२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दिक्तेल फर्कंदा कलाघरको यात्रा

नियात्रा

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टूडियोद्वारा काठमाडौंमा आयोजित मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी–८० सम्पन्न गरी फागुन १८ गते काठमाडौंबाट विहान ३ बजे हिड्यौं दिक्तेलतर्फ हामी।

जाल्पाका वडाध्यक्ष दानबहादुर राई (डिबी), मेरी साली नानी मन्दिरा सिग्देल तथा गाडी चालक निश्चल नेवा सहित थियौं ४ जना। डिबीजी र मन्दिर दुवै जनालाई गाडीमा मात्ने भएकाले यात्रा अलिक असहज जस्तो भयो तथापि उहाँहरूलाई धेरै पटक त भएन उल्टी तर पनि असहजताका वीच नै गुज्रियो यात्रा अवधि।

विहानैको यात्रा त तय गर्‍याैं तर काभ्रेबाट राजधानी गिट्टी बालुवा ओसार्ने टिफरको दादागिरी र सडकमा देखिने एकाधिकारले वाक्कै लगायो हामीलाई। न बाटो छोड्छ न गतिअनुसार अगाडि नै बढ्छ टिफर।

टिफरको लापर्वाहीका कारण पटकपटक सडक दुर्घटनाबाट मानवीय क्षति समेत भएकाले सरकारले राति ९देखि विहान ४ बजेसम्म मात्रै ढुवानी गर्न अनुमति दिएको छ टिफरलाई। न टिफरले एम्बुलेन्सको संवेदनशीलताको महत्त्व बुझ्छ न अन्य अति संवेदनशील गाडीहरूको समस्या। अतः नियमन निकायले टिफरलाई तत्कालै सजक र जवाफदेही बनाउनुपर्ने देखिन्छ।

विहान छिट्टै उठेकाले म त मस्त निदाएँछु लामो समय गाडीमा। विहान ६.१० बजे पो बिउँझिएँ खुर्कोट पुगेपछि।

विहान छिट्टै हिंड्नुको दुई उद्देश्य थियो एउटा सिन्धुली पुगेर निर्माणाधीन कलाघरको अध्ययन र अर्को दिक्तेलमा संचालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन कार्यक्रमा सहभागिता।

मेरो सुमन थापा मगर जो नेपाली बाबु उपनामबाट पनि चिरपरिचित हुनुहुन्छ उहाँसँग करिब १ वर्षअघि दिक्तेलमा मिलेको थियो भेट गर्ने अवसर। चौतर्फी अद्भूत क्षमता र कला-संस्कृतिको संरक्षणलाई आफ्नो मूल उद्देश्य बनाएको  जाँगरिलो एक युवासँग पटकपटक कलाघर आउने प्रतिबद्धतालाई व्यवहारमा उतार्ने लक्ष्य सहितको थियो यो यात्रा। सिन्धुली कलाघर जाने भनेपछि कला-संगीतका पारखी युवा नेता डीवी राई पनि पुलकित हुँदै उत्साहित हुनुभयो।

खुर्कोटबाट सिन्धुलीगढीतर्फ मोडिएपछि करिव १ घण्टाको गाडीको यात्रा तय गरेपछि ७.१० मा पुग्यौं कलाघर। सुमनजीसँगको भेटले हामीलाई थप ऊर्जा मिलेको भयो महसुस। गाडी छोडेर करिव ३ मिनेटको पैदल यात्रापछि हामी पुग्यौं निर्माणाधीन कलाघर। नेपालको नक्सा आकारमा बनाइएका नेपाली संस्कृति झल्किने सामग्रीहरू राखिएको। घामपानीबाट नबिग्रियोस् भनेर सबै फलामजन्य सामग्री राखिएको रहेछ त्यहाँ। २ वटा पक्की घर पूरा भएका र सँगैमा अर्को पाइयो निर्माणाधीन।

जंगलमा फ्याँकिएका रूखका जरा र प्रयोगविहीन सामग्रीलाई थोरै कालिगढी क्षमताले आकर्षित र लोभलाग्दो ढंगले संरक्षण गरिएको छ त्यहाँ। हाम्रा पुर्खाले दैनिक जीवनमा प्रयोग गरेको तर अहिले लोपोन्मुख कला, संस्कृति, कृषि सामग्री तथा विभिन्न प्रकारका सैकडौं प्रकारका ऐतिहासिक सम्पतिको जगेर्ना गरेको पाइयो कलाघरमा।

धमाधम निर्माणको चरणमा भएकाले चिसो मौसममा पनि सिकर्मी, डकर्मी र प्राविधिक जनशक्ति कर्ममा जुटिसकेको देखियो त्यहाँ। के राखियो र राखिन्छ एउटा विषय हो तर परिकल्पना नै महत्त्वपूर्ण पाटो हो। त्यसैले सुमन थापा मगर लगायत कलाघर परिवारलाई हार्दिक सम्मान र नतमस्तक हुनैपर्छ हामी सबै नेपालीले। विशेषतः राज्य सत्ताको बागडोर सम्हाल्ने केन्द्रदेखि स्थानीय तहसम्मका हामी सबैले।

कोहीकोही विद्ववान् साथीले कलाघरले अस्पतालमा छटपटाइरहेकी आमालाई, खेतमा हलो जोतिरहेको कृषक तथा एकपेट खाने नागरिकलाई के दियो कलाघरले? यसमा लगानी गर्नुको सट्टा ती दुःखीपीडितलाई दिएको भए ..? आदिआदि प्रश्न उठाइन्छ सामाजिक संजालमा।

झट्ट हेर्दा मन छुने भावनात्मक विषय लाग्छ सबैलाई र हो पनि। तर यस्तो ऐतिहासिक र महत्त्वपूर्ण काम गर्नेलाई साथसहयोग र सम्मान गर्दै मानवीय सेवाको कामलाई पनि नेपाल सरकार वा त्यस क्षेत्रमा काम गर्ने निकायले सँगसँगै गर्नुपर्छ सेवाप्रवाह। म नगर प्रमुखको हैसियतले हार्दिक सम्मान गर्छु सुमनजी, रीता थिङ तथा अग्रगामी सोचका धनी कलाघर परिवारलाई।

करिव १ घण्टाको निर्माणाधीन कलाघरको अवलोकनपछि माथिल्लो डाँडातर्फ अघि बढ्यौं हामी। जहाँ नौमति बाजा बजाएर स्वागत गरियो लालीगुराँसको माला लगाएर। कलकलाउँदो उमेरका  कलाकार ९ बहिनीले नौमति बाजा बजाउँदै मनमोहक नृत्यका साथ आसन गराउनुभयो सुमनजीले।

१२ न. वडाध्यक्ष डीबी राई अद्भूत कलाका क्षमता व्यक्तित्व भएर कलाकार चेलीहरूसँग कम्मर मर्काउँदै जानुभयो सार मिलाउन। तर म भने भएँ अकमक्क लाजले पानीपानी। न गाउन आउँछ न नाच्न नै र पनि ढल्किएको उमेरमा हल्लाउनै पर्‍याे जानीनजानी कम्मर।

नभए समाजका अगाडि हुने भैयो हाँसको अगाडि बकुल्लोझैं। सुमनजीको अद्भूत प्रस्तुति र क्षमताले संगतमा परेपछि छुट्ने कल्पना नै गर्न सक्दैन कोही पनि। तर कला-संस्कृतिको महत्त्व बुझेको र यसप्रति अभिरूचि राख्ने हुनुपर्छ मानिस।

”जो धेरै नाच्दछ उ धेरै बाँच्दछ “ सुमनजी हौस्याइरहनुभएको छमछमी आफू पनि नाच्दै।

अनि बसाउनुभयो हामीलाई खोसेलाको पिरा र बताउनुभयो सुमनजीले कलाघर स्थापनाको परिकल्पना र लक्ष्यका विषयमा। उहाँको परिकल्पना र उद्देश्य सुन्दा हामी अझ भयौं प्रभावित र केही सहयोग गरेर छिटो सम्पन गरौं  निर्माणाधीन कलाघरलाई।

यी भाव र मनोविज्ञानका वीच हरियो साडी, बुलाकी, हरियो चुराको पहिरनमा रहेका कलाकर्मीको एकता र समर्पणले हामीलाई लाग्यो ठूलो लक्ष्यसहितको कलाघर पूरा हुनमा धेरै समय लाग्दैन भन्ने। दमाहा, सनाई, मादल, मुरली लगायतको वाद्यवादनसहित अतिथिलाई मनमोहक पार्ने नृत्य सहितको स्वागत प्रस्तुति देख्दा पत्थर जस्तो कठोर मुटु भएको मानिस पनि प्रभावित हुने नै भयो।

हामी कला र संस्कृतिको संरक्षण/संबर्द्धन गर्नुपर्छ भन्ने सोच भएका व्यक्ति भएकाले त्यहीं दिन बिताऊँ भन्ने थियो वातावरण। डीवीजीले त कलाकारको प्रस्तुति र वातावरणबाट प्रभावित भएर २०–२२ का कलाकारलाई प्वाक्क भन्नुभयो , ‘विवाह गर्दा यहीं गाउँ वरिपरि गर्नु र कलाघरलाई सार्थक पार्नु। कतै विवाह गरेर टाढा जानुभयो भने कलाघरमा समस्या हुन सक्छ र स्वागत गर्ने यो कलात्मक शैलीमा पूर्णविराम लाग्न सक्छ।’

उहाँको प्रश्नमा अनुत्तरित कलाकारले मुसुक्क मुस्कुराएर जनाए सहमति। प्रतिभाशाली डीवीजीको कलात्मक नृत्य र सुमधुर स्वरमा त्यहाँका कलाकार पनि नतमस्तक हुँदै लट्ठिएको अनुभूत गरें मैले। उहाँको ‘दिक्तेल बजार लैलै..!’ गीतको बोलले सबैलाई नचायो–रमायो र नगरपालिकालाई स्थापित गरायो कलघरका कलाकारको मनमनमा। संगत गुनको फल भन्ने पुर्खाको अर्तिले म पनि दमाहा बजाउने कर्ममा सरिक हुने अवसर मिल्यो कलाघरमा। सुरताल मिलोस् कि नमिलोस् बजाएं दमाहा र नाचमा सरिक भएं  क्षमता अनुसार।

करिव २ घण्टाको लामो कलाघर कम्पाउण्डभित्रका सकारात्मक र सिर्जनात्मक गतिविधिलाई जीवनको अपूरो कर्ममा एउटा महत्त्वपूर्ण ज्ञान हासिल गरेको अनूभूति गर्दै हामी झर्‍याैं गाडी रोकिएको ठाउँसम्म। जहाँ २ तले पक्की घर सुमनजीको रहेछ पछि जानकारी पाएं मैले।

कलाघरकी ममतामयी आमा जो प्रतिभाशाली सुमनजीको माताले पकाएको प्रेमवात्सल्य जुर्‍याे खाना खाने अवसर। वर्षौं पछाडि खान पाएको मकैको थ्याप्लोले झन् गरायो पूर्ण आनन्द। ओहो! त्यो खानाको स्वाद र आमाको सानिध्यमा पाएको स्नेह अझ महत्त्वपूर्ण रह्यो जीवनको यात्रामा थपियो नयाँ आयाम।

चार रोपनी जग्गामा बनिरहेको नेपालको नक्सासहितको सांस्कृतिक कलाघर र तथ जग्गा व्यवस्थापन गरेर भविष्यमा बनाउने अन्तराष्ट्रिय कला-संग्रहालयको परिकल्पना पूरा हुने विश्वासका साथ १०.३५ बजे डिवीजी, मन्दिराजी र निश्चलजी साथ विदा भयौं सुमनजी र रीताजी सहित कलाघरको टिमसँग। र आशीर्वाद लियौं कलाघरकी आमा र बुबासँग।

विहानै उठेकाले होला थकान महसुस भई निदाएँछु लामो समय। घुर्मी पुगेपछि मात्रै बिउँझिएछु म। साली मन्दिरा गाडीबाट मातेर थिइन् इन्तु न चिन्तुको अवस्थामा। हामीभन्दा छिटो उठेका गुरुको मेहनत र गरिरहेको कर्मको म सधैं गर्छु सम्मान। सिधा अर्थमा भन्दा उनको जिम्मेवारी नै हो त्यो तर मानवीय र व्यावहारिक दृष्टिकोणले श्रमको गर्नैपर्छ सम्मान।

करिव ३ बजे हुर्लुङ पुग्यौं हामी। १२ नं. वडाका अध्यक्ष डीवी राई र हाम्रो गन्तव्य भिन्न भएकाले छुट्टियौं हामी। डीबीजी ओर्लनुभयो हामी बढ्यौं दिक्तेलतर्फ।

नेपाली कांग्रेसका महामन्त्री आदरणीय विश्वप्रकाश शर्मा, युवा नेता प्रमोदहरि गुरागाई, मित्र ध्रुव लुइँटेल सहितको टोली दिक्तेलबाट भोजपुर बढ्ने तयारीमा रहेकाले छिट्टो आउन पार्टी नगर सभापति प्रकाश श्रेष्ठले पटकपटक सूचना दिइरहनुभएको थियो मलाई।

कार्यपालिका सदस्य तथा नेका जिल्ला सदस्य मिना कार्कीको बाम्राङस्थित निवासमा भेट्ने अवसर पाएँ मैले पनि। पार्टीका २ दर्जन साथीसँग अन्तरक्रिया सकेर भोजपुरतर्फ बढ्नु हुने महामन्त्री शर्माज्यूको टोलीलाई साँझ ५ बजे विदा गर्‍याैं हामीले।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन कार्यक्रमा माटिकोरे कवर्ड हलमा ६. बजेसम्म सहभागी भयौं समन्वय प्रमुख सनबहादुर राई सहित हामी। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अत्याधिक स्वर्णपदकसहित पहिलो स्थान हासिल गरेकाले खेलाडी साथीहरूलाई हार्दिक बधाई सहित धन्यवाद दिंदै सिल्ड उचाल्यौं हामीले। नगर परिक्रमा सहित हामी छुट्यौं खेलाडी साथीहरूसँग।

घर झरें र आमाको आशीर्वाद थापें। ८८ वर्षको उमेरमा पनि मोवाइलको सामान्य प्रयोग गर्नुहुन्छ आमाले। काठमाडौंमा नगरले गरेको कार्यक्रमको झाँकीदेखि कलाघरको सुन्दर स्वागत आदि मोवाइलमा हेरेको प्रसंगसहित आशीर्वाद दिनुभयो मलाई।

आमालाई सामाजिक संजाल र प्रविधिमा भतिजी प्रेसिकाले सहयोग गर्छिन्  र त्यसैले आमा ८८ वर्षमा पनि निपुण हुनुहुन्छ सूचना प्रविधिको जानकारीमा। बेलाबेलामा भाइ पर्शुरामले पनि प्रविधिको क्षेत्रमा सहयोग गर्छन् आमालाई। ८२ वर्षीया ठूला मामा खगेन्द्र पोख्रेल र १०६ वर्षीया हजुरआमासँग पनि  मेसेन्जरमा नियमित संवाद गर्नुहुन्छ आमा।

आएको फोन सहजै उठाउनुहुन्छ भने धेरै मेहनत गरेर मात्रै गर्न सक्नुहुन्छ अर्कोतर्फ फोन। प्रविधिले जेष्ठ नागरिकदेखि केटाकेटीलाई पनि आफ्नो वसमा पारेको छ अहिले। जेहोस् समयसँगै चल्न सक्ने क्षमता हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो।

अन्त्यमा, सँगै यात्राका सहयात्री डिवीजी, मन्दिराजी चालक निश्चलजी तथा कलाघरका साथीहरूसँग भएको प्रेमपूर्वकको भेट जीवनको महत्त्वपूर्ण उपलब्धिको रूपमा मैले लिएको छु।                

प्रकाशित: २२ फाल्गुन २०८० १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App