२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
कला

दुःखको उपचार खोज्ने कि आनन्दको बिउ रोप्ने?

चिन्तन

आजका मानिसको एउटै खोजी छ-आनन्द कसरी प्राप्त गरूँ? विकसित देशका मानिस हुन् वा अल्पविकसित, कुनै धर्मका मानिस हुन् वा कुनै पद र सम्मानप्राप्त मानिस, सम्पन्न व्यापारी अर्थात् प्रख्यात वैज्ञानिक होस् वा दैनिक गुजारा गरेर जीवन चलाउने मानिस, सबैको लक्ष्य हुन्छ-आफ्नो कर्मका माध्यमबाट जीवन आनन्दले बाँच्ने।

विज्ञान या पश्चिमा विकसित मनस्थिति र ज्ञानले पहिला दुःख निर्मूल गर्नुपर्छ भन्ने उपाय खोज्छ अर्थात् उसको सबै ज्ञान दुःखको सेरोफेरोमा आधारित छ। दुःख निर्मूल गर्नका लागि त पहिला दुःख नै खोज्नुपर्‍यो।

यो स्वाभाविक पनि लाग्छ। तर, पूर्वीय दर्शन अर्थात् भगवान् बुद्धदेखि लिएर जति पनि सन्त थिए, सबैले पहिला जीवनमा आनन्दको बिउ खोज्ने उपाय सुझाउँछ।

आनन्द कहाँ छ? त्यसको खोजी गर्छ र त्यसमा स्थित हुन सिकाउँछ। पश्चिमा विज्ञानले रोगको उपचार खोज्छ भने पूर्वीय मनोविज्ञानले रोगै लाग्न नदिने उपाय बताउँछ।

पश्चिमा ज्ञान लिन चाहनेहरू पहिले जीवनमा दुःख पाएर, असफल भएर तनावमा गएपछि मात्र साधनाको बाटो खोज्न थाल्छन् भने पूर्वीय मनोविज्ञान जान्नेले दुःख महसुस गर्नुअघि, तनावमा जानुअघि, जीवनलाई असफल घोषित गर्नुअघि साधनाको बाटो रोज्छन्। त्यसैले त बुद्ध, एक राजकुमार, आफ्नो दरबार, वैभव त्यागेर सत्यताको खोजीमा निस्कनुभयो।

दुःख पाउनुअघि नै आन्तरिक सुखको खोजमा निस्किनुभयो। ओशो भन्नुहुन्थ्यो-अध्यात्म र साधना धनी र सम्पन्न व्यक्तिका लागि हो। भौतिक रूपमा सम्पन्न तर आत्मिक रूपमा गरिब व्यक्तिले अध्यात्म र साधना बुझ्न सक्दैन। त्यसैले मेरा सन्यासी सम्पन्न व्यक्तिहरू मात्र हुनेछन्। ओशोले इंगित गर्नुभएको सम्पन्नता बाहिर सम्पन्न र भित्र बुद्धजस्तो शान्त।

आयुर्वेद र औषधी विज्ञान

पश्चिमा विज्ञानले दुःखबाट सारा रोग सिर्जित हुन्छ, त्यसैले उसलाई उपचार गर्नुपर्छ भनेर औषधी विज्ञान अर्थात् मेडिकल साइन्सबाट विकासको मोडल अपनायो। पूर्वीय मनोविज्ञानले रोग र औषधी छोडेर आयुर्वेद अर्थात् आयुको वेद सिर्जना ग¥यो। जीवनलाई विधायकताबाट हेर्नु वेद हो।

रोग लागेपछि मात्र औषधी विज्ञान आवश्यक हुन्छ र प्रयोगमा आउँछ। तर, रोग नलाग्दा पनि आयुर्वेद मानिसको जीवनमा प्रयोगमा आउँछ। सबै कुरा भएर पनि केही अतृप्ति अझैं बाँकी छ, हात खाली छ भने त्यतिबेला पूर्वीय मनोविज्ञान काम लाग्छ।

यो जीवन मात्र नभएर परम जीवन र सनातन धर्म एवं शाश्वत जीवनको अर्थ पूर्वीय मनोविज्ञानले अनुभवका आधारमा बताउँछ। यस ‘धम्मो सनंतनो’को मर्म यही हो। त्यसैले जीवनको गुणनफल बढाउने काम आयुर्वेदले सिकाउँछ।

औषधी विज्ञानले काँडा निकाल्ने उपाय बताउँछ, आयुर्वेदले काँडाबिचको फूलको सुगन्ध अनुभूति गर्ने कला सिकाउँछ। दुःखलाई निकाल्नु समस्याको उपाय होइन। दुःखलाई जान्दै दुःखभित्र सुख खोज्नु जीवन हो। जसको जीवनमा दुःख छैन, प्रतिकूलता छैन, त्यो जीवन सुक्खा जीवन हुन्छ। जसले दुःख र प्रतिकूलतालाई जान्दै सुखको अनुभूति गर्न सक्छ, त्यो साधनारूपी जीवन हो।

दुःख नहुनु आनन्द होइन, दुःख र सुखबिचको अनुभूति आनन्द हो। बिरामी नहुनु मात्र स्वस्थ हुनु होइन, जीवनमा उमंग र प्रफुल्लता महसुस गर्दै कीर्तनमा सामेल हुनु स्वस्थताको लक्षण हो।

कीर्तन/नृत्य बाहिरको कला र प्रयास होइन, यो त भित्रबाट प्रस्फुटन हुने उमंग र रहस्यको परिणाम हो। अहंकार–त्यागका परिणति हुन्-नृत्य, संगीत अनि भजनकीर्तन। त्यसैले त पश्चिमा विज्ञानले प्रयोगशालाको पुष्टिलाई मात्र परिणाम मान्छ, रहस्यको विज्ञान उसलाई थाहा छैन। अस्तित्वको रहस्य आयुर्वेदले अनुभूत गराउँछ।

संस्कृति र अध्यात्म

आफ्नो सनातन विरासतलाई आत्मसात गर्नु संस्कृति हो। संस्कृतिलाई निरन्तरता दिनु, सन्त पुरुषका ग्रन्थ र मान्यतालाई पुज्नु, यज्ञ-अनुष्ठानलाई आदर गर्नु, गीत–संगीतलाई मान्यता दिनु संस्कृति हो। संस्कृतिमा अरूलाई मान्यता दिइन्छ। तर स्वयंको प्रबन्धन अध्यात्म हो।

आत्माको विज्ञान अध्यात्म हो। आदि आत्मा स्वयंसँग जोडिनु अध्यात्म हो। अरूसँग जोडिनु संस्कृति हो। स्वयंको खोज अध्यात्म हो। भौतिक विज्ञानले पदार्थको खोज गर्छ।

आत्माको विज्ञान अध्यात्म हो। पश्चिमा विज्ञान र अध्ययनमा संस्कृतिलाई जोड दिइएको छ तर पूर्वीय मनोविज्ञानमा अध्यात्मलाई स्वयं जीवनको आधार मानिएको छ।

सन्त दादुले भनेझैं सबै सयाने एकमत, उनकी एकै जात, जे पहुंचे ते कहि गए, तिनकी एकै बात। अध्यात्ममा सबैको मत, सबैको विचार, सबैको विज्ञान एकै हुन्छ। संस्कृति सबैको अलग अलग हुन सक्छ तर अध्यात्म सबैको एक हो।

 अध्यात्मको मर्म सबैका लागि एक हो। गुरु–शिष्य परम्परा अध्यात्म हो। बहिर्जगत् र अन्तर्जगत्को भेद अर्थात् अन्तर्जगत्मा के भइरहेको छ, त्यो देखाइदिने काम गुरुले गर्छन्। ब्रह्म ज्ञानको गुह्य रहस्य गुरुबाट मात्र अनुभूतिमा आउँछ। ब्रह्मको यादमा जिउनु भक्ति हो, जसका गुरु छन्, उसले मात्र भक्तिको अनुभूति गर्न सक्छ।

ऊर्जाको मापन औषधी-विज्ञान र आयुर्वेद

आजभन्दा तीन सय वर्ष पहिले व्यक्तिको रक्तचाप नाप्ने चलन थिएन। मानिसलाई लाग्थ्यो कि रगत व्यक्तिको शरीरमा जम्मा भएर बसेको छ र त्यसले नै शरीर बचाउँछ।

रक्त कोष-कोषमा सञ्चार हुन्छ भन्ने ज्ञान थिएन। यसको अर्थ औषधी-विज्ञानले आफ्नो प्रयोगात्मक अभ्यास सुरु गरेर मात्र मानव शरीरमा रक्त सञ्चार भएको त होइन।

जसरी आधुनिक औषधी-विज्ञानले मानिसको रक्त सञ्चारको गति मापन गर्ने गर्छ र त्यसअनुसार स्वस्थ या बिरामी पत्ता लगाउँछ, त्यसैगरी आयुर्वेदले सयौं वर्ष अगाडिदेखि मानिसको शरीरमा रक्त सञ्चारको गति मात्र होइन, श्वासको गतिले पनि स्वस्थ र बिरामी थाहा लाग्छ भन्ने ज्ञान दिएको थियो।

नाडी छामेर व्यक्तिको स्वास्थ्य र मनोदशा पत्ता लगाउने, ऋषिमुनिहरूले अभ्यास गर्ने श्वासप्रश्वासको कला, विपश्यना र ध्यानको कला यही शरीरमा सञ्चार हुने वायु, रक्त लगायतका रसायनको जागरणपूर्ण अभ्यास थिए।

हाम्रा ऋषिमुनिले व्यक्तिको श्वास छिटो, ढिलो, मध्यम कसरी चलेको छ? उसमा शान्ति, प्रेम र क्रोध के छ? थाहा पाउँथे।

यथार्थ यही हो कि औषधी–विज्ञानले शरीर, श्वास र रक्तसम्म पहिचान गरेर औषधी प्रयोगबाट मानव स्वास्थ्यमा ख्याल दियो तर प्राचीन कालदेखि आयुर्वेदले प्राणायाम, विपश्यना, आनापानसति, ध्यान र योगको कलामार्फत प्राणको पहिचान गरेको थियो।

प्राणयोग श्वास र शरीर दुवैलाई स्पर्श गर्दै ब्रह्मसम्म पुग्छ। श्वासको लयबद्धताकै आधारमा व्यक्ति परमसत्तासम्म पुग्न सक्छ। प्राणयोगको अभ्यास गहन हुँदै गएर नै आत्मयोगको ज्ञान प्राप्त हुन्छ।

आउँदै जाँदै गरेको श्वास हेर्ने लयबद्धता, जहाँ कुनै क्षण ठहराव पनि आउन सक्छ। श्वास कति गहिरो र होसपूर्ण हुन्छ, यसको गतिलाई कसरी कायम राख्ने भन्ने आफ्नो नियन्त्रणमा हुन्छ।

त्यो ठहरावमा परम आनन्द, परम शान्ति र परम रहस्यको अनुभूति हुन्छ। बाहिरी कोषिकाले मात्र यो सम्भव छैन।

समर्पण र विश्वासको अभ्यास, आफ्नै श्वासको गतिशीलता र लयबद्धताले गहन अनुभूतिमा पुर्‍याउँछ। यही प्रयोगले व्यक्ति मन र विचारभन्दा माथिल्लो तहमा छु र हुँको अवस्थामा उपलब्ध हुन सक्छ।

मन र विचारको पातलो पर्दा हट्नासाथ व्यक्ति सत्यता र रहस्यको नजिक पुग्छ। यही अभ्यासले वासना र अहंकार तिरोहित हुन्छ र व्यक्तिले परम आनन्दको अनुभूति लिन्छ।

अमृतरूपी रहस्य उपलब्ध हुन सक्छ। अहंकार नै अज्ञान हो। अनुभूति नै महाज्ञान हो। स्वज्ञान नै असली ज्ञान हो। बाँकी सबै जानकारी र परिचय हुन्, जुन अनुभवसिद्ध भएका हुँदैनन्। निर्विचार, निराकार, निद्र्वन्द्व ब्रह्मज्ञानको अनुभूति मानिसले नै गर्न सक्छ। यो विज्ञान आयुर्वेदले सयौं वर्ष पहिले मनुष्यलाई दिएको छ।  

प्रकाशित: १४ पुस २०८० ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App