२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

प्रतिनिधिसभा निर्वाचन: ‘नयाँ’ दलहरू उत्साहित कि उच्छृङ्खल?

गत बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (नागरिक) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह सुर्खेत हुँदै दाङ आउन लागेको खबरले मतदाता उत्साहित देखिए। सुर्खेत सल्यान हुँदै दाङ आउन लागेको भन्ने खबर पाएपछि जिल्लाका थुप्रै स्थानमा उनीहरूका समर्थक स्वागतका लागि भन्दै विभिन्न स्थानमा भीड लाग्यो। भलै पछि बालेन आएनन्, रवि मात्र जिल्ला आए।

जिल्लाको हापुरे हुँदै तुलसीपुरसम्म उनीहरूका समर्थकको भीड लाग्यो। रविको स्वागतका लागि सडकमा जम्मा भएको भीडले उनीहरूप्रति मतदाता उत्साहित बनेको निसन्देह मान्न सकिन्थ्यो तर उक्त भीड उत्साहित मात्रै थियो कि उत्तेजित पनि थियो? यो प्रश्न त्यहीं जम्मा भएको भीडले उब्जाइदियो। रास्वपा समर्थकहरूले फरक दल नेकपा एमालेको झन्डा जलाइदिए अनि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरे। झन्डा जलाउन संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रास्वपा समर्थकहरूको यो कार्यको चौतर्फी विरोध भयो तर रास्वपाले यो कार्यलाई आफ्ना समर्थकबाट भएको भनेर स्वीकार गरेन। उसले विज्ञप्ति जारी गरी उल्टै आफूमाथि गलत लाञ्छना लगाउने प्रयत्न गरिएको भन्दै घुसपैठ गरेर रास्वपाको माहोल बिगार्न खोजिएको आरोप लगायो।

अर्को दिन रास्वपाका अध्यक्ष लामिछानेले घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गरे। उक्त आमसभामा पनि रविले एमालेको झन्डा जलाएको घटनाबारे चर्चा गरे  तर उनले पनि उक्त आमसभामा आफूहरूमाथि नियोजित रूपमा लाञ्छना लगाउन खोजिएको आरोप लगाए।

यति मात्रै हैन; भीडमा उत्साहित कार्यकर्ताको मनोभाव बुझेका उनले एमाले महासचिव शंकर पोख्रेलप्रति लक्षित गर्दै कडा प्रहार गरे र भीडलाई थप उत्तेजित बनाउने प्रयत्न गरे। उनले आफ्नो सांसद पद खारेज गर्नेमध्येका एक योजनाकार शंकर रहेको भन्दै उनलाई निर्वाचनमा देखाइदिने धम्की दिए। रविले आमसभा गरेकै निर्वाचन क्षेत्र २ मा एमालेका तर्फबाट शंकर चुनावी मैदानमा छन्।

एमालेनिकट अनेरास्ववियुले पार्टीको झन्डा जलाइएको विरोधमा घोराहीमा कालो झन्डासहित प्रदर्शन गर्‍यो। प्रहरीसँग सामान्य धरपकडको स्थितिसमेत बन्यो। यो उत्तेजना यतिमा मात्रै सीमित रहेन; एमालेनेत्रीको रामपुरस्थित घरनजिकै एक अपरिचितले अपशब्द प्रयोग गर्दै शान्ता र एमालेलाई गालीगलौज गर्दै बाइकबाट भागे। शान्ताले सामाजिक सञ्जालमा राखेको सिसिटिभी फुटेजमा समेत ती व्यक्तिले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको स्पष्ट सुन्न सकिन्छ।

पुराना दलहरूको बैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउँदै आएको नयाँ भनिएको राजनीतिक दलप्रति अहिले जनमानसको क्रेज निकै बढेको देखिन्छ। सहरदेखि गाउँसम्म नै बढेको रास्वपाको माहोलले पुराना दलहरूलाई यो दल कडा चुनौती बन्ने लख काटिएको छ। पुराना दलहरूले केही गर्न नसकेको भनेर गालीगलौज गर्ने यो दल र दलका नेताप्रति बढेको उत्साह केवल उत्साह मात्रै बनेको छैन; पुराना दलहरूलाई गाली गर्ने परिपाटी विकास भएको यो दलका समर्थकहरू उत्साहसँगै उत्तेजितसमेत बन्दै गइरहेका छन्।

कांग्रेस, एमालेलगायत पुराना दलहरूलाई जसरी पनि देखाइदिने दलको नेतृत्वको धम्कीले समर्थकहरूसमेत पुराना दलहरूप्रति खुलेर जाइलाग्ने मनसायमा देखिन थालेका छन्। यसलाई निर्वाचनको मर्मविपरीतको कदम मान्छन् जानकार।

संविधानविद् डा. भिमार्जुन आचार्यले नयाँ भनिएकाहरूबाट देखिएका दृश्य वा चुनावी शैलीलाई कुनै पनि ढंगबाट सही मान्न नसकिने बताउँछन्। उनले नयाँप्रति देखिएको ह्विम केवल समर्थनमा मात्रै सीमित नरहने र यसले उच्छृंखलता पैदा गर्ने बताए। फलतः अहिले पनि यसको परिणाम देखिइरहेको उनको भनाइ छ। ‘निर्वाचनमा एजेन्डा प्रधान हुन्छ, एजेन्डाले चुनावमा जितहार हुने हो’, संविधानविद् डा. आचार्य भन्छन्, ‘तर यहाँ एजेन्डा गौण छ, तर अरूलाई गाली गरेर ह्विम बढाइएको छ, जहाँ गाली गरेर मास वा भीड जम्मा गरिन्छ, त्यहाँ स्वाभाविकै रूपमा उच्छृंखलता जन्मन्छ, अहिले भएको त्यही हो।’

नयाँ भनिएकाहरूले जसरी आफूहरूलाई चुनावमा प्रस्तुत गर्ने अपेक्षा राखिएको थियो, त्यसो हुन नसकेको आचार्य बताउँछन्। पुराना भनिएका दलहरूको वैकल्पिक शक्तिका रूपमा आफूहरू आउने भन्दै भाषण गरिएको भए पनि वैकल्पिक शक्ति बन्ने एजेन्डा के त? नयाँ भनिएकैहरूको चुनावी शैलीले प्रश्न उठाइरहेको आचार्य बताउँछन्। ‘जसरी पुरानाको काम छैन, अब हामी बैकल्पिक शक्ति हौं भनेर प्रचार गरियो, वैकल्पिक शक्ति बन्ने योजना वा एजेन्डा के त? चुनाव जितेर मात्रै वैकल्पिक शक्ति बनिने हैन नि’, डा. आचार्य भन्छन्, ‘वैकल्पिक शक्ति बन्ने नाउँमा पुरानालाई गालीगलौज गरेर, उनीहरूमाथि दुव्र्यवहार गरिनु त लोकतन्त्रमाथिको प्रहार हो, यसर्थ यो प्रवृत्ति अहिले झन्डा जलाउने, गालीगलौज गर्ने कार्यले प्रस्ट पार्दै लगेको छ।’

पुराना भनिएका दलहरूलाई गालीगलौज गरेर जम्मा हुने भीडले निर्वाचन जिताए पनि मत परिणामले मात्रै जित प्रमाणित नहुने उनको भनाइ छ। ‘जित्ने मतको तलमाथिको अंकले मात्रै हुने हैन नि, जित भनेको त निर्वाचनपश्चात् नागरिकलाई प्रत्याभूत गरिनुपर्ने विषयको अनुभूति दिलाएर हुने हो नि’, डा. आचार्य भन्छन्, ‘पुराना दलको बैकल्पिक शक्ति हौं भन्ने तर गालीगलौजबाट मात्र चुनावी परिणाम आफ्नो पक्षमा पर्ने जुन खालेको प्रयास देखिएको छ, यसले आम नागरिकको सही जित हुन्न, लोकतन्त्रको सही जित हुन्न।’

हुन पनि नयाँ भनिएका राजनीतिक दलले पुराना दलहरूले केही गर्न सकेनन् भन्ने भाष्य निर्माण गरिदिएका छन्। यो भाष्यबाट पुराना दलहरूप्रतिको मतदाताको भरोसा तोड्न खोजेका नयाँ भनिएका दलहरूले जसरी पनि आफ्नो पक्षमा चुनावी परिणाम मात्रै खोजिरहेको डा. आचार्यको बुझाइ छ।

नयाँहरूले पुराना दल र दलका नेताहरूलाई गालीगलौज गरे पनि पुराना दलका नेताहरू भने आफ्नो चुनावी अभियानमा मात्रै केन्द्रित देखिएका छन्। नयाँका नाममा देखिएको उत्तेजनाले समग्र राजनीतिप्रति आम मतदाताको बुझाइ थप गलत बन्ने विश्लेषण डा. आचार्यको छ। आफ्नो पक्षमा देखिएको माहोल संरक्षित गर्दै नयाँ एजेन्डाका साथ मतदातासामु पुग्नुले नै हरेक दलको कर्तव्य निर्वाहसँगै भविष्य निर्माण हुने आचार्य बताउँछन्।  

प्रकाशित: १२ फाल्गुन २०८२ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App