२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

‘मेरो लवजमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो’

उपसभामुख रुवी कुमारी ठाकुरले आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक भएको बताएकी छन्।

उपसभामुखमा निर्वाचित भएपछि बिहीबार पहिलो पटक संघीय संसद्‍लाई सम्बोधन गरेकी ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो पहिचान र भाषाप्रति गर्व व्यक्त गरेकी हुन्।

मातृभाषा र आफ्नो भूगोलप्रति अगाध प्रेम दर्साउँदै उपसभामुख ठाकुरले मैथिली आफ्नो मातृभाषा र मधेस आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्।

‘शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु,’ उनले लेखेकी छन्, ‘मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो।’

मातृभाषालाई केवल संवादको माध्यमका रूपमा मात्र लिन नहुने भन्दै उनले यसलाई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदाका रूपमा व्याख्या गरिन्।

उपसभामुख बनेपछि बिहीबार ठाकुरले पहिलो पटक संसद्‍को बैठक सञ्चालन गर्दै सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा उनको लवज (टोन) लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी सुरु भएपछि उनले यस्तो स्पष्टीकरणसहितको गर्विलो पोस्ट गरेकी हुन्।

प्रकाशित: २८ जेष्ठ २०८३ २१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App