सधैं चुनावी नारा र अजेन्डा बनिरहेको हुलाकी राजमार्ग यो वर्ष कसैको नजरमा छैन। दलका घोषणापत्रहरूमा लेख्नेसम्मको काम भए पनि उम्मेदवारहरूले यसलाई न नारा बनाएका छन् न भाषणबाजीमा समेटिएका छन्। मधेस प्रदेशको समृद्धिको आधार मानिएको हुलाकी राजमार्गको द्रुत निर्माण कार्य भने चलिरहेको छ। हुलाकी राजमार्ग बनेपछि सहज आवागमन हुनेमा त्यहाँका जनता आशावादी छन् तर उक्त संरचनाको निर्माण कहिले पूरा हुन्छ भनेर न नयाँ दलहरूले भन्न सक्ने अवस्था छ न पुराना दलहरूले नै।
हुलाकी राजमार्ग नेपालको तराई क्षेत्रअन्तर्गत पूर्वमा भद्रपुर (झापा) देखि पश्चिममा दोधारा (कञ्चनपुर) सम्म विस्तारित छ। यो राजमार्ग मधेसका बस्तीहरूको बिचबाट गएको छ। यो नेपालको सबैभन्दा पुरानो राजमार्ग हो। सरकारी चिठीपत्र एवं कागजातहरू देशभर छिटोछरितो एवं सजिलो हुने गरी ओसारपसार गर्ने प्रयोजनका लागि आठौं राणा प्रधानमन्त्री पद्मशमशेर जबराले आफ्नो शासनकाल २००२ मंसिर १४ देखि २००५ वैशाख १६ गतेसम्मको अवधिमा तराई/मधेसमा पूर्वदेखि पश्चिमसम्म फैलिएको परम्परागत तराई मधेस मार्गलाई हुलाकी मार्ग नामकरण गरी निर्माण थालिएको थियो तर ७७ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। पछिल्लो समय चुनावका सन्दर्भमा पनि पुल निर्माण र हुलाकी राजमार्गबारे उम्मेदवारहरूले कुरा उठाइरहेका छैनन्।
हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा धनुषा–सिरहाको बिचमा बग्ने कमला नदीमा पुल शिलान्यास हुँदा यस भेगका ग्रामीणदेखि सहरी क्षेत्रका बासिन्दामा खुसी सञ्चार भएको थियो। राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर उनीहरू खुसीले रोमाञ्चित भएका थिए।
२०६८ सालमा ठेक्का लागेर काम सुरु भएपछि यस भेगका जनता निर्बाध रूपमा पुल बन्नेमा ढुक्क भए तर १२ वर्ष बिताएर निर्माण भएको यो पुल उद्घाटन नहुँदै कमला नदीमा आएको सामान्य भेलमै भासियो। पुल भासिएपछि यस भेगका जनताको आशा निराशामा परिणत भयो। अर्थात् ७७ वर्षपछि साकार हुन लागेको पुल सपना फेरि पनि अधुरो रहन गयो।
हुलाकी राजमार्गको द्रुत सम्पर्कको माध्यम हो, कमला पुल। यो पुलले धनुषा र सिरहालाई जोड्छ। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, यहाँका जनताको जीवनस्तरसमेत द्रुत गतिमा उकासिन्छ। यो पुलसँग सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ।
सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल २०७८ असारमा करिबकरिब सम्पन्न भएको थियो। ढिलै भए पनि निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरी उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असारमा कमला नदीमा आएको बाढीका कारण पुल भासिएपछि मधेसको जीवनरेखा हुलाकी राजमार्गको सपना सेलाउन पुग्यो। सरकारले हुलाकी राजमार्ग पनि आजभन्दा चार वर्षअघि नै सिध्याउने लक्ष्य राखेको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बिचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।
कम्पनीले सुस्त गतिमा पुल पुनर्निर्माण गर्ने गरी काम थाल्यो तर पुल मर्मत र निर्माण अझै अधुरो छ। जसका कारण यो बर्खामा पनि यस भेगका जनता पुलमाथिबाट कमला नदी तर्ने अवस्था देखिँदैन। कमला नदीको यस पुलभन्दा दुई किलोमिटर दक्षिण झोलुंगे पुल निर्माण भएको छ। यस पुलबाट मोटरसाइकलसम्म मुस्किलले वारपार हुन्छ।
२०८१ चैतमा यस झोलुंगे पुलको उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भासिएको कमला नदीको पक्की पुल पुनर्निर्माणको काम द्रुत गतिमा सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए तर काम हुन सकेन र स्थानीय आन्दोलित भए। सरकारको मधेस दृष्टिको ज्वलन्त उदाहरण कमलाको यही पुल हो। पुल भासिएको चार वर्ष भइसक्दा पनि पुनर्निर्माणको काम सम्पन्न नहुनुले सरकारको उदासीनता प्रस्ट हुन्छ। पुलमा अल्झेको मधेसको ‘लाइफ लाइन’ फुकाउन सरकारले देखाइरहेको उदासीनताले यस भेगका जनतामा सरकारप्रति आक्रोश र असन्तोष बढाएको छ।
समृद्धिको सपना कहालीलाग्दो
राणाकालदेखि चर्चामा आएको हुलाकी राजमार्ग पटकपटक शिलान्यास हुँदै सेलाउने गरेको छ। १९०३ देखि २००८ सालसम्म पटकपटक यो पुलको शिलान्यास भयो। पटकपटक शिलान्यास र निर्माण थालनी भए पनि बिचबिचमा रोकिएको विगत छ। त्यही नियतिले अहिलेसम्म पछ्याइरहेकै छ।
राणाकालदेखि नै मधेसका जनताको मन जित्ने नारा हो, हुलाकी राजमार्ग–कमला पुल। यही नारालाई २००७, २०४६ सालको परिवर्तनपछि संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले पनि मजाले भजाए। यो राजमार्गलाई मधेसी जनताको आर्थिक समृद्धिसँग जोडेर बनाइएका चुनावी नारा खुबै बिके। हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल नेता सांसद, मेयर/अध्यक्ष बने। उनीहरूको जीवनशैली फेरियो तर मधेसी जनताको जीवनस्तर बदलिएन।
पूर्व–पश्चिम हुलाकी सडक ९७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित एक हजार ७९२ किलोमिटर सडक स्तरोन्नति ४७ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेर सुरुवात भयो तर निर्माण कार्यले गति लिन सकेन। जनता धुलाम्मे र हिलाम्मे सडकमा यात्रा गर्न विवश बनिरहे। कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको लामो समय भएको छ।
एक अर्ब २० करोड २० लाख रुपैयाँमा करिब ३० किलोमिटर लामो हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको ३६ महिने समय पूरा गर्दा पनि सम्पन्न भएन। सरकारले २०७८ असार मसान्तसम्म काम पूरा गर्ने गरी फेरि समय थप गर्यो तर अहिलेसम्म काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। ‘बुवाहरूले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउनुहुन्थ्यो,’ सिरहा बरियारपट्टिका बिल्टु यादव भन्छन्, ‘तर हुलाकी राजमार्ग भएर कमला नदीमाथिको पुल तर्ने बुबाको सपना पूरा भएन। मेरो सपना पूरा हुन्छ भने आशा थियो तर त्यो पनि त्यत्तिकै सेलाउने हो कि?’
यादव विगत सम्झँदै थप्छन्, ‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो। सडकमा परेका खाल्डाका कारण गुडाउनै कठिन हुन्थ्यो। यहाँबाट भारतका दरभंगा, मधुवनीलगायत सहरमा धान बिक्री गर्न लैजान्थ्यौं। उताबाट नुनतेल, लत्ताकपडा लिएर आउँथ्यौं। पूर्व–पश्चिम राजमार्ग बन्न थालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो। सडक बिस्तारै जीर्ण बन्न थाल्यो। पछि बयलगाडा हिँडाउनसमेत असहज भयो।’
यो हुलाकी सडकको दुर्दशा पूर्व–पश्चिम राजमार्ग बनेपछि सुरु भएको आसपासका स्थानीय बताउँछन्। ‘पूर्व–पश्चिम राजमार्ग बनेपछि यो सडक राज्यबाट ओझेलमा पर्यो,’ यादवले भने।
ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ। हुलाकी सडक क्षेत्रमा चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्व–पश्चिम राजमार्ग) छेउ विस्तार हुन थाल्यो। दक्षिणका (हुलाकी सडकछेउका) बासिन्दा उत्तरतिर सरेपछि व्यापार–व्यवसायसमेत उतैतिर सर्यो। बिस्तारै हुलाकी सडकछेउछाउका क्षेत्र ओझेलमा परे तर भारतीय सीमासँग नजिक रहेकाले हुलाकी राजमार्गको निर्माणसँगै यो क्षेत्रको रौनक फर्किने क्रम रहेको स्थानीय बताउँछन्। ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्रको रौनक बढ्छ,’ यादव भन्छन्, ‘यो क्षेत्रमा समृद्धिको सुरुआत हुन्छ।’
हुलाकी सडकको सुरुवात पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो। मधेसका जिल्लाहरू जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किलोमिटर फैलिएको छ।
यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने आठ सय १७ किलोमिटरका ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ एक हजार सात सय ९२ किलोमिटर पुगेको छ। समृद्धिको सम्भावना नेपालको कुल क्षेत्रफलको २१ प्रतिशत भूभाग ओगटेको मधेसलाई अन्नको भण्डार भनिन्छ। यहाँको उत्पादनले मुलुकलाई पाल्न सक्ने बताइन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै खाद्यान्नमा परनिर्भर बनाएको मधेस मामिलाका जानकार बताउँछन्।
नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेस प्रदेशमा रहेको छ। यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८ प्रतिशत) रहेको देखिन्छ। देशको कुल क्षेत्रफलको तुलनामा यो प्रदेशमा खेती नभएको जमिन १२.२६ प्रतिशत छ। यहाँको एक तिहाइभन्दा कम जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको तथ्यांकले देखाउँछ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहरहरू यसै क्षेत्रमा छ। स्रोतसाधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि परेको अर्थात् गरिब छ।
पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ। मधेसमा उर्वर जमिन छ, जलको समुचित व्यवस्था छैन। उत्पादन छ, बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पुर्याउन सके मधेसको समृद्धि मधेसी आफैंले सम्भव बनाउन सक्छ।
सहजा पुल निर्माण पनि सुस्त
सम्झौताको म्याद सकिए पनि सिरहाको अर्नमा र औरही गाउँपालिकालाई जोड्ने सहजा नदीको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण डाइभर्सनको बाटो भएर यात्रा गर्न बाध्य छन्। ‘पूर्व-पश्चिम हुलाकी राजमार्गको विस्तारसँगै सहजा नदीमा रहेको पुरानो पुल भत्काएपछि निर्माणस्थलको दक्षिणपट्टि बनाइएको डाइभर्सनबाट यस भेगका जनता सास्तीपूर्ण ओहोरदोहोर गर्न बाध्य छन्। माटो हालेर बनाइएको डाइभर्सनबाट सुक्खामा उड्ने धुलोले सास्ती हुन्छ,’ गणेशपुरका कपिलदेव यादवले भने, ‘बर्खामा हिलोले हिँड्नै सकिँदैन। जसकारण बर्खामा हामी बरियारपट्टि, सुखीपुर, जिरोमाइल, चोहर्वा हुँदै ५५ किलोमिटर दुरी छिचोलेर जिल्लाको सदरमुकाम सिरहा पुग्नुपर्ने बाध्यता छ।’
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल निर्माणको ४० प्रतिशत काम सकिएको छ। २०७९ मंसिर १६ मा दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले सम्झौता गरेपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको छ। सम्झौताको म्याद सकिँदासम्म पुलको दुई वटा पाइल मात्र ढलान भएको छ।
ठेक्केदार कम्पनी सुगमका सञ्चालक श्याम साह हुन्। औरही गाउँपालिका–१ दरहैया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का हो।
उक्त ठेक्का रकमको मोबिलाइजेसनबापत पाँच प्रतिशत र गरिएको कामबापत भ्याटसहित तीन करोड ४० लाख ७३ हजार दुई सय ५० रुपैयाँ भुक्तानी लिइसकेको छ। सहजा पुलको ठेक्का सम्झौताअन्तर्गत समावेश भएको हुलाकी सडकअन्तर्गत पर्ने औरही गाउँपालिका-१ दरहैया चोकसँगै पश्चिमपट्टि रहेको लचकामा बनाइनुपर्ने बक्स कल्भर्ट बनाउने त झन् सुरसार नै भएको छैन।
प्रकाशित: १५ फाल्गुन २०८२ ०६:२१ शुक्रबार





