देशको राजनीतिक अवस्थाका कारण व्यापार व्यवसाय गर्न असहज पैदा भएको उद्योगी व्यवसायीले बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५९ औँ वार्षिक साधारणसभा एवम् अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा अझै नकरात्मकता मात्रै रहेको बताएका हुन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्ने उद्योगीलाई सामन्तिका रुपमा लिने गरेको बताएका छन् । ‘आन्तरिक रुपमा रोजगारी पनि चाहियो भनेका छन् । रोजगारी सृजना गर्ने उद्योगहरुमा पहिला तोडफोड गर्ने गरिन्छ,’ अध्यक्ष ढकालले यसअघि थपे ‘उद्योग व्यवसाय गर्ने व्यक्तिलाई आम नगरिक समक्ष सामन्ति करार गरिन्छ।’ अहिलेको आन्दोलनले निजी क्षेत्रलाई धरासायी बनाएको बताउँदै ढकालले निजी क्षेत्रलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने बताए ।
‘जबसम्म गलत गर्नेलाई कारबाही हुँदैन । त्यतिबेलासम्म यस्ता घटनाहरु घट्दै जान्छन्,’ उनले भने ‘उद्योग क्षेत्रमा कुनै पनि हालतमा आन्दोलन गर्न पाईदैन।’ उनले प्रधानमन्त्रीले आगामी दिनमा नीजि क्षेत्रका उद्योगमा तोडफोड गर्न नदिने प्रतिवद्धता समेत जनाएको बताए । ‘प्रधानमन्त्रीले तीन जना मन्त्रि राखेर उद्योग क्षेत्रमा तोडफोड आगजनी कुनै पनि हिसावले हुन दिँदैनौ भन्नुभएको छ,’ उनले यसअघि थपे ‘आगामी दिनमा उद्योग क्षेत्र अस्पताल विद्यालय जस्तै शान्ति क्षेत्रको रुपमा घोषणा गर्नेगरी क्याविनेटबाट पास गराउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।’
अहिले नेपालमा कुनै पनि सम्भावना छैन भनेर अफवाह फैलाउने गरेको बताएका छन् । ‘यहाँ कुनै सम्भावना छैन । नेपालमा कुनै पूँजी छैन भन्ने कुरामा भाष्य बनायो।’ उनले भने ‘अहिले उद्योग वाणिज्य महासंघले केही गर्न सकिन्छ कि भनेर आन्तरिक पूँजी परिचालन गरेर गरिरहेको छ।’ नीजि क्षेत्रले रोजगारी सृजना नगर्ने हो भने देशको अवस्था भयाबह हुने समेत उनले बताए । जेनजी आन्दोलनपछि सयौँ राजनीति दल दर्ता भएको बताउँदै उनले रोजगारी सृजना ध्यान जान नसकेको बताए ।
‘राजनीतिक दलले राम्रो काम गरेरभन्दा पनि अर्को पार्टीलाई गाली गरेर आफू राम्रो देखिने प्रवृति राम्रो होइन,’ उनले भने ‘अहिले अर्कोलाई गाली गर्ने ट्रेडिङ जस्तै चलेको छ ।’
नेपालको ८० प्रतिशत जिडिपी निजी क्षेत्रले धानेको बताउँदै ८८ प्रतिशत रोजगारी समेत निजी क्षेत्रले धानेको बताए । ‘निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा लगानी नगर्ने हो भने यहाँको अवस्था के हुने थियो’ प्रश्न गर्दै उनले भने ‘हामीले हात झिक्यौँ भने के हुन्छ?।’ उनले कर्मचारी र राजनीतिक दलले जस्तो व्यवसायीले आफ्नो पेशा छाड्न नसक्ने बताए ।
‘कुनै पनि राजनीतिज्ञ, कर्मचारीले आफ्नो पेशा छाड्न सक्छ । तर व्यवसायीले छाड्न सक्दैन । किनभने उद्योगीको अण्डरमा हजारौँ मानिसले काम गरेर गुजरा चलाईरहेको हुन्छ । उसको बैँकमा अरबौँ रुपैयाँ लोन छ’–उनले भने ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले उद्योग व्यवसाय धरासायी अवस्थामा रहेको बताउँदै व्यवसाय गर्न सोच्नुपर्ने समय आएको बताए । उनले विदेशमा उत्पादित वस्तुलाई वितरणमुखि नभई स्वेदशमा नै उत्पादन मुखी हुनुपर्ने बताएका छन् । उद्योगी व्यवसायी समानुपातिकमा उठ्न पाउनुपर्ने बताउँदै उद्योगी व्यवसायीको हक अधिकारको लागि कुनै न कुनै रुपमा नेतृत्व तहकमा पुग्न पाउनुपर्ने उनको भनाई छ । पूर्वाधार विज्ञ ज्ञानेन्द्रमान प्रधानले चितवनको विकासका लागि देवघाटमा ५० मिटरको ड्याम बनाउनुपर्ने धारणा राखे । उनले अहिले नेपालमा हुनुपर्ने विकास नभएको बताउँदै नेपालले अहिले खाद्यन्न आयात गरिरहेको बताए ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जेनजी आन्दोलनपछि निजी क्षेत्रको विश्वास पुनस्थापना गर्न सरकारद्धारा स्थिर नीतिगत वातावरण सुनिश्चित गर्दै कर, लगानी र श्रम नीतिमा स्पष्टता हुनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले व्यवसायिक क्षेत्रको सुरक्षा सुनिश्चितता र औद्योगिक क्षेत्र तथा बजारमा शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्ने माग गरे । चितवनलाई औद्योगिक एवम् लोजिस्टिक हवको रुपमा विकास गर्नुपर्ने धारणा राख्दै उनले निजी क्षेत्रको विश्वास पुनस्थापनाका लागि निजी क्षेत्रबिच नियमित संवाद संयन्त्र बनाउनुपर्ने बताए ।
चितवन उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि यही पुस २१ गते निर्वाचन हुँदैछ । नेतृत्वका लागि व्यवसायीहरु अन्तिम कसरतमा रहेका छन् । उद्योग वाणिज्य संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । ५ जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन् । उद्योग, वाणिज्य तर्फ छ–छ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना, क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन्। यस्तै, मनोनीत ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुनेछन् । उद्योग वाणिज्य संघ चितवनमा ३ हजार ७ सय जना सदस्य रहेकोमा ३ हजार ४ सय जनाले नवीकरण गरेका छन् । त्यसमध्ये ३ हजार ३ सय ७१ जनाले मतदान गर्ने पाउनेछन् ।
प्रकाशित: १९ पुस २०८२ २०:२५ शनिबार





