६ पुस २०८१ शनिबार
image/svg+xml
कला

नेपाल अमेरिका फिल्म फेस्टिभलमा नवीन सुब्बा र दयाहाङ राई सहभागी हुँदै

नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन्। फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ।

जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा यो सोसल ड्रामा फिल्म तय छ। अमेरिकाब्यापी रिलिजको पूर्व सन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्।

आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ।

फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन्।

महोत्सव उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ। ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ।

महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ। मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ। सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ।

प्रकाशित: ४ असार २०८१ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App