पर्यटन विभागले सन् २०२५ का दुई पर्यटकीय यामका लागि २२७ सम्पर्क अधिकृत (लिआइजन अफिसर) को नाम सार्वजनिक गरेको छ। ६ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा जाने समूहमा एक सरकारी कर्मचारीलाई सम्पर्क अधिकारीका रूपमा अनिवार्य रूपमा लैजानुपर्ने कानुनी व्यवस्था छ। हिमाल आरोहण गर्ने समूहले आरोहण गरे/नगरेको प्रमाणित गर्ने अधिकार ती अधिकृतलाई हुन्छ।
हिमाल आरोहण गरेको प्रमाणित गर्ने कर्मचारी आधार शिविरसम्म पुग्छ। विभागका सूचना अधिकारी लीलाधर अवस्थीका अनुसार सन् २०२४ का दुई पर्यटकीय मौसममा ७६४ जनाले सफल आरोहण गरेका थिए। प्रायः सम्पर्क अधिकृत चयन गर्दा पहुँचवाला कर्मचारीलाई मात्र मौका दिएको आरोप लाग्दै आएको छ।
पहुँच नभएकाहरूले सम्पर्क अधिकृतको तालिम लिए पनि अवसर नपाउने गुनासो रहने गरेको छ। सम्पर्क अधिकृतले आरोहण दलबाट एकपटकमा तीन हजार अमेरिकी डलर (झन्डै साढे तीन लाख रूपैयाँ) माथि सुविधा पाउने व्यवस्था छ। यसबाहेक दैनिक ५०० रूपैयाँ भत्ता पाउँछन्।
हिमाल आरोहणका क्रममा सम्पर्क अधिकारी बिरामी भयो भने या लेक लाग्यो भने बिच बाटाबाटै फर्कन सक्ने व्यवस्था छ। यही व्यवस्थालाई दुरुपयोग गर्दै हिमाल आरोहणमा जाने केही आरोहणका क्रममा एक/दुई दिन मात्र फिल्डमा बसेर ‘बिरामी’को बहाना बनाउँदै बिच बाटाबाटै फर्कन्छन्।
यसरी फर्के पनि उनीहरूको सुविधा यथावत् हुन्छ। सम्पर्क अधिकृत छनोट गर्ने अधिकार पर्यटन विभागलाई हुन्छ।
विभागले हरेक वर्ष नाम पठाउन सबै मन्त्रालयसँग सिफारिस माग्छ तर चयन गर्दा पहुँचवालाले मौका पाउने गरेको आरोप छ। विभागका सूचना अधिकारी अवस्थीले भने विभागले अधिकृत छनोट गर्दा भेदभाव नगर्ने बताए।
‘हामीले प्रत्येक निकायबाट कम्तीमा दुई जना वरिष्ठ कर्मचारीका नाम सिफारिस माग्ने गरेका छौं। सिफारिस गरिएका नामबाट छनोट गर्छौं,’ उनले भने, ‘विभिन्न निकायबाट सिफारिस गर्ने बेला नै भेदभाव भयो भने त्यसमा हामी जिम्मेवार हुँदैनौं।’
सम्पर्क अधिकृतले हिमाल आरोहणका लागि आठ दिने तालिम लिनुपर्ने र डाक्टरबाट स्वस्थ्य प्रमाणित गर्नुपर्ने व्यवस्था छ। यसमा उमेरको हदबन्दी भने राखिएको छैन। २०६७ सालदेखि राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिसमा सम्पर्क अधिकृत पठाउने व्यवस्था गरिएको छ। आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूले पनि यसको फाइदा उठाउने गर्छन्।
वर्षमा दुई याम हिमाल आरोहण गर्ने गरिन्छ। चैत, वैशाख र जेठमा वसन्त आरोहण (स्प्रिङ सिजन) र असोज–कात्तिकमा शरद् आरोहण (अटम सिजन) सुरु हुने गर्छ। अहिले वसन्तकालीन आरोहणको मौसम सुरु भएको छ। वसन्त ऋतुमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा, अन्नपूर्णलगायत हिमालमा आरोहण हुन्छ भने शरद् ऋतुमा मनास्लुलगायत हिमाल पर्छन्। एउटा समूहले हिमाल आरोणका लागि २० देखि ७५ दिनसम्म लगाउने गर्छन्।
प्रकाशित: १९ माघ २०८१ ०७:१९ शनिबार