२५ श्रावण २०७७ आइतबार
कला

आकाशमा धुलो धुवाँको संगीत

काठमाडौं
गार्इ पाल्यो रेलीमाई बनको बाघलाई
छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई...
यो गीत एक समय नेपाली घर आँगनमा अत्यधिक गुञ्जन्थ्यो । दोस्रो विश्वयुद्धमा चलेको बम बारुदको आवाज पश्चिमा मुलुकको आकाशमा गर्जंदै थियो । आवाजले ध्वनि प्रदूषण बढाएझैं बम बारुदको धुवाँले वातावरण पनि नष्ट गर्दै थियो । त्यो बेला अहिलेका संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी ठिटौले थिए । तत्कालीन प्रोफेसर भीमबहादुर पाण्डेले औधोगिक सर्वेक्षणका लागि बनाएको टोलीमा जोशी पनि सदस्य थिए र तनहुँ, लमजुङतिर सर्वेक्षणका लागि खटिएका थिए।

पश्चिमा देशमा विश्वयुद्धका बेला बम र बारुदको विस्फोट हुँदै  गर्दा नेपालमा पनि त्यसको पीडायुक्त संगीत बज्न थालेको थियो । युद्धमा जाने सेनामा भर्ति भएका कारण गाउँ तन्नेरी विहीन थियो । ‘गाउँमा महिला बढी थिए,’ जोशीले सम्झे, ‘अझ तिनले गाउने पीडाका गीतले जो सुकैको मन रुवाउँथ्यो ।’ शनिबार स्वच्छ हावाको लागि अग्रजसँग त्यो बेलाको हावा र अहिलेको हावा विषयमा नागरिक दैनिकका पूर्व प्रधानसम्पादक नारायण वाग्लेले गरेको संवाद कार्यक्रममा जोशीले त्यो बेलाको स्वच्छ हावामा विश्वयुद्धको पीडा मिसिएको उल्लेख गरे ।
विश्वयुद्धमा गएका श्रीमान् तथा छोरा सम्झदै महिलाले गाएका गीतकै कारण त्यो बेला आफूले काम गर्ने प्रेरणा पाएको जोशीले सुनाए । पहिलो पटक राजधानी खाल्डो छाडेर बाहिरी जिल्ला पुगेका उनले तिनै महिलाको पीडा देखेपछि आफूले घर छाड्दाको पीडा भुलेका थिए।

जोशीका अनुसार ‘के खायो रेलीमाई वनको जुरेलीले, के बजायो धुन यस्तो रेलीमाई तिम्रो मुरलीले’ भन्दै श्रीमान् लडाइँमा गएपछि एक्लिएका महिलाका स्वर घाँसपात गर्दागर्दै हावामा विलिन हुन्थे । त्यस्तैगरि, न्याउली रुँदा पनि आफन्तहरू त्यो न्याउलीभन्दा आफू बैरागी रहेको तुलना गरेर गीतबाटै पीडा पोख्दथे । देउरालीमा बनेका वरपिपलको चौतारीमा घाँसको भारी बिसाउँदै गाइने ती गीतहरू पिपलको पात फरफर बज्ने स्वच्छ हावासँगै बहने गरेको अनुभूति जोशीले सुनाए । ‘पीडा पहिले जस्तै भए पनि पोख्ने वनपाखा र वरपिपलको चौतारो कहाँ पाउनु ?’ जोशीले भने । मनको पीडासँगै हावामा धुलो धुवाँको संगीत भरिँदै गएको जोशीले सुनाए।

राजधानीमै पनि पछिल्लो समय बढेको धुलो र धुवाँ प्रदूषणका कारण आफूहरूजस्तो वृद्धवृद्धाले मन विसाउने थलो नपाएको दुखेसो उनले पोखे । स्वच्छ हावा केवल हावा मात्र नभएर सांस्कृतिक र मानसिक चिन्तन छर्ने चेतनाको स्रोत रहेको बताउँदै उनले गौतम बुद्धले पिपलकै रुखमुनी ज्ञान पाएको बताए।

कार्यक्रममा सहभागी अर्का जेष्ठ नागरिक डा. मृगेन्द्रराज पाण्डेले उतिबेला घरभित्र सीमित रूपमा रहेको दूषित वातावरण अचेल धुलो र धुवाँको संगीतले भरिपूर्ण सिंगो सहरमा परिणत भएको बताए । ‘साँधुरा घरमा बालिने धुवाँको मुस्लोले जसरी घरपरिवारको स्वास्थ्यमा असर गर्दथ्यो,’ उनले आफ्नो अनुसन्धानमा भेटिएको कुरा बताए, ‘अहिले राजधानीको धुलो धुवाँयुक्त  हावाको संगीतले हरेक आम नागरिक पीडित भइरहेका छन् ।’ बाह्य आकाशको प्रदूषणयुक्त त्यो वातावरण हटाउन कोही सक्रिय नभएका प्रति उनले रोष प्रकट गरे।

अर्का पाका व्यक्तित्व हिमालयशमशेर राणालाई पनि राजधानीको आकाशमा फैलिएको प्रदूषणयुक्त हावाको संगीत मन परेको छैन । ‘पहिले पहिले चार बजे उठेर घरभित्रको थोरै फोहर हावाबाट धेरै सफा हावा खान जाने चलन थियो,’ राणाले आफ्नो अनुभव बताए, ‘अहिले घरभित्रैको हावा बरु केही सफा होला बाहिरको हावा खाने त के कुरा । हावाको आवाज सुन्न पनि मन नलाग्ने भएको छ ।’ हावामा माटो मात्र हैन डिजेलको धुवाँ र अनेक खालका केमिकल मिसिएकाले पनि हावा खान र यसको वेग सुन्न लायक नरहेको उनको कथन थियो।

सहजकर्ता वाग्लेले हामीले फेर्ने सासको वास्ता गरे पनि प्रकृतिले फेर्ने हावाको वास्ता मानिसले नगरेकै कारण अहिले हावाको रूप नै फेरिएको औंल्याए।

प्रकाशित: ७ माघ २०७४ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App