१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

कार्टुनिस्ट मिश्रले प्रदर्शनी गर्दै छन् एकल काटुर्न

कार्टुनिस्ट रवि मिश्रले एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन्। काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा उनले आउँदो बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन्।

कार्टुनिस्ट मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको बताए। १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरूमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्ने भएका हुन्।

‘पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न काटुर्नमध्ये केही यस प्रदर्शनीमा राखिने छन्, जसलाई मैले ‘डिपेक्शन’ नाम दिएको छु,’ मिश्रले भने, ‘डिपेक्शन’ मैले देखेको नेपाली समाजको चित्र हो। प्रदर्शनीमा राखिने अधिकांश कार्टुन विभिन्न पत्रिकामा प्रकाशित भइसकेका छन्। तैपनि कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ। पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दै छु। कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ।’

नयाँपत्रिकामा आबद्ध मिश्रले कार्टुन आफ्ना लागि चित्र मात्रै नभएर विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताए। ‘वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन,’ उनले भने, ‘मेरा लागि कार्टुन समाजसँग अन्तर्क्रिया गर्ने माध्यम हो। अन्तर्क्रिया मजेदार होस भनेरै म कार्टुन लिएर यहाँ आएको छुँ। वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु म कार्टुनमा। वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृत्ति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन।’

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत प्रस्तुत गर्दैछन्। ‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शकसमक्ष पुर्‍याउने माध्यमका रूपमा यो प्रदर्शनीलाई लिएको छु,’ मिश्रले भने, ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो। अखबारका कोलम र ग्यालरीको भित्ताभन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो। कार्टुनलाई थप पहुँचयोग्य र सान्दर्भिक बनाउने प्रयत्न हो।’

प्रर्दशनीस्थल उमोजा क्याफेका निर्देशन लिलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए। ‘कर्नर किक’ मार्फत उहाँसँग मेरो एकोहोरो परिचय भयो,’ खड्काले भने, ‘ आजभोलि मिश्र र उनका कार्टुनसँग समाजिक सञ्जालका भित्तामा देखाभेट हुन्छ। पत्रिका र आर्ट ग्यालरीमा मात्र कति कार्टुन प्रदर्शनी गर्नु भनेर मैले क्याफेमा प्रदर्शनी गर्ने आइडियामा जोड गरेको हुँ। प्रदर्शनीमा राखिने कार्टुनहरू गएको पाँच वर्ष यताका राजनीतिक, सामाजिक मुद्धाका ‘डिपेक्शन’ हुन्।’

मिश्र ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ का महासचिव समेत हुन्। व्यग्यं चित्रसँगै उनी व्यग्यं लेखन समेत गर्ने गर्छन्।

प्रकाशित: २ माघ २०८० ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App