बागलुङ निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन्।
आज बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।
मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन्।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ।
घटनाको थप विवरण आउन बाकीँ छ।
प्रकाशित: १९ आश्विन २०८३ ०९:३५ सोमबार





