प्रतिनिधिसभा निर्वाचन सँघारमै आइपुग्दा मोरङमा चुनावी जोडघाट सुरु भएको छ। निर्वाचनको परिणाम आफ्नो पक्षमा पारेर राजनीतिक विरासत कायम राख्न पुराना राजनीतिक दलहरू सक्रिय छन्। नयाँ राजनीतिक दलहरू पनि पुरानो विरासत भत्काएर आफ्नो स्थान सुरक्षित गर्न लागिपरेका छन्। त्यसका लागि राजनीतिक दल र तिनका उम्मेदवार मात्र नभएर स्वतन्त्र उम्मेदवारहरू पनि घरदैलो कार्यक्रममा जुटेका छन् । उनीहरू आआफ्नो प्रतिबद्धता मतदातासमक्ष पेस गरिरहेका छन्।
६ निर्वाचन क्षेत्र रहेको मोरङमा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले क्षेत्र नम्बर १, ३ र ६ को परिणाम आफ्नो पक्षमा पारेको थियो। बाँकी तीन क्षेत्रमध्ये २ मा एमाले, ४ मा तत्कालीन माओवादी केन्द्र र ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
कांग्रेससहितका दलहरू विगतको परिणामलाई सुरक्षित गर्दै थप क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्न जोडतोडले लागेका छन्। अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर १ र २ बाहेक कांग्रेस बाँकी चार क्षेत्रको समानुपातिक मतमा पहिलो दल बनेको थियो। कांग्रेसकै विरासत बोकेको यस जिल्लाको परिणाम आफ्नो पक्षमा ल्याउने दाबी सोही पार्टीले गरिरहेका बेला नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, श्रम संस्कृति पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टीसहितका दलहरू नयाँ इतिहास बनाउन सक्रिय छन्। स्वतन्त्र उम्मेदवारहरू राजनीतिक दल र तिनको दबदबालाई तोड्ने भन्दै जनताका घरघरमा पुगेका छन्।
घरदैलोमा शेखर, भरोसा खोज्दै जनता
‘मुलुकलाई अहिले हाम्रो मात्र होइन, सिंगो देश र सबै पुस्ताले भरोसा गर्ने र विश्वास जगाउन सक्ने नेता चाहिएको छ। जसले हाम्रो मात्र होइन, आमाबुवादेखि सबै पुस्ताको मर्का बुझेर काम गरोस्,’ विराटनगर–६ मोरङकी नेहा झा भन्छिन्। त्यस्तो व्यक्तिलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुपर्छ। मोरङ औद्योगिक र राजनीतिक राजधानी पनि भएको बताउँदै उनले थपिन्, ‘त्यसलाई कायम राख्न मोरङ–६ बाट शेखर कोइरालालाई नै उपयुक्त उम्मेदवार हुन्।’
परिपक्व र भरोसायोग्य व्यक्ति भएको जनाउँदै शेखरले अप्ठेरोमा पार्टीमा पनि पुलको भूमिका निर्वाह गरेको र देशमा समस्या आउँदा पनि सबै राजनीतिक दललाई समन्वय गरेर अघि बढ्न सक्ने उनको बुझाइ छ।
नेहा झाले भनेजस्तै विराटनगर १०४ वर्ष लामो राणाशासन अन्त्यका लागि कृष्णप्रसाद कोइरालाले विद्रोहको विगुल फुकेको ठाउँ हो। उनकै सन्तान बिपी कोइरालाले मुलुकमा प्रजातन्त्र बहाली गर्न कांग्रेस स्थापनाका लागि आह्वान गरेका थिए। त्यही आह्वानसँग २००३ सालमा विराटनगरको जुटमिलबाट राणाविरोधी आन्दोलन सुरु भएको हो।
त्यही कोइराला परिवारको लिगेसीसहित राजनीतिमा सक्रिय सेखर अहिले मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। शेखरप्रति स्थानीय र आम नागरिकको देशलाई निकास र मोरङको विकास गर्ने त्यही आशा र भरोसा राखेका छन्। नेताले स्थानीयको समस्या पनि बुझ्न सक्नुपर्ने जनाउँदै विराटनगर–१२ का धिरज ताजपुरियाले भने, ‘देशमै गरिखान्छु भन्नेलाई त्यो वातावरण बनाइदिन सक्ने नेता हामीलाई चाहिएको छ।’
शेखरले आफ्नो क्षेत्रको मात्र होइन, देशकै नेतृत्व गर्न सक्ने धिरजको बुझाइ छ। कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको बताउँदै उनले थपे, ‘सभापतिलाई प्रधानमन्त्री बन्ने अवस्था नआउँदा पार्टीभित्र मात्र होइन, अन्य पार्टीले पनि स्वीकार गर्न सक्ने व्यक्ति उहाँ नै हो जस्तो लाग्छ।’
मतदाताको गुनासा सुन्दै घरदैलोमा पुगेका शेखरले जेनजीदेखि पाका पुस्ताका आँट, भरोसा, जोसलाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीका साथै सडक, तटबन्धजस्ता स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि आफू सक्रिय रहेको र आगामी दिनमा पनि रहने उनले बताउँदै आएका छन्।
शेखरसँग एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय, रास्वपाकी रूबिना आचार्यलगायत २० उम्मेदवार मैदानमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी कित्ताका अगुवा ढकाल १७ वर्षपछि शेखरसँग आमनेसामने भएका छन्। अघिल्लो निर्वाचनमा मोरङ–४ बाट उम्मेदवार बनेका ढकालसहित विपक्षी उम्मेदवारले शेखरले स्थानीय आवाजलाई उठाउन नसकेको बताउँदै मत माग्दै आएका छन्।
रास्वपाकी रुबिनाले एक पटकलाई मत परिवर्तन गर्न मतदातालाई आग्रह गरिरहेकी छन्। बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका २–७ र विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ पर्ने यस क्षेत्रमा एक लाख ३७ हजार ८३२ मतदाता छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदार विजयी भए। कांग्रेसका शेखर पराजित भए तर गच्छदारले दुई क्षेत्र जितेपछि मोरङ–७ छाड्दा २०६५ सालमा भएको उपनिर्वाचनले फेरि नतिजा उल्टिँदा शेखर विजयी भए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि शेखरले जित दोहोर्याए। २०७४ सालमा एमालेका लालबाबु पण्डितसँग झिनो मतले पराजित शेखरले २०७९ सालमा ३५ हजार २२४ मतसहित जित हात पारे। एमालेका पण्डित २२ हजार नौ सय ४६ मतमै रोकिए।
मोरङ–५ मा आआफ्नै दाबी
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका थिए। राजनीतिक दलहरूको दबदबाबिच विजयी मण्डल फागुन २१ गते हुने चुनावमा पुनः उम्मेदवार बनेका छन् तर अहिले उनले आफ्नै नेतृत्वमा खोलिएको राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवारी दिएका छन्। उनीसँगै कांग्रेसका फूलकुमार लालवानी, जसपाका राजकुमार यादव, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल, रास्वपाका आशा झासहित २१ जना चुनावी मैदानमा छन्।
जीवन विकास समाजमार्फत शिक्षा, स्वास्थ्य, लघुवित्त, कृषि तथा वातावरणको क्षेत्रमा काम गरिरहेका मण्डलले दुई हजारभन्दा बढीका लागि रोजगारी सिर्जना गरेका छन्। मण्डलले मोरङको कटहरीमा सामुदायिक अस्पतालसमेत सञ्चालन गरेर मोरङका दक्षिणी भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन्। उनी विगतमा नेकपा एमालेमा आबद्ध थिए तर एमालेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। जेनजी आन्दोलनपछि आफ्नै नेतृत्वमा उनले पार्टी गठन गरेका छन्।
२०७९ सालको निर्वाचनमा कांग्रेस र एमाले दुवैले आआफ्नो उम्मेदवार दिएका थिएनन्। अहिले कांग्रेसले मारवाडी समुदायका लालवानीलाई मैदानमा उतारेको छ भने एमालेले पनि व्यापारिक पृष्ठभूमिका मारवाडी समुदायका अग्रवाललाई अघि सारेको छ। नेकपाका मण्डल पटकपटक चुनाव लडेका र मन्त्रीसमेत भइसकेका नेता हुन्।
यस्तै जसपाका राजकुमार यादव यस क्षेत्रमा तेस्रो पटक प्रतिश्पर्धा गरिरहेका छन्। उनी २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनदेखि निरन्तर यस क्षेत्रमा उम्मेदवार बने पनि जित हासिल गर्न सकेका छैनन्। मोरङ–५ मा अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा जसपा कांग्रेसपछि दोस्रो स्थानमा छ। यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।
दक्षिणी सीमा भारतसँग जोडिएको यस क्षेत्रमा सडक पूर्वाधार, कृषि, नागरिकता र सीमापार चोरी निकासी पैठारीको समस्या छ। दलका उम्मेदवारले सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन्।
मोरङ–४ सहयोगी नै प्रतिस्पर्धामा
मोरङ–४ मा विगतका दुई निर्वाचनमा सहकार्य गरेका नेताहरू फागुन २१ गते हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धामा उत्रिएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसको समेत साथ लिएर प्रतिनिधिसभा सदस्य बनेका पूर्वमन्त्री अमनलाल मोदी अहिले पनि नेकपाबाट उम्मेदवार बनेका छन्। उनीसँग २०७९ सालको सहयोगी दल कांग्रेस महामन्त्री गुरुराज घिमिरे चुनावी मैदानमा छन्। पार्टीको विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा पुगेका घिमिरेलाई त्यहाँ स्थानीयले गिरिजाप्रसाद कोइरालापछि पार्टी महामन्त्री हुँदै कांग्रेस सभापतिको जिम्मेवारीमा पुग्न सक्ने भविष्य भएका नेताका रूपमा हेर्न थालेका छन्।
मोदी र घिमिरेसँगै एमालेका जीवन घिमिरे पनि प्रतिस्पर्धामा छन्। विगतमा कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर मोदीले संसदीय यात्रा तय गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा मोदी वाम गठबन्धनका तर्फबाट चुनाव जित्दा एमालेका घिमिरे ४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
२०७९ सालको निर्वाचनमा कांग्रेसको साथ लिएर मोदीले संसद्को यात्रा सुनिश्चित गर्दा ४ (क) बाट उम्मेदवार बनेका गुरुराज भने प्रदेशसभा सदस्यमा पराजित भएका थिए। अहिले उनीहरू तीनै जना आमनेसामने भएका छन्। रास्वपाले सन्तोष राजवंशीलाई मैदानमा उतारेको छ।
उक्त क्षेत्रबाट यस पटक राप्रपाबाट माधव आचार्य, जसपाका तवरेज अख्तर आलम, जनमत पार्टीका जीवनकुमार गुप्ता, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का जयराम थारू, मंगोल नेसनल अर्गनाइजेसनका गोल्छा राई, संघीय लोकतान्त्रिक मञ्चका हरनु मुसर छन्।
यस्तै श्रम संस्कृति पार्टी कृष्णकुमार अटल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का हरिबहादुर बस्नेत, नागरिक उन्मुक्ति पार्टी नेपालका हरिनारायण चौधरी, राष्ट्रिय निर्माण दलकी कल्पना देवी यादव, समावेशी समाजवादी पार्टीकी नुमा लिम्बू, आम जनता पार्टीका अशोक शर्मा साथै स्वतन्त्रबाट भक्तमणि दाहाल, विनोदकुमार कार्की र ज्ञानेन्द्र खत्री मैदानमा छन्। एक लाख १९ हजार २५५ मतदाता रहेको थारू बाहुल्य क्षेत्रमा ग्रामथान र कटहरी गाउँपालिका सबै वडाका साथै विराटनगरका १, २, ३, ८, १०, १९ बेलबारीका ५, ६ र ७ वडा पर्छन्।
मोरङ–३ विरासत जोगाउन जोड
मोरङ–३ २०४८ सालदेखि २०७४ सम्मका सबै निर्वाचन कम्युनिस्ट उम्मेदवारहरूले जित्दै आएको क्षेत्र हो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका डा. सुनिल शर्मा निर्वाचित भए। एमाले उम्मेदवार भानुभक्त ढकाललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै शर्माले ४८ हजार ६३१ मत पाएका थिए। अहिले उक्त क्षेत्रमा कांग्रेसबाट शर्मा नै उम्मेदवार बनेका छन्। शर्मासँग अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की, एमालेका इरनकुमार राई, नेकपाका डा. देउमान सम्बाहाम्फेसहित १८ जना प्रतिस्पर्धामा छन्।
विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले स्वास्थ्य उपचारमा सहुलियतको विषय उठाइरहेका छन् भने रास्वपाका कार्की राजनीति र पार्टीभित्र प्रश्न गर्दै मत बदल्न आग्रह गरिरहेका छन्। साथै उम्मेदवारहरूले सुकुम्बासी समस्या, दोहोरो स्वामित्व विवाद, सडक पूर्वाधार, शैक्षिक गुणस्तर सुधारलगायत अजेन्डा अघि सारेर भोट मागिरहेका छन्। यस क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता छन्।
मोरङ–२ ‘विश्वास र विकासको होड’
त्यस्तै कांग्रेसका मीनेन्द्र रिजाल जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, गुनासोसँग सुन्न व्यस्त छन्। मोरङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रिजाललाई अनुभवी, जनतामैत्री र उत्तरदायी मात्र होइन पार्टीभित्र र अन्य दलहरूसँग संवाद तथा सहमतिको सूत्रधारको भूमिका निर्वाह गर्न सक्ने नेताका रूपमा हेरेका छन्। २०७४ सालको आम निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रको गठबन्धनलाई चिर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित रिजाल अहिले फेरि सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।
२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट सुजाता कोइरालालाई पार्टीले उम्मेदवार बनाएको थियो। त्यसपछि क्षेत्रमा आवतजावत कम गरेको गुनासो नागरिकले गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा तत्कालिन प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको विपक्ष समूहबाट महामन्त्रीको प्रत्यासी बनेका रिजाल पराजित भएसँगै नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा गरेका थिए। पछिल्ला वर्षहरूमा आफू पार्टी र संसदीय राजनीतिमा पनि किनारामा बसेर सक्रिय रहेको उनले बताउँदै आएका छन्।
मोरङ–२ को विकास र देशलाई निकास दिने संकल्पसहित निर्वाचनमा होमिएको बताउँदै रिजालले भने, ‘जनताको मन मात्र होइन मत पनि जित्नेछु।’ जनताको विश्वासमा धोका हुन नदिने जनाउँदै उनले भने, ‘जनताका समस्यालाई सम्बोधन गर्ने काममा सक्रिय हुनेछु।’
फागुन २१ को निर्वाचनमा कांग्रेसका रिजालसँग एमालेका दिलीप बगडिया, नेकपाका चन्द्रवीर राई, रास्वपाका कृष्ण कार्की, राष्ट्रिय ऊर्जाशील पार्टीका मनोज राजवंशी, मंगोल नेसनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी, जसपाबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेकपा माओवादीबाट मेघेन्द्रकुमार रोक्का, राप्रपाबाट कंसराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरहसहितका उम्मेदवार चुनावी मैदानमा छन्।
एमालेका बगडिया रंगेली नगरपालिकाका निवर्तमान प्रमुख हुन्। दुई पटक रंगेली नगरपालिकाको प्रमुखमा निर्वाचित उनले कांग्रेसमा रहेर लामो सयम राजनीति गरेका थिए। पहिलो स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित उनी २०७९ मा एमालेबाट उम्मेदवार बनेर नेतृत्व दोहोर्याएका थिए। रंगेलीमा गरेको विकास निर्माण र रंगेली नगरपालिका क्षेत्रमा नमुनाकै रूपमा निर्माण गरेको हुलाकी राजमार्गलाई नै उनले चुनावी अजेन्डा बनाएका छन् तर प्रतिस्पर्धीहरूले संघीय र प्रदेश सरकारले गरेको काम देखाएर जनतालाई भ्रमित गर्न लागि परेको आरोप लगाउँदै आएका छन्। साथै जनमतको उपेक्षा गर्दै बिचमै नगर प्रमुखबाट छाडेर हिँडेको विषयलाई पनि उठाउँदै आएका छन्।
एक लाख २९ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा कानेपोखरी गाउँपालिकाका १, २ र ३ नम्बर वडा, पथरी–श्रीचरे नगरपालिकाका ५ र ६ नम्बर वडा, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा पर्छन्।
त्यसैगरी रतुवामाई नगरपालिकाका १–१० र सुनवर्षी नगरपालिकाका १–९ वडा पनि पर्छन्। २०४८ देखि २०५८ सम्म गिरिजाप्रसाद कोइराला निर्वाचित यस क्षेत्रबाट आमोदप्रसाद उपाध्याय, ऋषिकेश पोखरेलसहितका नेतालाई जनताले आफ्ना प्रतिनिधि चुनेर पठाइसकेका छन्।
मोरङ–१ फेरिएको प्रतिस्पर्धा
मोरङ–१ मा कांग्रेस र एमालेले विगतमा आलोपालो जित्दै आएका थिए तर यसपटक प्रतिस्पर्धामा उनीहरू दुई मात्र सीमित छैनन्। यस पटक यहाँ बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित डिगबहादुर लिम्बू यसपटक मैदान उत्रिएका छैनन्। बरु लिम्बूसँग पराजित एमालेका घनश्याम खतिवडा अहिले पनि चुनावी प्रतिस्पर्धामा छन्। खतिवडासँग कांग्रेसका खड्ग फागो, नेकपाका कुलप्रसाद साम्बा (कुशल), रास्वपाका यज्ञमणि न्यौपान र श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन मैदानमा छन्। फागो उर्लाबारी नगरपालिकाका पूर्वमेयर हुन् भने साम्बा यसअघि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए। न्यौपाने सो क्षेत्रमा नयाँ हुन्। पाख्रिन भने ७९ सालको निर्वाचनमा लेटाङ नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन्।
चार पालिकाका ३७ वडा रहेको यस क्षेत्रमा कांग्रेस, एमाले आफ्ना परम्परागत मत जोगाउन सक्रिय छन् भने रास्वपा र श्रम संस्कृति पार्टीहरू त्यसलाई भत्काउन लागिपरेका छन्। लेटाङ, उर्लाबारी नगरपालिका र केराबारी र मिक्लाजुङ गाउँपालिका पर्ने यस क्षेत्र भौगोलिक रूपले मोरङको सबैभन्दा ठुलो क्षेत्र हो। एक लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा पाँच स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १३:२३ मंगलबार




