२२ असार २०८१ शनिबार
image/svg+xml
कला

‘प्रकृतिः सहअस्तित्वको खोजी’ काे अन्तरसम्बाद

नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ। संघको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन संघका महासचिव कृष्ण ओस्तीले गरेका थिए।

२७ जना वन तथा वातावरणकर्मीहरूको संस्मरणात्मक लेखहरू समेटिएको उक्त संग्रहभित्र समेटिएकी लेखिका तथा प्राविधिक संघकी उपाध्यक्ष गायत्री कार्कीले स्वागत गरेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डा. किरण पौडेलले गरेका थिए।

सहजकर्ता मिलन बुढाथोकी रहेको सो अन्तरसम्वाद कार्यक्रममा समालोचकहरू झलक सुवेदी र नेपाल वातावरण पत्रकार समूह ‘नेफेज’ की अध्यक्ष रोशनी अधिकारी र पुस्तकका सम्पादक डा. रोशन शेरचन वक्ताका रूपमा रहेका थिए।

उक्त अन्तरसम्वाद कार्यक्रममा बोल्दै झलक सुवेदीले वन विज्ञान र वन व्यवस्थापनमा लागेका सर्जकहरूबाट यस प्रकारको जमर्को गरिनु अत्यन्तै सराहनीय कार्य भएको विचार व्यक्त गर्दै पुस्तक प्रकाशनका क्रममा देखिएका केही छुटेका विषयलाई उठाएका थिए।

खासगरी वन व्यवस्थापक र ‘डी एफ ओ’ को एउटा बिम्बमा झल्किने वनकर्मीहरूभित्र कस्तो खालको शालीनता र कोमलता हुँदो रहेछ भन्ने अभिव्यक्त गर्न पनि यो पुस्तक सफल भएको कुरा उनले प्रकाश पारेका थिए।

त्यस्तै नेपाल वातावरण पत्रकार समूह ‘नेफेज’ की अध्यक्ष  रोशनी अधिकारीले यस पुस्तकमा समेटिएका महिला सर्जकहरूले व्यक्त गरेका यावत् संघर्षका कथाहरूको उल्लेख गर्दै समेटिएका आलेखहरू अत्यन्त प्रखर र सूचनामुलक हुँदा हुँदै पनि अझ कतिपय व्याख्यात्मक विवरणहरूलाई संक्षिप्त पार्दै वनका मुद्दाहरू, वन व्यवस्थापनका कठिनाइहरू र लेखकहरूले सोको समाधानमा खेलेको भूमिका सहित आएको भए अझ सुन्दर हुन्थ्यो भन्ने विचार प्रस्तुत गरेकी थिइन्।

साथै सम्पादक मण्डलका सदस्य डा. रोशन शेरचनले पुस्तक प्रकाशन पछाडिका संघर्ष र दुखलाई कठिनाइका रूपमा भन्दा पनि रोजिएको जिम्मेवारीका रूपमा काम सम्पन्न गरेको बताए।

साथै उनले पुस्तक प्रकाशनको अवस्थामा आइपुग्दाको कामहरूको नालीबेलीको उल्लेख गर्दै कतिपय रोचक पक्षको उजागर गरे।

कार्यक्रममा वनकर्मी, साहित्यिक व्यक्तित्व तथा अन्य महानुभावको बाक्लो उपस्थिति रहेकाे थियो। पुस्तकमा समेटिएका लेखकहरू डा. स्वयम्भूमान अमात्य, डा. हिमलाल श्रेष्ठ, कमल थापा, विजयराज पौडेल, पशुपति कोइरालाको उपस्थिति रहेकाे थियो।

साथै धर्तीचन्द्र यात्री, विष्णु ज्ञवाली, बाबुकृष्ण कार्की, लोक बन्धु घिमिरे, राजेशमान केसी जस्ता वन/वातावरणको विषयमा कलम चलाउने सर्जकहरू उपस्थित रहेका थिए। त्यस्तै प्रेम सापकोटा, प्रेम खनाल, प्रकाश थापा, डा. मेनका पन्त, गोविन्द दाहाल लगायत वनकर्मीहरू तथा वन विज्ञानका विद्यार्थीहरू पनि उपस्थित रहेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. किरण पौडेलले डा. रोशन शेरचन, डा. हिमलाल श्रेष्ठ, डा. भरतमान श्रेष्ठ, डा. ऋषि वस्ताकोटी र कमला रूपाखेतीको सम्पादक मण्डलको सामूहिक प्रयासमा २७ जना वनकर्मीको संस्मरण समेटिएको पुस्तक प्रकाशन गर्ने अवसर प्राप्त हुनु नेपाल वन प्राविधिक संघको लागि आफैमा एक सुनौलो अवसर हो।

यसले वन प्राविधिकहरूले पनि साहित्य लेखनमा अघि बढ्नुपर्छ भन्ने मानक स्थापित गर्न मद्दत पुर्‍याएको छ। अझ परिस्कृत र अझ फराकिलो दायरा बनाएर अर्को प्रकाशन गर्न संघ तयार रहेको उल्लेख गरे। नेफेजका तर्फबाट व्यक्त भएको सहकार्यमा लेखकहरूका लागि सिर्जनात्मक लेखनको कार्यशाला गर्ने कुरा अर्को चरणमा छलफल गरेर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरेका थिए।

प्रकाशित: १३ माघ २०८० ०४:५४ शनिबार

नेपाल वन प्राविधिक संघ प्रकृतिः सहअस्तित्वको खोजी नेपाल वातावरण पत्रकार समूह ‘नेफेज’ की अध्यक्ष रोशनी अधिकारी