२०२० को दशकको मध्यतिर गाउँमा रेडियो भन्नु विशेष सोख र महत्वको वस्तु थियो। घरैनेरको गारोको डिलमा बाटोतिरको ‘रमिता’ हेर्न बसेका बेला निकै तलसम्म देखिने ठाडो, दम्स्याइलो बाटोमा रेडियो बजेको सुनियो भने स्वतः त्यसले केटाकेटीहरूको ध्यान खिच्ने गथ्र्यो। गाउँको स्कुलका गुरु पद्मप्रसाद दाहाल कहिलेकाहीं ठुलो आवाजमा रेडियो घन्काउँदै उकालो ओरालो गर्थे।
त्यसरी उनी प्रायः रेडियो बजाउँदै तलमाथि गर्दा कहिलेकाहीं सुन्ने गरेका र सुन्दासुन्दा केही पंक्तिहरू सम्झनामा पनि रहन थालेका गीतहरूमध्ये एउटा थियो-‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा...।’ (नारायण गोपाल र दिलमाया खातीको संयुक्त गायन, रचनाः रत्नशमशेर थापा) त्यस्तै अर्को गीत पनि उसैगरी मास्टरको काँधमा झुन्डिएर बज्ने रेडियोबाटै सुनेको हुँ-‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा...’ (रचनाः भूपी शेरचन)।
ती गीतका स्वर कसका थिए, त्यसबेला पत्तो पाउने कुरै भएन। निकैपछि मात्र गायकको नाम थाहा भयो, गीतकारका नामहरू भने अझै पछि मात्र। गारोमा बसेका बेला वा चउरमा उफ्रिरहेका बेला रेडियोमा अरू गीतहरू बजेका सुनिन्थे, तीमध्ये कुनैकुनैका केही पंक्तिहरू पनि सम्झनामा रहन्थे।
जे होस्, नारायण गोपालको स्वरसँग अलि पछि हाई स्कुल पढ्दासम्ममा केही न केही परिचित हुन थालेको थिएँ म। रेडियोभित्र राम्रा राम्रा स्वर भएका ससाना मान्छे बसेर बाजा बजाउँदै गीत गाउँछन् होला भन्ने निर्बोध चेतनाबाट उठ्दै गीत वा अन्य कार्यक्रमहरू रेकर्डिङ गरेर प्राविधिक रूपमा अनेक तारताम्य मिलाएपछि मात्र रेडियोसेटमा बज्न थाल्छन् भन्नेसम्मको ज्ञानयात्रामा पुग्न समय लाग्नु स्वाभाविकै थियो।
बिस्तारै मनपर्ने गीतका गायक र रचनाकारहरू कतिपयको नाम पनि सम्झिन थालियो। अब भने नारायण गोपाल सम्झनाबाट हराएनन्। रेडियोले नामै नभने पनि उनको स्वर छुट्याउन सक्ने भइसकेको थिएँ म हाई स्कुल पढ्दासम्ममा।
बाल्यकालका धमिला स्मृतिहरू उघ्रिँदै छन् यसबेला। आम नेपालीसरह म उनका स्वरको श्रोता मात्र थिएँ र उनलाई भेट्ने कल्पना गरेकै थिइनँ। एउटा अज्ञात श्रोता, सांगीतिक ज्ञान र चेतनाबाट पनि टाढै।
मोरङ कलेजमा २०३५/३६ सालतिर पढ्दा खाली पिरियडमा एकजना मित्र रामप्रसाद पोखरेल बिस्तारै डेक्स बजाएर त्यसबाट संगीतको ताल निकाल्दै कहिलेकाहीं ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ...’ (रचनाः कालीप्रसाद रिजाल) भन्ने बोलको गीत गाउँथे।
खाली पिरियडमा उनी प्रायः कक्षाकोठाको पछिल्तिर बसेर दुई/चार गीत गाउँथे। तीमध्ये कुनै कुनै नारायण गोपालको स्वरका गीत पनि हुन्थे। उनको स्वर निकै राम्रो थियो। हामी उनको स्वर सुनेर मुग्ध हुन्थ्यौं र उनलाई अझै गाउन प्रोत्साहन दिन्थ्यौं।
हप्तामा तीनचार दिन नै यस्तो क्रम चल्थ्यो। त्यसबेला आफूसँग डेरामा रेडियो थिएन। कतै हिँड्दा संयोगले सुनिएका बाहेक नारायण गोपालका स्वरको पूर्ण प्रतिलिपित आवाजलाई मैले प्रारम्भमा उनै मित्रको गलाबाट मात्र सुनें। ती गायक मित्रसँग प्रमाणपत्र तहपछि फेरि भेट हुन सकेको छैन। नारायण गोपालको मौलिक स्वरमा गुन्जिएका अरू कैयौं गीतहरू सुन्नबाट म लामै समयसम्म टाढै रहें।
त्रिवि कीर्तिपुर बहुमुखी क्याम्पसमा पढ्न थालेपछि भने उनका गीतहरू राम्रै सुन्न थालियो। सुन्दासुन्दा नारायण गोपालको स्वरका निकै गीतहरू याद हुन पनि थालिसकेका थिए। संगीतकारको नाम नभए पनि रचनाकारको नाम भने याद हुन्थ्यो।
कीर्तिपुरमा उत्तरस्नातक तहको औपचारिक पढाई सकेर नेपाल टेलिभिजनमा प्रवेश गरेपछि भने मलाई नारायण गोपालसँग भेट गर्ने पृष्ठभूमि तयार भयो।
नेपाल टेलिभिजनले २०४५ सालमा ‘नारायण गोपाल स्वर्णिम सन्ध्या’ प्रसारण गरिसकेको थियो। स्वर्णिम सन्ध्याले स्वरसँगै उनको शारीरिक इमेज वा व्यक्तित्वसँग पनि दर्शकलाई राम्रै परिचित गरायो। त्यसअघि उनको प्रत्यक्ष अनुहार टेलिभिजनमा सायद कसैले देख्न पाएका थिएनन्।
२०४६ सालमा म नेपाल टेलिभिजनमा दुइटा साप्ताहिक कार्यक्रमको प्रस्तुति गर्थें। एउटा पहिलेदेखिकै साप्ताहिक कार्यक्रम ‘अभिव्यक्ति’ र अर्को समसामयिक कार्यक्रम ‘आठ बजे’। ‘आठ बजे’ मा अरू साथीहरू पनि थिए। मेरो रुचि मूलतः साहित्य, कला, संस्कृतिका क्षेत्रमा हुने गरेका राष्ट्रिय गतिविधिहरूलाई समेटेर ‘आठ बजे’ बनाउनु थियो। त्यसो त राजनीतिक विषयवस्तुहरू पनि ‘आठ बजे’ का सामग्री हुन्थे, पालोअनुसार म त्यस्ता विषयमा पनि कार्यक्रम प्रस्तुत गर्थें।
स्वर्णिम सन्ध्याका सन्दर्भमा नेपाल टेलिभिजनद्वारा अन्तर्वार्ता लिन गरिएको प्रयासलाई नारायण गोपालले अस्वीकार गरेको कुरा मैले साथीहरूबाट सुनेको थिएँ। उनले नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिन नचाहेका होलान् भन्ने मेरो लख थियो। उनीसँग अन्तर्वार्ता लिन त्यति सजिलो छैन जस्तो मलाई लागेको थियो त्यसबेला।
२०४६ सालको मध्यतिर नारायण गोपाललाई मदन पुरस्कार गुठीद्वारा नवस्थापित २०४५ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो। मैले सोचें- ‘यसै सन्दर्भमा केन्द्रित भई नारायण गोपालसँग अन्तर्वार्ताका लागि किन आग्रह नगर्ने? कोसिस गरेर त हेरौं।’
मैले बुझेसम्म वाङ्मय क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय व्यक्तित्वमध्येबाट उसले पुर्याएको समग्र योगदानलाई मूल्याङ्कन गरी प्रदान गरिने पुरस्कार थियो जगदम्बाश्री। पहिलोपटक नारायण गोपाललाई सो पुरस्कार त्यसै आधारमा प्रदान गरिएको हुन सक्छ।
कसैबाट घरको फोन नं. लिएर उनीसँग सम्पर्क गरें। भाउजू (पेमला गुरुवाचार्य)ले ‘भोलि दिउँसो दाइसँग भेट गर्न म कुरा गरिराखौंला’ भन्नुभयो। भोलिपल्ट दिउँसो म अफिसबाट महाराजगन्ज गएर नारायण गोपालसँग भेट गरें।
सामान्य शिष्टाचारसँगै बधाई दिएँ। बैठक कोठाको वातावरण साधारण थियो। भित्तातिर एउटा टेबुलमा तबला थिए। सँगै भुइँमा हार्मोनियम थियो। भित्तामा एकदुई पारिवारिक र केही उनका फोटाहरू सजिएका थिए। फ्रेममा राखिएका केही प्रमाणपत्र थिए। साधारण सोफा र एकदुई कुर्सी थिए। भर्खरै पुरस्कार दिइँदा उनलाई पहिर्याइएको दुबाको माला पनि भित्तामा झुन्डिएको थियो, जुन ओइलाएकै थिएन।
उनीसँग केहीबेर कुराकानी भयो। म उनका लागि पूर्व परिचित थिइनँ, आफ्नो परिचय दिएँ। उनले मलाई अपरिचितजस्तो व्यवहार गरेनन्। उनलाई पुरस्कार दिइएको सन्दर्भलाई कोट्याउँदै ‘आठ बजे’ का लागि अन्तर्वार्ता दिन अनुरोध गरें।
उनले ‘त्यस्तो बोल्नुपर्ने कुरा त के छ र! तैपनि तपाईंले आएर नै भनेपछि ठिकै छ, भोलि आउनुहोला’ भने।
असाध्यै खुसी लाग्यो। केहीबेर पहिलेसम्मको संकोच हरायो। उनले नाइँनास्ती गर्ने हुन् कि भन्ने लागेको थियो। त्यो पनि हरायो। म झन्डै आधा घण्टा उनको साथमा बसेर कुराकानी गरी बिदा मागेर बाहिरिएँ। घरको अघिल्तिर बेगनबेलीको रातो फूल मुस्कुराइरहेको थियो। म गेटबाहिर गल्लीमा निस्कनुभन्दा पहिले केहीबेर अघि बसेको कोठाबाट हार्मोनियमको धुन सुनिन थालेको थियो। त्यो कुन गीतको धुन थियो, मलाई पत्तो भएन।
भोलिपल्ट दिउँसो क्रयु (प्राविधिक टोली)सहित म उहाँको घर पुगें। छायाकार जीवनाथ सुवेदी र ध्वनि रेकर्डिस्ट गोपाल त्रिपाली थिए। पुरस्कारको सन्दर्भमा १५ मिनेटजति कुरा गरें। त्यसदिन ‘आठ बजे’ मेरो जिम्मामा थियो। छायाङ्कनपछि बिदा भएर अफिस आई स्वर्णिम सन्ध्याको प्रस्तुतिसहितका अन्य दृश्यहरू संकलन गरी एडिटिङ गराएर साँझसम्ममा कार्यक्रम तयार गरें। रिता श्रेष्ठले श्रव्यदृश्य सम्पादन गरिन्।
ठिक आठ बजे ‘आठ बजे’ प्रसारण भयो। ऐतिहासिक महत्व रहने पुरस्कार पाएको सन्दर्भमा नारायण गोपालसँग अन्तर्वार्ता लिई कार्यक्रम निर्माण गरेकोमा भोलिपल्ट तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक नीर शाहले मेरो सराहना गरे। त्यस्तो ठुलो कुरो त केही थिएन तर नेपाल टेलिभिजनसँग संक्षिप्त अन्तर्वार्ताका क्रममा भए पनि नारायण गोपाल जोडिए, पहिलोपटक।
सांगीतिक प्रस्तुतिमा मात्र यसअघि जोडिएका नारायण गोपाल अब केहीबेरकै निम्ति मात्र भए पनि समसामयिक सांगीतिक विचारबाट पनि जोडिए। उनी नेपाल टेलिभिजनसँग मात्र नभई लाखौं दर्शकसँग पनि जोडिएका थिए। त्यो भने महत्वपूर्ण थियो।
प्रथमपटक जगदम्बाश्री प्राप्त क्षणलाई स्मरण गर्दै अन्तर्वार्ताका क्रममा नारायण गोपालले भनेका थिए, ‘हेर्नुस्, यो पुरस्कार पाउनु कुनै ठुलो कुरा होइन, महान् कुरा होइन। तर, मदन पुरस्कार गुठीले एकजना गायकलाई र संगीत क्षेत्रलाई पनि यसरी पुरस्कार दिनु निकै नै खुसीलाग्दो कुरा हो।
विशेष गरी किन खुसी लाग्छ भने गायकहरूले पनि साहित्यको सेवा गरि नै रहेका छन्, हुन्छन् भन्ने कुरा थोरै मान्छेलाई मात्र थाहा थियो सायद। यो पुरस्कार दिँदाखेरि अब के छर्लङ्ग भएको छ भने साहित्यको श्रीवृद्धिमा गायकहरूको पनि एउटा गहन भूमिका हुँदोरहेछ।
मलाई के खुसी लाग्छ भने मैले पनि (मैले अस्ति पनि भनें कि यद्यपि म आफैं साहित्य कथा, कविता, गीत लेख्न जान्दिनँ वा सक्दिनँ भनौं, तर पनि गीत गाएर साहित्यको सेवा गरिरहेको रहेछु भन्ने कुरा यो पुरस्कार दिँदाखेरि मलाई थाहा भयो।) त्यसैले मैले आफूलाई धन्य ठानें कि मैले साहित्यको पनि सेवा गरेको रहेछु साथै गीत पनि गाइरहेछु।
पुरस्कार दिएर मदन पुरस्कार गुठीले मलाई हौसला दियो। मलाई विश्वास छ, अझै पनि म, योभन्दा राम्रो साहित्य छानेर गीत गाउने प्रयास गर्छु।’ (जगदम्बाश्री प्राप्त गर्दाका क्षणमा नेपाल टेलिभिजनका लागि लिइएको सो अन्तर्वार्ता नारायण गोपाल स्मृति अंक, २०४९, कार्यकारी सम्पादकः रमण घिमिरे)
नारायण गोपालसँग अन्तर्वार्ताकै क्रममा दोस्रोपटक पनि भेट गर्ने अवसर पाएँ। त्यसबेला मुलुकमा ठुलो परिवर्तन भइसकेको थियो। बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि आम कलाकारका निम्ति एकतन्त्रीय व्यवस्थाद्वारा अज्ञात रूपमा उत्पन्न गराइने सङ्कुचन हटिसकेको थियो। कैयौं कलाकारका कतिपय गीतहरू जुन पहिले रेडियो नेपालमा प्रतिबन्धित थिए, बज्न थालेका थिए।
सांगीतिक क्षेत्र, सिर्जना, गायन एवं सार्वजनिकीकरणका लागि पनि नयाँ युगको उदय भएको थियो। सांगीतिक क्षेत्रमा अभ्यस्त नभए पनि त्यसतर्फ मेरो धेरथोर अभिरुचि भने थियो नै। म त्यस क्षेत्रमा सघन उपस्थितिसहित नभई सामान्य अभिरुचिमा नै खुम्चिइरहें।
नारायण गोपालजस्ता लोकप्रिय कलाकारका स्वरबाट अप्रभावित कमै मात्र श्रोता हुन सक्छन्। म सामान्य श्रोताका रूपमा रहेरै उनले गाएका गीतमध्ये आफूलाई बढी मनपरेका केही गीतहरू यदाकदा गुन्गुनाउने हैसियतसम्म राख्छु।
२०४७ सालको असार लागिसकेको थियो। त्यसबेला अभिव्यक्ति कार्यक्रमलाई पाक्षिक बनाएर मलाई ‘बिपी मन्थनको इतिहास’ (धारावाहिक वृत्तचित्र) निर्माण टिममा पनि खटाइएको थियो। समय निकालेर म अभिव्यक्ति निर्माण गर्थें।
हरिभक्त कटुवालको जन्म असारको तेस्रो सातातिर पर्ने रहेछ। त्यो थाहा पाएपछि मलाई उनको स्मृतिमा कार्यक्रम बनाउनु उपयुक्त हुने लाग्यो। उनका बारेमा कार्यक्रमको योजना बनाएर सान्दर्भिक दृश्यहरू संकलन गरें। उनीबारे बोल्ने साहित्यकारहरू पनि तय गरें। कार्यक्रममा उनका गीत गाउने नारायण गोपालसँग पनि अन्तर्वार्ता लिन पाए हुन्थ्यो भन्ने लाग्यो। त्यसो हुँदा हरिभक्तका बारेमा निर्माण गरिने साहित्यिक÷सांगीतिक कार्यक्रम अझ रुचिकार हुने थियो।
यस्तै सम्झेर एकदिन नारायण गोपाललाई फोन गरें र भेट गर्ने समय मागें। पहिले नै भेटघाट गरी अन्तर्वार्ता पनि लिइसकेको हुनाले उनले सञ्चार मन्त्रालयमा भेट्न आउनू भने। उनी त्यसबेला सञ्चार मन्त्रालयमा (सांगीतिक) सल्लाहकारका रूपमा नियुक्त भएका थिए।
उनले भनेको दिन (भोलिपल्ट दिउँसो) म उनलाई भेट्न मन्त्रालय गएँ। बस्नलाई त्यहाँ एउटा सानो कोठा उनलाई दिइएको रहेछ। एउटा टेबल र २/३ वटा कुर्सी मात्र थिए कोठामा। टेबलमा केही कागजपत्र देखिन्थे। उनको कोठा भुइँतलामै थियो।
नारायण गोपालले मलाई चिनिसकेका हुनाले अलि खुलेर बोले। स्वास्थ्य अवस्थाका कारण नयाँ गीत गाउन निकै समयदेखि नसकेको कुरा गरे। म हरिभक्तका बारेमा कार्यक्रम बनाउने सन्दर्भमा कुरा गर्न र अन्तर्वार्ता छायाङ्कन गर्न समय माग्न गएको थिएँ। उनले भोलिपल्टको समय दिए र ‘भोलि ११ बजेतिर यहीं आउनू’ भने। १५-२० मिनटको त्यस बसाइमा केहीबेर हरिभक्तकै गीतका बारेमा हामीले कुरा गर्यौं।
उनले ‘अन्तर्वार्तामा पनि यस्तै कुरा गर्ने त होला नि’ भने। दाइसँगै बसेर चिया खाएर म फर्कें। भोलिपल्ट क्र क्युसहित पुगें। उनको कोठामा सुटिङलाई बाहिरी प्रकाशको पर्याप्तता नभएकाले मन्त्रालयको उत्तरपट्टिको साँघुरो बाटोमा कुर्सी राखेर त्यहीं अन्तर्वार्ता छायाङ्कन गराएँ। छायाङ्कनमा रत्नहजुर सेन र ध्वनिमा चुडेश्वर हमाल थिए।
हरिभक्तसँगका वैयक्तिक र सांगीतिक सम्बन्धका विषयमा नारायण दाइले अलि विस्तृत रूपमै अन्तर्वार्ता दिए। उनले हरिभक्त आफूलाई निकै नै मनपरेका गीतकार रहेको बताए। सँगसँगै उनीसँग बसउठ गरेका अनौपचारिक क्षणहरूका बारेमा पनि बोले।
हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ बोलको गीत सबैभन्दा बढी मन परेका थोरै गीतमध्येको एक रहेको र त्यसलाई अझै राम्ररी फेरि पनि गाउन मन लागेको बताएका थिए। तर उनको त्यो इच्छा पूरा हुन पाएन। नेपाली सांगीतिक क्षेत्रका विषयमा पनि उनले संक्षिप्तमा बोलेका थिए।
कार्यक्रमको अरू प्राविधिक तयारी, आलेख, उद्घोषण, सम्पादन सकेर केही दिनपछि (असार १८ गते हुनुपर्छ) हरिभक्तको स्मृतिमा निर्मित अभिव्यक्ति कार्यक्रम प्रसारण भयो। कार्यक्रममा उनको गीतकार व्यक्तित्वमाथि नारायण गोपालले अन्तर्वार्ता दिएका हुनाले दर्शकले निकै मन पराएको प्रतिक्रिया, विशेषगरी साहित्यिक वृत्तबाट प्राप्त गरें। मलाई निकै सन्तोष लाग्यो।
यसरी उनीसँग दुईपटक नेपाल टेलिभिजनबाट मलाई अन्तर्वार्ता लिने अवसर मिल्यो। दुवैपटकमा उनले मसँग अन्तर्वार्ता दिन कुनै आनाकानी गरेनन्। मैले पनि कुनै असहजता महसुस गरिनँ। हरिभक्तका बारेमा बोल्दा उनी अलि भावुक बनेको प्रष्ट अनुभव गर्न सकिन्थ्यो। मलाई लाग्छ, हरिभक्त कटुवालका बारेमा उनले मलाई दिएको अन्तर्वार्ता नै सञ्चार माध्यमका लागि दिएको अन्तिम अन्तर्वार्ता थियो कि।
केही महिनापछि उनी बिमारी भएको समाचार आयो। पटकपटक अस्पताल जाँदै केही सन्चो हुँदै फर्कंदै गरेका नारायण गोपाल पछिल्लोपटक हप्तादिनभन्दा बढी नै वीर अस्पतालमा उपचाररत रहे।
अन्ततः मंसिर १९ गतेपछि भने उनी सशरीर घर फर्केर आउन नियतिलाई मन्जुर भएन। मैले त्यसदिन दिउँसो प्रज्ञा प्रतिष्ठान, कमलादीमा अन्य हजारौं शोकाकुल श्रोताहरूबिचमा ठेलिँदै गएर उनको निश्चल शरीरमा अबिर र फूलको थुँगा चढाएँ। त्यसबेला ‘श्रद्धाको फूल चढाइदिनू...’ (शब्दः रविन्द्र शाह) भन्ने बोलको गीत बजिरहेको थियो।
मेरा आँखाको बाटो भएर त्यही गीत भुइँमा पनि झरिरहेको थियो। सँगसँगै त्यहाँ शोकाकुल हजारौं आँखाहरू बर्सेर प्रतिष्ठानको प्राङ्गण भिजिरहेको थियो। बिस्तारै उनको पार्थिव शरीरलाई उठाइयो। अर्को पाश्र्व गीत बज्न थाल्यो-‘म मरे पनि मलाई मेरो देशको माया छ...’ (शब्दः लक्ष्मण लोहनी, संगीतः चन्द्रराज शर्मा)। बिस्तारै प्रतिष्ठानको गेटबाट उनको पार्थिव शरीर बाहिरियो, म मानवसागरमा हेलिएँ।
प्रकाशित: १६ मंसिर २०८० ००:१३ शनिबार