१२ असार २०८१ बुधबार
image/svg+xml
कला

विवाह पञ्चमी महोत्सवको चौथो दिन: आज तिलकोत्सव मनाइँदै

जनकपुरधममा साताव्यापी रूपमा मनाउने रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव मनाइँदै छ।

तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट पाहुर राम मन्दिर पठाइन्छ। यसपालि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव करिब एक हजार (भार) पाहुर भार लिएर राम मन्दिरमा पुग्नेछन्।

दिउँसो दुई बजे जानकी मन्दिरबाट भार बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुग्ने जानकी मन्दिरका पुजारी ऋषिकेश दासले जानकारी दिए।

तिलकोत्सव राम मन्दिरको प्रांगणमा मध्यान्हदेखि सुरु हुने छ। तिलकोत्सवका लागि राम मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ। सो समारोहमा प्राचीन मिथिलाका राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरीबीच सम्धी मिलन हुनेछ।

यसअघि विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो। त्रेतायुगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ। 

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ।

सप्ताहव्यापी रूपमा मनाउने रामजानकी विवाह महोत्सवको पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौं दिन अर्थात् पुस १ मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका पुजारी ऋषिकेश दासले जानकारी दिए।

भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौं श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन्।

प्रकाशित: २९ मंसिर २०८० ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App