छ। कैयन्मा राजनीतिक भागबन्डा हुन्छ। यो पुरस्कार भने मैले मेरा वर्षभरि गरेका समाचार र लेखको एउठा ठेली नै बनाएर बुझाएपछि प्रतिस्पर्धाका आधारमा पाएको हो। मेरो पत्रकारिता जीवनकै यो पहिलो पुरस्कार मेरा निम्ति स्वर्ण पुरस्कारभन्दा कम छैन। यसलाई मैले भावी दिनको ऊर्जाका रूपमा सँगालेकी छु।

हरेक मानिसको जिन्दगीलाई रङ्गाउने चाहना हुन्छ। हरेक मानिसले आफ्नो मान, सम्मान र अस्तित्व राख्न चाहन्छन्। यसका लागि हरेक मानिसका आफ्नै भोगाइ हुन्छन्। मलाई संघर्ष गर्न अप्ठ्यारो लाग्दैन। वास्तवमा यी संघर्ष मेरो जीवनका मिठा भोगाइ हुन्। अनि तिनै भोगाइको परिणाम हो यो पुरस्कार।

नागरिकमा काम गर्न आएपछि मलाई मेरा प्रधान सम्पादकले के विषयमा काम गर्न मन छ भनेर सोध्नुभएको थियो। मैले वैदेशिक रोजगारीको क्षेत्रमा समाचार लेख्ने विचार गरेँ। उहाँले मलाई सहर्ष यसमा लाग्न प्रेरित मात्र गर्नु भएन, बरु समाचार स्रोतहरू चिनाइदिनेदेखि समाचार र लेखनका कोण बताइदिएर धन्य बनाउनुभएको छ।

सिंगै देश यतिबेला विदेशमा काम खोजिरहेको छ। त्यससँग जोडिएका अनेकन् आयाममा लेख्न पाइने भएकाले यस क्षेत्रलाई रोजेकी थिएँ। अहिले आएर मलाई त्यो निर्णय ठिकै भएछ भन्ने लागेको छ।

वैदेशिक रोजगारी क्षेत्रका अनेकन् आयाममध्येको एक अंश हो मानव बेचबिखन तथा ओसारपसार। मैले वैदेशिक रोजगारी विषयमा कलम चलाउँदै आउँदा मानव बेचबिखन तथा ओसारपसारको विषय पनि बुझ्न पाएँ। हाम्रो समाजमा यो कति भयावह भएको छ भन्ने महसुस भएको छ। तिनै घटनालाई मैले नागरिकमा लेख्न पाएँ।

कैयन्लाई यसले न्याय पनि गरेको छ। कतिपयले आफ्ना कथा सुनाएर पनि मन हलुंगो बनाउनुभएको छ। म मेरा समाचारका पात्रसँग कैयन् पटक हाँसेकी छु, कैयन्सँगै रोएकी पनि छु। उनीहरूसँगको अन्तरक्रियाबाट मैले जीवनका तिता यथार्थ बुझ्न पाएकी छु।

पत्रकारितामा मैले बुझेको औपचारिक खबर मात्र होइन, भित्र लुकेका अनौपचारिक पक्ष बढ्ता रुचिकर हुने रहेछन्। मेरो रुचि पनि यही हो। मेरो यो रुचिलाई समाचार कक्षमा पूरा गर्ने हौसला पाएकी छु।

मानव बेचबिखन क्षेत्रका विषयवस्तुलाई उजागर गर्न थालेपछि मैले यो समाजलाई चिन्न थालेँ। वास्तवमा यस्ता विषय धेरै आएका छैनन्। महिला तथा बालिकालाई अहिले पनि किनबेच गरिन्छ। घरपरिवारका समस्याले तिनलाई यस्तो दर्दनाक अवस्थामा पुर्‍याउँछन्। तिनका समाचार र लेख छापिए पनि मलाई कतिपयले सोध्छन्, ‘अहिले पनि बेचबिखन हुन्छ र ?’

अझ कतिपय यस्ता समाचार कथा पढेर कैयन्ले काल्पनिक घटना हो भन्ने ठान्छन्। यस्ता समाचार सम्प्रेषण गर्दै गर्दा पीडितको पीडामा आफैं डुब्दै जान्थें। जसले गर्दा मलाई मानसिक रूपमा असरसमेत पुगेको अनुभूति भयो। जति पीडितको व्यथा नागरिकमा ल्याउँथे त्यति नै पीडा हुन्थ्यो।

पीडितको व्यथाजस्तै मैले डर लाग्ने सपनाहरू देख्न थालें। जुन सपनामा मलाई पनि दुईचारजना पुरुषहरू आएर अपहरण गरेर कहाँ-कहाँ लगेको धेरै देख्थें। त्यस्तो हुँदा मलाई बचाउन पतिदेव आए पनि हुने भन्ने भगवान्सँग सपनामै प्रार्थना गरेको पनि देखें। विदेशमा कतिपय महिला जेल परेर उद्धार हुन नसकेको लेख लेख्दा तिनै कथा पनि सपनामा आएको मलाई महसुस भयो।

केही साथीहरूलाई मैले सपना यस्तो देख्छु किन होला? भनेर जिज्ञासा राख्दा उनीहरूको जवाफ हुन्थ्यो, ‘तिमी धेरै पीडितको कथाव्यथा लेख्छौ। त्यसैले त्यस्तो सपना देखेको।’

मैले सपनामा भोगेका कथा त पीडादायी हुन्छन् भने बिपना भोग्नेहरूलाई झन् कति पीडा हुँदो हो। यसकारण पनि मैले आगामी दिनमा यस्ता पक्षलाई उजागर गरिरहने प्रतिबद्धता गरेकी छु। मेरो सपना जतिसुकै डरलाग्दा भए पनि म बहादुरीपूर्वक तिनलाई सहयोग गरिरहन्छु।

पुरस्कार पाउने निर्णयपछि आएको टेलिफोन संवादजस्तै जीवन्त भइरहने छ मेरो पत्रकारिताप्रतिको समर्पण पनि।

प्रकाशित: २२ भाद्र २०८१ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App