१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

काई बर्ड भन्छन्ः हामी निकै खतरनाक समयमा बाँचिरहेका छौं’

पोखरा फेवाताल किनारमा शनिबार छलफल गर्दै काई बर्ड र कुन्द दीक्षित। तस्बिरः नागरिक

दुई शक्तिशाली राष्ट्रबिचमा छ नेपाल। विश्व अर्थतन्त्रमा शक्तिशाली हैसियत राख्ने मुलुक भारत र चीन बीचमा रहेको नेपाललाई हेरेर काई बर्ड भन्छन् ‘ओपेनहाइमर’ नेपाल जस्ता देशका लागि निकै नै सान्दर्भिक छ।

फेवाताल किनारमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्ड पनि छलफलमा जुटे। ‘बेष्टसेलरदेखि ब्लकबाष्टरः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्ड पत्रकार कुन्दन दीक्षितसँग गफिए।

बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियसः द ट्राइम्फ एन्ड ट्र्याजेडी अफ जे रोबर्ट ओपेनहाइमर’ सैद्धान्तिक भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक हो। 

सत्र बर्डको पुस्तकमा आधारित क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ का विभिन्न पक्षमा घुम्यो। पुलित्जर पुरस्कार विजेता बर्डले कुराकानीका क्रममा नेपाल जस्ता देशका लागि चलचित्र र पुस्तक दुवैको सान्दर्भिकताबारे प्रकाश पारेका थिए।

काई बर्ड भन्छन्, ‘तपाई (नेपाल) का छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन्। अहिले उत्तर कोरिया, पाकिस्तान, भारत, इजरायल, फ्रान्स र इंग्ल्याण्ड जस्ता देशसँग खतरनाक हतियार छन्। हामी अहिले धेरै नै खतरनाक समयमा बाँचिरहेका छौं।’

कुराकानीको क्रममा बर्डले आफू पत्रकारबाट जीवनीकारमा परिवर्तन हुँदाका कुरा पनि साझा गरे। संयोगवश पुस्तक लेख्न पुगेको बताउँदै जीवनी लेखनमा पुगेको उनले सुनाए। बर्डका अनुसार इतिहास सम्प्रेषण गर्ने सबैभन्दा शक्तिशाली साधन जीवनी हो। इतिहास देखाउने पुस्तकलाई चलचित्रमा ढालेकोमा बर्डले क्रिस्टोफर नोलनप्रति कृतज्ञता देखाए।

‘म क्रिस्टोफर नोलनलाई चलचित्र बनाएर यस्तो महत्त्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउनु भएकोमा आभारी छु,’ उनले थपे। उनले मार्टिन जे शेरविन द्वारा सह–लेखक पुस्तकमा उनी कसरी संलग्न भए भनेर पनि बताए। ‘सेर्विनले सन् १९८० मा पुस्तक सुरु गरे र २० वर्ष अनुसन्धानमा बिताए। त्यसपछि उहाँ मसँग आउनुभयो र मलाई सामेल हुन भन्नुभयो,’ बर्डले सम्झिए।

यसबाहेक उनले रोबर्ट ओपेनहाइमरको साहित्यप्रतिको प्रेमको बारेमा कुराकानी गरे। ‘उनलाई टीएसको कविता मन पर्‍यो। इलियट, जोन डोन। उनले अर्नेस्ट हेमिङ्वेका उपन्यासको प्रशंसा गरे,’बर्डले भने।

रोबर्टले गीता पढ्नका लागि संस्कृत भाषाको सिकेको विषय पनि त्यही क्रममा साटे। १९३० को दशकमा उनी हिन्दु धर्मग्रन्थको विषयमा जिज्ञासु भए। श्रीमद्भगवद्गीतालाई मूल लिपिमा अध्ययन गर्नका लागि उनले संस्कृत सिकेका थिए।

प्रकाशित: ५ फाल्गुन २०८० १५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App