१७ असार २०८१ सोमबार
image/svg+xml
कला

विष्णु क्या. नारायणप्रसाद राईको लाहुरे लोकार्पण

साहित्यिक पत्रकार संघले प्रज्ञाभवनमा क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’ को लोकार्पण गरेकाे छ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कृतिकाे लोकार्पण गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा अधिवक्ता जीवनकुमार राईले सम्पादन गरेको लाहुरे कृतिको समीक्षा वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री किराँतीले मानव जीवनको तीन आविष्कार आगो, खेती र अक्षर भएको र विश्वमा बर्सेनि चालिस लाख विभिन्न पुस्तक छापिने गरेको भन्ने तथ्याङ्क पाइएको सन्दर्भमा लेखक राईको यो पुस्तकले पनि महत्त्व राख्ने बताएका थिए।

कृतिका समीक्षक प्राडा सुरेन्द्र केसीले तत्कालीन ब्रिटिश सरकारबाट सुरू भएको लाहुरे संस्कृति हालसम्म कायम रहेको छ भन्दै हाल रसिया र युक्रेनमा सेनामा पुग्ने नेपालीहरूको दृष्टान्त दिंदै नेपाली-नेपाली बिच नै लडाइँ गराइरहेको बताए।

पुस्तकका सम्पादक जीवनकुमार राईले ब्रिटिश सरकारले गोर्खाली सेनालाई पहिलो र दोस्रो विश्व युद्धमा भरपुर प्रयोग गरेको बताउँदै गोर्खाली सेनाकै कारण ब्रिटिश र नेपालको बिच मैत्रीपूर्ण सम्बन्ध रहेको र गोर्खाली सेनाले नै विश्वमा नेपालको पहिचान गरेको बताए।

लेखकीय मन्तव्य राख्दै क्याप्टेन नारायणप्रसाद राईले आफूले पढेरभन्दा पनि परेर जानेको यथार्थ बताउँदै जीवनमा भोगेका कुराहरूलाई स्पष्ट राखेको बताएका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ब्रिटिश सरकारले गोर्खाली सेनामा नयाँ भर्नामा समानता देखाए पनि पुरानोलाई भेदभावपूर्ण व्यवहार गरेको बताएका थिए।

कार्यक्रममा साहित्यिक पत्रकार संघकी सदस्य समालोचक डा. शान्ति माया गिरीले लेखकको संक्षिप्त परिचय दिंदै स्वागत मन्तव्य राखेकी थिइन्।

उक्त कार्यक्रममा लेखकका मित्र मेजर भुवनसिंह लिम्बूले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा क्याप्टेन नारायणप्रसाद राई र पुस्तकका सम्पादक जीवनकुमार राईलाई सम्मान पनि गरिएको थियो।

यस्तै प्रमुख अतिथि मन्त्री सुदन किराँती, समीक्षक प्राडा सुरेन्द्र केसी, मेजर भुवनसिंह लिम्बू, कार्यक्रम सञ्चालक प्रमिला राई, जेष्ठ नागरिक श्रीमती चन्द्रकुमारी राई, पुस्तकका भाषा सम्पादक भावेश भुमरी, समालोचक डा. शान्तिमाया गिरी लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो।

यस्तै साहित्यकारहरू हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, शेखर ढुंगेल (अमेरिका), गोमा रेग्मी (पोर्चुगल), विष्णु थापा (अमेरिका), नीता श्रेष्ठ, डा. बुनु दाहाल, सुवासचन्द्र ढुंगेल, हरि गिरी लगायतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ, प्राडा गोविन्दमान सिंह कार्की, यज्ञराज उपाध्याय, मदन राई, मन्जिला अनिल, नन्दु उप्रेती, प्रकाश घायल, ध्रुव मधिकर्मी, लाक्पा फुटी शेर्पा लगायतको उपस्तिथि रहेको थियो।

प्रकाशित: १६ पुस २०८० ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App