२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

प्रतिभा मञ्च २०८१ नृत्य प्रतियोगिता गर्दै नारायणी कला मन्दिर

चितवनको नारायणी कला मन्दिरले प्रतिभा मञ्च २०८१ नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई लक्षित गर्दै करिब ६ महिनासम्म प्रतिभा मञ्च आयोजना गर्न लागिएको शनिबार नारायणगढमा पत्रकार सम्मेलनका आयोजना गरी जानकारी दिइएको छ।

गाउँगाउँमा लुकेर बसेका वा आफ्नो कला प्रदर्शन गर्नबाट वञ्चित भएका १४ देखि ३० वर्ष उमेर समूहलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको नारायणी कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले जानकारी दिए। यही साउन १४ बाट सुरु भएको प्रतियोगिताको फाइनल कात्तिक २४ गते हुने छ। पहिलो चरणमा साउन १४ देखि २८ सम्म अडिसन लिइने छ।  

दुई जिल्लाका पाँच स्थानमा अडिसन गराई उत्कृष्ट ३० जना प्रतियोगितालाई छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। पहिलो अडिसन चितवनको पर्सामा साउन १४ गते लिइने छ।

त्यस्तै पश्चिम चितवनको चनौलीमा साउन १९ गते, कावासोतीमा साउन २१ गते, भरतपुर र नारायणगढ आसपासका क्षेत्रको भरतपुरमा साउन २६ गते र इच्छाकामनाको मुग्लिनमा साउन २८ गते अडिसन हुने भएको छ।

उत्कृष्ट ३० जनाबाट उत्कृष्ट १५, १० र ५ जनाको छनोट गरिने छ। उनीहरूको अडिसन क्रमशः भदौ १०, असोज १२ र कात्तिक ३ गते हुने प्रतिभा मञ्च २०८१ का संयोजक रामशरण सिलवालले जानकारी दिए। फाइनल चरणका कार्यक्रम पार गर्दै कात्र्तिक २४ गते ग्रान्ड फिनाले हुनेछ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार द्वितीय पुरस्कार २५ हजार, तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार दुईजनालाई पाँच÷पाँच हजार राखिएको छ। प्रतिभा मञ्च नारायणी कला मन्दिरले प्रत्येक २÷२ वर्षमा आयोजना गर्ने कार्यक्रम निर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए।

‘विगतमा हामीले प्रतिभाको खोजी गर्दथ्यौँ। तर सहभागीहरू कमजोर हुँदा पुरस्कार दिन पनि असहज पर्ने अवस्था आयो’, श्रेष्ठले भने, ‘यसपटक चितवन र वरपर कस्ता–कस्ता कलाकार छन् भन्ने उद्देश्यका साथ अडिसन लिएर प्रत्येक प्रत्येक २÷२ वर्षमा आयोजना गर्छौं।’

प्रतियोगितामा निर्णायकमण्डलमा पुष्प श्रेष्ठ, सुमित लामा र सोसरी मल्ल रहेका छन्। यस्तै प्रतियोगितामा अडिसनबाट छनोट भएका प्रतियोगितालाई कोडियो ग्राफरसमेत उपलब्ध गराइने उनले जानकारी दिए। नारायणी कला मन्दिर २०१९ सालमा स्थापना भएको संस्था हो। यसले कला, साहित्य र संस्कृति क्षेत्रमा विशेष काम गर्दै आएको छ।

प्रकाशित: १२ श्रावण २०८१ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App