मान्छेहरू भन्छन् मलाई, ‘तँ सोझो छस्।’ अझ मलाई मनदेखि माया गर्नेहरू भन्छन्, ‘तेरो सरल स्वभावका कारण तँलाई माया गर्ने भनिएकाहरूले नै उपयोग गरेका छन्। तैंले चालै पाइनस्।’
ती सबै कुरा सुनेर म फिस्स हाँसिदिन्छु। फेरि यसो गम खान्छु, हो कि जस्तो पनि लाग्छ। र मनमनै भन्छु -ठिकै छ त। कम्तीमा केही साथीभाइलाई मलाई प्रयोग गरेर फाइदा नै भएछ के भो त ! फेरि मलाई यति त थाहा छ, मान्छेहरू स्वभावैले स्वार्थी हुन्छन्। उनीहरू मनदेखि लुकेर, छिपेर अरूबाट फाइदा उठाउन चाहन्छन्। सन्मार्गमा कहाँ डोरिन्छ त कलियुगको मानव ? कहाँ परमार्थलाभमा लामबद्ध हुन्छ त आधुनिक मान्छे ? के गर्न हुन्छ अनि के हुँदैन, कुनै मतलब छैन आजको मान्छेलाई। केवल आफ्नो स्वार्थ सिद्ध गर्न पाए भयो।
यस्तै हो, आफू बाँचेको समाजसँग मेरो गहिरो नाता जोडिएको छ। त्यहाँदेखि पर जान पनि सक्दिनँ म। मेरो भूमिका पनि त समाजपरक हुने भयो। यति हुँदा पनि बुबाहरूको आदर्शभन्दा पर भाग्न सक्दिनँ। समाज भाँडमा जाओस्। ममा बुबाहरूको आदर्शको प्रबल थिचाइ अहिले पनि ज्यूँका त्यूँ छ। सायद यही मेरो कमजोरी छ र त फाइदा उठाउँछन्। म समाजोपयोगी भइदिन्छु के भो त ! यही समाजका कुनाकोप्चेरामा बसेर रमाउने यत्न गर्दिन्छु के भो त?
यस्तैमा रम्न सिकेको म। यसैले त जीवन सुन्दर लाग्छ आफैंलाई। अनि जिन्दगीको असली आस्वादान यसैमा छ। सुखदुःख, प्रेमघृणा, आँसुहाँसो, उकाली–ओराली छ र त जिन्दगीको मजा छ। कोही त होलान् नि मेरो जिन्दगीको आरिस गर्ने पनि। म दुई पाखुरा बजार्छु, मिठै खान्छु, राम्रै लगाउँछु। निर्वाह भएकै छ मेरो। मेरो जिन्दगीको किताब उस्तै खुला छ, लपनछपन केही छैन। लुकाउनुपर्ने कुरा भएन। जो कोहीले सहजै पढ्न सक्छ। म सजिलो पनि छु उत्तिकै।
मलाई थाहा छ, मलाई उपयोग गर्नेहरूले पनि एक दिन पछुताउनुपर्नेछ। कुप्रवृत्तिको जहिल्यै हार र सद्वृत्तिको जित त शाश्वत सत्य हो। हुन त ममा पनि कहिलेकाहीं उत्ताल तरंग आउँछन्। मनलाई अशान्त, हैरान र बेचैनी गराउँछन् तिनले। तर म लामो समय सोच्दिन्। सुखदुःख जीवनका दुई किनारा हुन्। यति थाहा छ। योभन्दा बढी जीवनका जटिलतालाई सूक्ष्मतापूर्वक घोत्लिएर सोच्दिन म। किनकि भावना र यथार्थ सर्वथा पृथक् छन्। जीवन भावनाले चल्दैन। यथार्थमा जिउनुपर्छ। काल्पनिकतामा जोड दिएर पो हुन्छ के ? क्षणिक आत्मसन्तुष्टि ! तर यसले लामो समय जीवन दुखाउँछ। जिन्दगीलाई गहिरो सोचाइमा गुम्साउनुको अर्थ जिन्दगीलाई सजाय दिनु हो भन्ने मेरो मनको ठहर छ। समकालीन समय र परिस्थिति बुझ्ने र चल्ने हो। तर पनि इमानमा खोट आउन र नैतिकता च्युत हुन भने दिन्नँ।
आखिर के छ र जिन्दगी ! उही आशाको आभा छरेपछि उज्यालो देखिन्छ। खुसीको चम्काइ पनि कम्ती चित्ताकर्षक हुँदैन, मात्र खुसी हुन जान्नुपर्यो। यसो भए अभावमा जिउँदा पनि सकस हुन्न। अभावमा जिन्दगी दुम्सीको काँडाजस्तो उमार्न किमार्थ हुन्न है। यति बुझे हुन्छ, जिन्दगी सिक्दासिक्दै सकिन्छ।
लुसुन त भन्थे-‘मर्नेहरूबाट बाँचेकाहरूले सिकेनन् भने उनीहरू पनि वास्तवमै मरेका नै हुन्।’
साँच्चै हो क्यारे! पछिल्ला दिनतिर फर्कें। हजुरबुबाले धेरै कुरा सिकाउनुभयो। मेरो भविष्यको चिन्ता गरेर जिन्दगीलाई नौला रङ दिन सिकाउनुभयो। आफूले भोगेका दुःखका भँगालाहरूमा छोरानाति नफसून्, सायद यही थियो उहाँको चाह। फेरि मलाईचाहिँ ससानो खुुसीले पनि बाँच्ने जिजीविषा पलाउँछ। खै किन हो कुन्नि ! रहर जागृत हुन्छ। नत्र जिन्दगीको यात्रा त सक्किगो नि। मलाई थाहा छैन, हुरीले पहाड कहाँ छेकेको छ ! कहिलेकाहीं अवरोध आउलान् तर दीर्घकालीन हुन्न नि।
त्यसैले म त भन्छु, जीवनको यो घेरालाई सत्चरित्रले सजाऔं, यथार्थवादी जीवनदृष्टि बनाऔं। गलत प्रवृत्तिका हाँकसँग सामना गरौं। अस्तव्यस्तताबाट अलिक माथि उठौं। आत्मसम्मान बढ्ने गरी बाँचौं। सबै परिवेशको सूक्ष्म निरीक्षण गरौं। अनुभूतिहरू दमित हुन नदिऔं। स्वयंलाई हीन, कमजोर र अयोग्य ठानेर जिउँदा जिन्दगीको अर्थ रहन्न।
मनोवैज्ञानिक केरेन हार्नीले भनेजस्तो मानवीय मनोदशाका विविध रूपको स्थितिमा विश्लेषण गरी जिन्दगी सुखद हुने तरिका खोजौं। यो त तपाईंहामीभित्र नै छ। यसमा मानसिक दुविधा पाल्नु जरुरी छैन। माया जोगाएर जिन्दगी जिउँदाको मजै बेग्लै नि।
जीवन मायावी हुन्छ, निस्सार होइन। निस्सार देखियो भने त जीवन हामीबाट पलायन हुन्छ। त्यसैले निरिह नबनौं। हाम्रा संस्कार, संस्कृति, नैतिक मूल्यमान्यतासहित अगाडि बढौं। अरू कुरातिर ध्यान र रुचि नराखौं। यसैमा जिन्दगी जिउनुको सार्थकता बाँचेको हुन्छ। तर जिजीविषा पाल्नुपर्छ, उत्साह र उमंगको बत्ती बाल्नुपर्छ। उज्यालो छाउँछ जीवनमा। भावनामा मात्र बगेर के काम ? यथार्थमा जिउनपर्छ जिन्दगी।
सुखका बत्तीहरू बाल्ने यत्न गर्नुपर्छ। प्रयास जारी राख्नुपर्छ, जतिन्जेल सार्थकता मिल्दैन। हजारौं दुःखका फसलहरू निचोरेर सन्तुष्टिको अमृतरस बटुल्न सके जिन्दगीको मजा आउँछ। अभावको घेरा तोडेर निस्कने प्रयासले जिन्दगी सुखद हुन्छ।
मानिसले जीवनसँग हार्नु हुँदैन जस्तो लाग्छ। हारेपछि त जीवनको इहलिला सक्किगो नि। बरु जतिन्जेल सकिन्छ जुधूँ, जिन्दगीका अप्ठ्यारा खोचहरूसँग। अनि जुधूँ, साँघुरा तर जब्बरे असामाजिक भावहरूसँग। सहज र सुखप्राप्तिका अनेक भावहरू मनमा तरंगित हुन्छन्। जीवनलाई फन्को मार्छन् तिनले। अनि सपाट भाव छर्छन्।
भन्छन्, तँ आँट म पुर्याउँला, के भो त। आखिर जीवन अँगाल्नु नै छ जसरी तसरी पनि। फेरि मन भन्छ दुःख र सुख स्वाभाविक छ। यी दुवै समपूरक र परिपूरक पनि हुन जिन्दगीका। म सहमत हुन सकिरहेको छैन किनकि मलाई यावत सुख चाहिएको छ। दुःखको भारी बोक्ने कहाँ फुर्सद छ र मलाई। सुखका धापहरूमा गाडिनुको मजा छोडेर को फसोस् दुःखमा? तर भनेर मात्र नहुने, भावना मात्रले पनि केही नहुने।
सुखका गुराँस र बुकी अनि हाँसिरहेको गुलाफ फुलाउने रहर कहिलेकाहीं विवशताको जब्बरे कन्टेनरमा घेराबन्दीमा पर्छ र ओइलाउँछ। असरल्ल पर्छ जिन्दगी र दुःखका पहाड चढ्न विवश बन्छ, पसिनाको बुँदको सुगन्ध बगाउँदै पिठ्युँमा आशावादिताको गहु्रंगो भारी बोकेर।
कृतज्ञता जाहेर गर्छ जिन्दगी आफ्नाहरूको खोइरोप्रति। हामीमा आरिस भाव कति साह्रो धेरै हो? फलानो त यस्तो भएछ। अब हामीलाई के गन्थ्यो? के टेथ्र्यो ? हामी सबैको छातीमा अङ्कित नेपाली स्वभाव हो यो। यस्तै के के सम्झन्छु अनि फेरि बोझिलो लाग्छ जिन्दगी। सुखद जिन्दगीको कल्पना फगत कल्पना मात्र होला जस्तो। असफलताले आफूलाई घेरिएको पाउँछु। प्रश्न गर्छ मन आफैंसँग।
अभाव, रोग, बिछोड, गरिबी, मृत्यु र अर्थी, यस्ता शब्द किन लेखिए होलान्? किन शब्दकोशमा संकलित भए होलान्? मृत्यु नभएको भए आहा ! फेरि कुरा खेल्छ मृत्यु अनिवार्य सर्त हो र त जिन्दगीको महत्त्व छ। नत्र त के अर्थ जिन्दगीको ! मन मुसुक्क मुस्कुराउँछ। यही हो शाश्वत सत्य मृत्यु। तब त भाव पनि नियन्त्रित हुन्छ मेरो मनको। बाँकी जिन्दगीलाई तापिलो र रापिलो बनाउन अझै बढी सुखमय हुन आशावादिताको एक झोक्का आउँदा शरीरले खिचोस्। अनि सन्तुष्टिको धुनी तापेर बसूँ।
मनको आँगनमा उत्साहको भाव जगाऊँ। गोहीको आँसु बित्थामा होस्, उ पर क्षितिजमा आशावादिताको घाम उदाएको छ। मनको आँखा पनि खोलिएको छ। हृदयमा ढकमक्क गुराँस र बुकी फुलेको छ। आनन्दै आनन्दका प्रतिध्वनिहरूले मनको कुनामा संगीत गुन्जिएको छ। अन्त्यमा, अनुभूतिका उत्ताल तरंगमा रंगिएका मनका भावहरू आशावादी भएर झोलुङ्गोमा झुन्डिँदै झुन्डिँदै सकिन्छ जीवन, पत्तै नपाई।
प्रकाशित: १९ माघ २०८१ ०६:५७ शनिबार