१५ असार २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

मतगणना सुस्तः २ दिन सम्म २४ वडामा मात्रै सम्पन्न

जिल्लाका ९ पालिकाहरुको मतगणना शनिबार बिहानै देखि सुरु भयो। तर आईतबार साँझ सम्म जिल्लाका कुल १ सय वडा मध्य जम्मा २४ वडामा मात्रै मतगणना सकिएको छ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय भन्छ ‘मतगणना निकै सुस्त भैरहेको छ।’ दुई दिन सम्म कुनै पालिकाको पनि अन्तिम नतिजा आउन सकेको छैन।  

घोराही उपमहानगरपालिकाका १९ वटा वडा मध्य दुई दिनको अवधिमा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म यो उपमहानगरको १९ नम्बर वडामा मात्रै मतगणना सकियो। यो वडामा कांग्रेसका ज्ञानबहादुर रायमाझी निर्वाचित भएका छन्।

यो उपमहानगरको मत ८ स्थानमा गणना भैरहेको छ। तर पनि दुई दिनको अवधिमा एउटा वडाको गणना मात्रै सकिएको छ। निर्वाचन कार्यालयका अनुसार ७६ हजार भन्दा बढि मत खसेको यो उपमहानगरमा आईतबार बेलुका सम्म जम्मा २० हजार मत मात्रै गणना भैरहेको छ। ‘घोराही उपमहानगरको मत मात्रै ८ स्थानमा गणना भैरहेको छ,’ प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले भने ‘७६ हजार बढि मत खसेको यो उपमहानगरमा दुई दिन सम्म २० हजार मत मात्रै गणना भएको छ, गणनामा ढिलाई भैरहेको छ।’

यसैगरि ७ वडा रहेको शान्तिनगर गाउँपालिकामा आईतबार बेलुका जम्मा दुई वडाको मात्रै गणना सकिएको छ। यहाँ एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् भने एउटामा माओवादी केन्द्र निर्वाचित भएको छ। यो गाउँपालिकामा पनि शनिबार बिहानै देखि मत गणना सुरु भएको थियो। यसैगरि ९ वडा रहेको लमही नगरपालिकामा पनि दुई दिनको अवधिमा जम्मा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म लमही नगरपालिकाको वडा नम्बर ९ मा मात्रै मत गणना सकिएको छ। यो वडामा कांग्रेस निर्वाचित भएको छ।  

९ वडा रहेको राप्ती गाउँपालिकामा दुई दिनको अवधिमा जम्मा २ वडामा गणना सकिएको छ भने ८ वडा रहेको बंगलाचुली गाउँपालिकामा ५ वडामा गणना सकिएको छ। सबै भन्दा बढि वडामा गणना सकिएको यो गाउँपालिकामा सोमबार बेलुका सम्म सबै वडाको मत गणना सक्ने गरि तयारी गरिएको छ। ‘बंगलाचुली गाउँपालिकामा सोमबार बेलुका सम्म मत गणना सकिने जानकारी आएको छ,’ प्रदेश निर्वाचन कार्यालयका प्रमुख भण्डारीले भने ‘त्यहाँ भने अन्य पालिकाहरुमा भन्दा अलि छिटो गणना भैरहेको छ।’  

यसैगरि जिल्लाको दंगिशरण गाउँपालिकामा पनि सोमबार बेलुका सम्म गणना सकिने अनुमान गरिएको छ । ७ वडा रहेको यो गाउँपालिकामा आईतबार बेलुका सम्म ४ वटा वडामा गणना सकिएको छ। ७ वडा रहेको गढवा गाउँपालिकामा जम्मा २ वडामा मात्रै गणना सकिएको छ। यसैगरि ७ वडा रहेको बबईमा ३ र ७ वडा रहेको राजपुर गाउँपालिकामा आईतबार बेलुका सम्म ३ वडाको गणना सकिएको छ।

गाउँपालिकाहरुमा सोमबार बेलुका सम्म अन्तिम मत परिणाम आउन सक्ने आँलकन गरिएपनि जिल्ला भरको मत गणनाको काम भने निकै सुस्त भएको निर्वाचन कार्यालयका प्रमुख भण्डारी बताउँछन्। उनले गणनामा जनशक्तिको कमीले ढिलाई नभएको बताए। ‘जनशक्तिको कमीका कारण ढिलाई भएको भन्न मिल्दैन, किनकी घोराहीकै कुरा गर्ने हो भने ८ स्थानमा गणनाको काम भैरहेको छ,’ भण्डारीले भने ‘८ स्थानमा मतगणना गर्नुलाई त जनशक्तिको कमी कसरी भन्ने?’  

उनका अनुसार मतपत्र ठूलो हुनु र चुनाव चिन्ह धेरै हुँदा गणनामा ढिलाई भएको हो । ‘मत पत्र ठूलो छ, धेरै उम्मेदवारका चुनाव चिन्ह छन्,’ उनले भने ‘यसरी ठूलो मतपत्रमा धेरै चुनाव चिन्हको मत गणना गर्दा स्वाभाविकै रुपमा ढिलाई हुन गएको हो।’ यसैगरि प्रत्यक मत पत्र एजेण्टहरुलाई देखाएर प्रष्ट पार्नु पर्ने भएकाले पनि गणनामा ढिलाई भएको उनको भनाई छ।

प्रकाशित: १ जेष्ठ २०७९ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App