१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

टोखामा बिस्का जात्रा आजदेखि

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैं यस वर्ष पनि आजदेखि वैशाख ४ सम्म पाँच दिन बिस्का नखः मनाउन लागिएको हो। टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथि टोखाको व्यवस्थापनमा जात्रा मनाउन लागिएको हो।

नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले पाँच दिनसम्म मनाइने बिस्का जात्राको लिङ्गो उठाई सकिएको र आज साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ का रुपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलः ले मूल नाइके बहाल गरी रथ आआफ्नो मन्दिरमा लैजान लागिएको जानकारी दिए।

बिस्का जात्राका भक्तजन आज बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न गइसकेका छन्। बागद्वारबाट आज राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउँछन्। सपनतीर्थ मन्दिरपरिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन्।

नयाँ वर्षकै दिन साँझ ६ बजे आआफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने मूल नाइके हेमराज श्रेष्ठले बताए।

वैशाख २ गते बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ।

सोही दिन दिउँसो ३ बजे जीवित देवी कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूर जात्रा गरी उठाइन्छ। सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ। सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ।

वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्धुरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन्। सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ।

सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूर जात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ। मसानकालीको  मन्दिर र  गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ। सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन छ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६.३० बजे सिन्दूर जात्रा गरी बाजागाजासहित गाउँ परिक्रमा गराइन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ। सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूर जात्रा गरी सबै रथ कपडा बिछ्याई गाउँ परिक्रममा गरी आआफ्नो देवी घरघरमा भित्र्याइन्छ। त्यसबाट जात्रा समापन हुन्छ। वैशाख ५ गते बिहान ६ः३० लिङ्गो ढाली जात्रा बिसर्जन हुन्छ।

सपनतीर्थ मेला भोलि

टोखामा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अर्थात् भोलि सपनतीर्थ स्नान मेला सुरु हुन्छ। उक्त मेला भर्न तथा स्नान गर्नका लागि काठमाडौं उपत्यकासहित देशभरका लाखौं भक्तजन टोखा सपनतीर्थ आउने गर्दछन्। सपनतीर्थ मेलालाई टोखा नगरपालिकाले विशेष महत्वसमेत दिँदै आएको छ।

यसपटक सपनतीर्थ मेलामा राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम तय भएको छ। सपनतीर्थ मेलामा स्नान गरेपछि कोरी कुष्ठरोग पनि निको हुने जनविश्वास रहेको छ।

परापूर्व कालदेखि सत्यवन्त राजाका छोरीहरुमध्ये कान्छी छोरी सत्यकेशरीले बुबाको वचनलाई शिरोपर गरी राजाको मुखबाट ठट्टाबस निस्केको बोलीअनुसार कुष्ठरोगबाट ग्रसित महारोगीबाट विवाह गर्न पुग्छिन्।

ती महारोगीले हरेक दिनजस्तो अन्जान पोखरीमा स्नान गर्दा नयाँ जीवन पाएको सपनामा बारम्बार देख्ने गरेको र एक समय श्रीमतीको अनुपस्थितिमा सपनतीर्थ क्षेत्र रहेको कुण्डमा बच्चाले किरा–फट्यांग्रा समाउँदै मार्दैै उक्त कुण्डमा फाल्दा ती किरा पुनःजीवित भएर उडेको प्रत्यक्ष देखेपछि महारोगीले केटाहरुको सहयोगमा कुण्डमा स्नान गर्दा सम्पूर्ण रोगबाट मुक्त भई नयाँ जीवन पाएको किंवदन्तीअनुसार सपनतीर्थ मेला लाग्ने गरेको पाइन्छ।

यस्तै, उक्त मन्दिरमा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ। –रासस

प्रकाशित: ३० चैत्र २०८० १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App