चाहे जुनसुकै क्षेत्रका हुन्, गाउँ प्राकृतिक अस्पताल नै हो ।त्यहाँ स्वच्छ वातावरण पाइन्छ। त्यो ठाउँ आध्यात्मिक आनन्दप्राप्तिका लागि सर्वाधिक उपयोगी हो। प्राचीन ऋषिमुनिहरू हिमाल, पहाड, जंगल र त्यतातिरका गुफामा ध्यानस्थ भएर आध्यात्मिक ज्ञान र आनन्द प्राप्त गर्थे।
सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसेर ध्यान गर्दागर्दै ज्ञान प्राप्त गरेको सर्वविदितै छ। तर आज समय विकसित अवस्थामा छ। युग बदलिएको छ। हामी अध्यात्मवाद छोडेर भौतिकवादी बनेका छौं।
आज अध्यात्मवाद, मानिसको ऐच्छिक विषय बनेको छ तर भौतिकवाद र भौतिक उन्नतिको प्रयोगबिना उसको जीवनै नचल्ने भएको छ। यसर्थ, कोही कोही केही समयका लागि प्राकृतिक आनन्द लिन गाउँ जान रुचाउलान्, गाउँतिर घुम्न पनि रुचाउलान्। गाउँमै बस्न रुचाउनेचाहिँ कोही पनि छैनन् भन्दा पनि हुन्छ।
गाउँ कृषिमा रमाउन चाहने जाँगरिला मानिसका लागि हो। तर यो कृषि युग नै होइन। त्यसैले आजकल कृषिमा रमाएर कृषक हुन चाहने कोही पनि छैनन्। पहिलापहिला पहाडका सुक्खा तथा पाखा जग्गा र खोरियासमेत आवादी हुन्थे।
बोरामा प्याक भएका चामल गाडीले पुर्याइदिन्छ गाउँमा। त्यहाँ युवाशक्तिको खडेरी छ। परिणामतः पहाडका खेतीयोग्य गैरीबारी र सिँचाइको सुविधा भएका गैरीखेत मात्रै होइनन्, वर्षमा तीन कमाइ लाग्ने तराईका अब्बल खेत पनि बाँझिन थालेका छन् आजकल। भनिन्छ, खेती गर्ने अन्तिम पुस्ता यही हो जो अहिले गर्दै छ।
गाउँ सहर जाने क्षमता नभएकाका लागि भएको छ। सहर जान आँट गर्न नसक्ने सन्तोषीका लागि भएको छ। एक हिसाबले विचार गर्दा गाउँ अत्याधुनिक सहरको वातावरणीय र मानवीय प्रदूषणबाट विरक्तिएकाका लागि सन्तोषको सास फेर्ने ठाउँ हो।
भौतिक उन्नतिबाट वाक्क भएकाका लागि हो। यद्यपि विषयुक्त नै भए पनि हाम्रा लागि सहर नै प्यारो हुन थालेको छ। अमृतमय नै भए पनि गाउँ रोजाइको ठाउँ बन्न सकेको छैन। फेरि हाम्रा सहर पनि भौतिक उन्नतिले परिपूर्ण छैनन्। उता गाउँमा जीवनयापनको विकल्प छैन। त्यसैले पनि सहरप्रति मोह बढ्नु स्वाभाविकै देखिन्छ।
औद्योगिक क्रान्तिपछि गर्नुपर्ने हरेक काम सजिलो हुँदै आएर आजको अत्याधुनिक एआई प्रविधिको युगमा हाम्रा हरेक काम मेसिनले गरिदिन थालेको छ। तर यो सुविधा गाउँमा उपलब्ध नहुन सक्छ। फेरि, कुनै पनि कुराको प्रयोग बढी भएपछि मात्र त्यसप्रति मानिसको आशक्ति कम हुन थाल्छ। प्रयोगै गर्न नथालेकालाई प्रयोग गर्ने इच्छा हुने नै भयो।
हामी औसत नेपाली भने परम्परागत कृषि युगमा रमाउनुपर्ने अवस्थाका छौं। विभिन्न आधुनिक सुविधा उपभोग गर्न पाउने अवस्थामा हाम्रो देश पुगेकै छैन। त्यसैले हामी सहरको अत्याधुनिकताबाट विरक्त हुने कुरै आएन। धनी भएर धनबाट वाक्क हुने अवस्थामा पुग्न पनि बाँकी नै छ। यो अवस्थामा, सहरिया जीवनप्रति हाम्रो आकर्षण बढ्ने नै भयो।
पहिला मानिस अशिक्षित हुन्थे। अनि पो खेतीपातीमा रमाउँथे। त्यो एकप्रकारको बाध्यता पनि थियो। आजका शिक्षितलाई अफिसमा बसेर काम गर्ने खालको जागिर चाहिन्छ। अफिसभन्दा पनि आजकल अनलाइनमा काम गरेर जागिर खानेहरू बढ्दै छन्। यो अवस्थामा माटोमा टेकेर/छोएर काम गर्नुपर्ने गाउँ कसलाई मन परोस् ? त्यसमाथि गाउँमा पानीको अभाव, यातायातको अभाव, शिक्षाको अभाव, स्वास्थ्यको अभाव पनि छँदै छ।
यति भएर पनि गाउँको धेरै महत्त्व छ। गाउँ हाम्रो अस्तित्वको उद्गमस्थल र जीवनदाता हो। हामीलाई सभ्यता सिकाउने माता हो। औषधिसरिका अर्गानिक अन्नबाली तथा फलफूल गाउँमै उब्जाइन्छ।
श्रम र सहयोगी भावना त्यतै सिकिन्छ। सुन्दरता र स्वच्छतासहितको प्राकृतिक अस्पताल लाग्ने स्वस्थकर हावापानी त्यतै अनुभव गर्न सकिन्छ। अमृतमय खानेपानीका मुहान त्यतै छन्। अनेकौं प्रकारका मृतसञ्जीवनी औषधि बनाउन सकिने जंगल/जडीबुटीका भण्डार त्यतै छन्।
सर्वेक्षण, खोज, पहिचान गरी खन्न बाँकी रहेका खनिज पदार्थका खानी त्यतै छन्। जीवन्त अनुभव र ज्ञान दिने परिवेश गाउँमै पाइन्छ। झर्रा नेपाली शब्दसहित नेपाली भाषाको प्रयोग पनि गाउँमै हुन्छ। त्यसैले गाउँलाई आदरणीय गुरुका पनि गुरु मान्नुपर्छ, अविस्मरणीय तीर्थस्थल ठान्नुपर्छ।
नेपाल गाउँ नै गाउँले भरिएको देश हो। भौतक उन्नतिले बिटुलो नबनाएका गाउँहरू अझै पनि हामीकहाँ छन्। तिनलाई त्यहाँको मौलिकता नबिगारीकन विकास गर्ने काम बाँकी नै छ। संरक्षण गर्ने काम त्यसै छ। यीभन्दा पनि ती स्थलहरूसम्म पर्यटक पुर्याउने काम बाँकी नै छ।
नेपालको वास्तविक विकास भन्नु नै हाम्रा गाउँको विकास हो। तर शिक्षा र चेतनाको स्तर बढेको आजको पुँजीवादी अत्याधुनिक युगमा विकास भनेको गाउँ रित्तिँदै जानु र सहर भरिँदै जानु अनि गाउँ मेटिँदै जानु र नयाँ सहर बन्दै जानुलाई मानिँदो रहेछ! सहरलाई सभ्यताको विकसित रूप र गाउँलाई चाहिँ पिछडिएको स्वरूप ठानिँदो रहेछ!
राजा महेन्द्रले २०२४ सालमा ‘गाउँ फर्क राष्ट्रिय अभियान’को कार्यक्रम ल्याएका थिए। त्यसअन्तर्गत मन्त्री र उच्चस्तरीय सरकारी कर्मचारीले वर्षमा १५ दिन अनिवार्य गाउँ गएर श्रमदान गर्नुपर्ने थियो। त्यसपछिका दिनमा यही नामबाट अभियानै नचलाइए पनि गाउँको विकासलाई प्राथमिकता दिनुपर्छ, त्यहाँ मानिसलाई टिकाइराख्नुपर्छ भन्ने कुराचाहिँ महसुस गरिएकै हो। यस क्रममा ‘आफ्नो गाउँ, आफैं बनाऊँ’, ‘ग्रामीण स्वावलम्बन’ जस्ता नाम लिएर आएका सरकारी कार्यक्रमले गाउँको विकासलाई नै महत्त्व दिएका हुन्।
‘एक गाउँ एक उत्पादन’ भन्ने नारा उराल्नेदेखि लिएर कृषिमा ऋण दिने, अनुदान दिनेजस्ता काम नगरिएका होइनन्। विशेषतः स्थानीय सरकार आएपछि भ्रष्टाचार गरेर र कमिसन खाएर भए पनि गाउँमा विकास नभएको पनि होइन। तैपनि गाउँले सहरमा बस्नेलाई आकर्षण गर्नु त परै जाओस्, त्यहीं बस्नेलाई पनि टिकाउन सकेको देखिएन। केही गर्दा पनि केही सिप लागेको होइन। गाउँ रित्तिने क्रम जारी छ।
अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले पोहोर सम्पन्न आठौं अधिवेशनमा गाउँलक्षित ‘कृषि क्रान्ति’लाई पार्टीको दस्ताबेजमा समावेश गरेको थियो। यसअनुसार प्रत्येक नेता वर्षमा १५ दिन गाउँ फर्कनुपर्ने, हरेक पालिकामा अनिवार्य रूपमा कम्तीमा ५० जना संलग्न गरी एक कृषि उद्यम छ महिनाभित्र स्थापना गर्ने, हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म या उद्योगमा श्रम गर्नुपर्नेजस्ता राम्रा कुरा आए।
वास्तवमा आफूलाई गरिब–दुःखी, शोषित–पीडित, ज्यामी–मजदुर र श्रमजीवीको पार्टी बताउने माओवादीले गर्नुपर्ने त्यस्तै काम हो।
बनाउनुपर्ने त्यस्तै नीति हो तर कामभन्दा पनि जनतामाझ भ्रम छर्न सिपालु माओवादीका उल्लिखित कुराहरू पत्याइएन। कोही कोही बुद्धिजीवीहरू सन्तुलित विकासका लागि बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ भन्छन्।
गाउँलाई लक्षित गरी भनिएको यो कुरा अवश्य पनि सही छ तर नेपालको संविधानमा उल्लिखित मौलिक हकले नै ‘नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता’ दिएको छ। त्यसैले त्यस्तो ‘औपदेशिक वाक्य’ संविधान विपरीत भएको ठहरिन्छ।
कठिनाइको विकल्प खोज्नु, समस्याको समाधान रोज्नु र असुविधाबाट सुविधामुखी हुन चाहनु मानवीय स्वभाव नै हो। कठिनाइ, समस्या र असुविधाका कारण कोही व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्छ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन।
संघीयतापछि देशमा तीन तहका अधिकारसम्पन्न सरकार छन्। गाउँबाट बसाइँसराइलाई निरुत्साहित गर्नका लागि गाउँमा नै बसौं बसौं लाग्ने खालको वातावरण किन बनाइँदैन? यो प्रश्न गर्नु व्यर्थ छ किनभने गाउँको त के कुरा, हुँदा हुँदा अब त देशमा नै बस्न नसकिने वातावरण बनाइसकियो। गाउँको वातावरण सहज र राम्रो भए को सहर आउँथ्यो? देशको वातावरण सहज र राम्रो भएको भए को विदेश जान्थ्यो?
लाग्छ-हाम्रा गाउँलाई अब कुनै पनि हालतमा बसौं बसौं लाग्ने बनाएर त्यहाँ मानिस टिकाउन सकिँदैन। घुमौंघुमौं लाग्ने बनाएर त्यहाँ मानिस पुर्याउनेचाहिँ बनाउन सकिन्छ। यसका लागि गर्नुपर्ने कामहरू यी हुन सक्छन् :
–प्रत्येक पर्यटकीय स्थलसम्म सुविधाजनक मोटरबाटो पुर्याउने र ती ठाउँमा आवासको व्यवस्था पनि मिलाउने,
–पानीको सुविधा नभएको ठाउँमा घर बनाएर बस्नै निषेध गरी उपयुक्त ठाउँ छानेर एकीकृत वस्ती विकासमा जोड दिने,
–कृषिलाई यान्त्रिकीकरण गरी कृषिमा लाग्न चाहनेलाई लगानीको शतप्रतिशत अनुदान दिने व्यवस्था मिलाउने,
–अन्नबालीभन्दा फलफूल खेती र नगदे बाली लगाउनमा प्रोत्साहन गर्दै खास क्षेत्रलाई खास उत्पादनको पकेट क्षेत्र घोषणा गरी सोहीअनुसार उत्पादनमा जोड दिने,
–जङ्गल, पहाड, फाँट, नदीनाला इत्यादिको प्रयोग गर्न नसके पनि तिनको सजावटमा ध्यान दिने,
–पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएका ठाउँको व्यापक प्रचारप्रसार गर्ने इत्यादि।
पद तथा सुविधा लिन, गफ दिन र भ्रम छर्नमा व्यस्त हाम्रो सरकारलाई यस्ता कुरातर्फ ध्यान दिन के समय होला र!
प्रकाशित: १९ फाल्गुन २०८० ०६:१२ शनिबार