१९ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्लाईदुबई प्रकरण : को-पाइलटले एक्लै गरेको हुन सक्ने, इजरायलको प्रारम्भिक अनुसन्धानमा के छ ?

फ्लाईदुबईको कथित अपहरण प्रयास को-पाइलट हमाम अल हमामीले एक्लै गरेको हुन सक्ने इजरायलको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यस विषयमा जानकार स्रोतहरूले सीबीएस न्युजलाई यस्तो जानकारी दिएका हुन्। अनुसन्धान अझै जारी रहेकाले घटनासँग जोडिएका सबै सम्भावित पक्षबारे खोजी भइरहेको बताइएको छ।

गत बुधबार दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा को-पाइलटले भारतीय क्याप्टेन स्मित मच्छारमाथि बन्चरो प्रहार गरेर विमान दुर्घटना गराउने प्रयास गरेका थिए। क्याप्टेन मच्छारले को-पाइलटसँग केही समय संघर्ष गरेपछि ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि इजरायली यात्रु र फ्लाईदुबईका कर्मचारीले को-पाइलटलाई नियन्त्रणमा लिए। विमानमा रहेका दुई अफ-ड्युटी पाइलटले विमानको नियन्त्रण लिएर साउदी अरेबियाको ताबुकमा आपतकालीन अवतरण गराएका थिए। पछि वैकल्पिक विमानमार्फत सबै यात्रुलाई इजरायल पठाइएको थियो।

को-पाइलट अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा छन्। विमानले आपतकालीन अवतरण गरेपछि साउदी अधिकारीहरूले उनीसँग पहिलो चरणको सोधपुछ गरेका थिए। अहिले युएईमा दोस्रो चरणको सोधपुछ भइरहेको छ। इजरायलले अनुसन्धानमा सहभागी हुन आफ्ना प्रतिनिधि पनि युएई पठाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार को-पाइलट इरानसँग सम्बन्धित हुन सक्ने बताएका थिए। ‘मैले सुनेको कुराका आधारमा उत्तर हो,’ ट्रम्पले भनेका थिए, ‘हामी अहिले यसमा काम गरिरहेका छौँ। उनीहरू हामीसँग धेरै खुला छन्।’

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले को-पाइलटले यस्तो कदम चाल्नुको कारण अझै स्पष्ट नभएको बताएका छन्। ‘मलाई लाग्दैन कि यो अपहरण थियो,’ उनले भने, ‘‘मलाई लाग्छ यो आत्मघाती प्रयास जस्तो देखिन्छ।’

गत बिहीबार नेतान्याहूले को-पाइलट ‘इस्लामी कट्टरपन्थी विचारधाराबाट प्रभावित’ भएको कुरा इजरायललाई थाहा भएको बताएका थिए। उनका अनुसार जारी सोधपुछका क्रममा प्राप्त ‘व्यक्तिगत जानकारी’ का आधारमा यस्तो निष्कर्ष निकालिएको हो। तर नेतान्याहूले यसबारे थप विवरण भने दिएनन्। को-पाइलटलाई अन्य चालक दलका सदस्य र यात्रुले नियन्त्रणमा लिएपछि उनले ‘मलाई मार, मलाई मार’ भन्दै चिच्याएको पनि नेतान्याहूले बताएका थिए।

को-पाइलट हमामीले केही समय ओमान एयरमा काम गरेका थिए। त्यहाँ उनले नयाँ पाइलटको तालिम लिएका थिए। ओमानी सरकारको निगरानीका क्रममा उनले कट्टरपन्थी वेबसाइटहरू हेर्ने गरेको पत्ता लागेको स्रोतहरूले बताएका छन्। त्यसपछि ओमान एयरले उनलाई कार्यालयको काममा सरुवा गरेको थियो।

डेस्क ड्युटीमा राखिएपछि उनले ओमान एयरको जागिर छाडेका थिए। हमामीले सन् २०२४ तिर उक्त एयरलाइन छाडेको बताइएको छ। उनले दुबईमा इजरायली एयरलाइन्स एल अलका विमानहरूको भिडियो पोस्ट गरेको पनि पाइएको छ। उक्त भिडियोको अन्त्यमा सन् २०२२ मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका अल कायदा नेता आयमान अल जवाहिरीको तस्बिर राखिएको थियो।

स्रोतका अनुसार हमामी दुबई गएपछि फ्लाईदुबईले ओमानी सरकारसँग उनको पृष्ठभूमिबारे जाँच नगरी काममा राखेको थियो। उनी ओमानी नागरिक हुन्। तर उनको जन्म ओमानमा भएको थिएन। उनले जीवनको अधिकांश समय ओमानबाहिर बिताएका थिए। उनकी आमा सिरियाली र बुबा ओमानी रहेको दाबी गरिएको छ।

ओमानी सरकारले उनको राष्ट्रियता सार्वजनिक रूपमा पुष्टि गरेको छैन। हमामीसँग दोहोरो नागरिकता हुन सक्ने कुरा पनि बाहिर आएको छ। यसले उनलाई इजरायल जाने उडानमा कसरी सहभागी हुन अनुमति मिल्यो भन्नेबारे प्रश्न उठेको छ।

प्रकाशित: १९ आश्विन २०८३ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App