२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

स्थानीय तह निर्वाचन: नयाँ अनुहारको पक्षमा रुझान

मधेस प्रदेशमा महानगर देखि गाउँपालिकासम्म नयाँ उम्मेदवारप्रति मतदाताको रुझान देखिएको छ। जनाताको नजरमा ‘फेस भ्यालु’ कमजोर भएका प्रतिनिधिलाई मतदाताले आफ्नो मत मार्फत पछि पारिदिएको प्रारम्भिक मत गणना परिणाले देखाएको छ। यसपाली मतदाताहरु सम्भावना देखिएका चेहरामाथि मतको ‘दाउ’ लगाएको देखिएको छ।

मधेस प्रदेशको पश्चिमी सीमामा रहेको महानगरपालिका वीरगन्जदेखि पूर्वी सीमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकासम्म नयाँ अनुहारप्रति मतदाताको उभार देखिन्छ। वीरगन्ज महानगरको मेयरका नयाँ उम्मेदवार राजेशमान सिंहले निवर्तमान मेयर विजयकुमार सरावगीलाई दोब्बर मतले पछि पार्दै अग्रस्थान कायम राखेका छन्। राजेशमान १५०७ मत ल्याउँदा विजयले ६६८ मत पाएका छन्।

मधेस प्रदेशको राजधानी जनकपुरधाम उप महानगरपालिकामा निवर्तमान मेयर लालकिशोर साह निरन्तर पर्दै गएका छन्। जसपाबाट दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेका लालकिशोर १९६ मतमा सीमित भइरहँदा मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले १२६४ मत ल्याएर अग्रस्थानमा छन्। लालकिशोर गठबन्धनको साझा उम्मेदवार हुन। उनलाई गठबन्धनले मेयर पद्को साझा उम्मेदवार बनाउँदा नेपाली कांग्रेसको जनकपुरधाम नगर अध्यक्ष समेत रहेका मनोज साह बागी बनेका थिए। उनी कांग्रेस छोडेर मेयरको स्वतन्त्र उम्मेदवार बनेका छन्।

बाराको कलैया उपमहानगरपालिकामा निवर्तमान मेयर राजेश राय यादव ७१७ मा सीमित भैरहँदा नेकपा एमाबाट मेयर उम्मेदवार विनोद साह १२९५ मत ल्याएर अग्रस्थानमा छन्। मधेस प्रदेशको तेस्रो उपमहानगरपालिका जितपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल ३७०१ मत ल्यार अग्रस्थानमा छन्। उनी गठबन्धनका साझा मेयर उम्मेदवार हुन। पौडेललाई २२४६ मत ल्याएर नेकपा एमालेबाट मेयर उम्मेदवार सरश्वतीदेवी चौधरीले पछ्याउँदै छिन्। सरश्वतीदेवी यस उपमहानगरको निवर्तमान उपमेयर हुन।  

मधेस आन्दोलनको आधारभुमी लहान नगरपालिकामा नेपाली कांगे्रेसका महेश चौधरी ८१६ मतका साथ अग्रस्थानमा छन। उनी गठबन्धनका साझा मेयर उम्मेदवार हुन। चौधरीलाई ५२७ मत ल्याएर नवर्तमान मेयर मुनी साह सुडी पछ्याइरहेका छन्।

सिरहा नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार नविनकुमार यादव ११७२ मतका साथ अग्रस्थानमा छन्। निवर्तमान मेयर अशेश्वर यादव ५९८ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसबाट मेयर उम्मेदवार उपेन्द्रकुमार यादव ७७८ मतसहित दोस्रो स्थानमा छ।  

सिरहाको धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदबार रामचन्द्र यादव १२१९ मतका साथ निरन्तर अग्रस्थानमा छन्। निवर्तमान मेयर हरिनारायण चौधरी २९९ मतका साथ तेस्रो स्थानमा छन्। नेकपा एमालेबाट मेयर उम्मेदवार शिवशंकर महतो ९२० मत ल्याएर दोस्रो स्थानमा छन्।

सप्तरीको राजविराज नगरपालिकामा भिमराज यादव ७५० मतका साथ अग्रस्थानमा छन्। निवर्तमान मेयर शम्भुप्रसाद यादव ३०३ मत ल्याएर दोस्रो स्थानमा छन्। भिमराज जसपाबाट मेयर उम्मेदवार छन भने शम्भुप्रसाद माओवादी केन्द्रबाट मेयर उम्मेदबार छन्। शम्भु ०७४ को स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमबाट मेयर निर्वाचित भएका थिए।

सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीबाट मेयर उम्मेदवार इन्द्रदेव कौडगीया ८५७ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसबाट मेयर उम्मेदवार ललनप्रसाद गुप्ता ८३५ मत ल्याएर दोस्रो स्थानमा र जसपाबाट भोला पासवान ८०१ मत ल्याएर तेस्रो स्थानमा छन्।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकामा जसपाका निरज मुक्ति ४४० मत ल्याएर अग्रस्थानमा छन्। निवर्तमान अध्यक्ष सतिशकुमार सिंह ३६८ मतका साथ तेस्रो स्थानमा छ। ३७९ मत ल्याएर नेपाली कांग्रेसका अरुणकुमार मण्डल दोस्रो स्थानमा छन्। यस गाउँपालिकामा जसपाबाट उपमेयर उम्मेदवार इन्दुमाया यादव नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार फुलकुमारी साहसँग दोब्बर मतले अगाडि छिन्। इन्दुमाया ३३९ मतसहित अग्रस्थानमा छिन्।

मधेस प्रदेशको प्रारम्भिक मत परिणामअनुसार पुराना अनुहारलाई पछि पार्दै नयाँ अनुहार अगाडि देखिएका छन्। मधेस प्रदेशमा १३६ स्थानीय तह मध्ये २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस ४० मा जितेका थिए। संघीय समाजवादी फोरम २६, राजपा २५, माओवादी केन्द्र २१, नकेपा एमाले १८, फोरम लोकतान्त्रिक ३ र अन्यबाट ३ सिट जितेका थिए। फोरम र राजपा एक भएर जसपा गठन भएर ५१ सिट पुगेको थियो। जसपा विभाजन भएर लोसपा गठन भएपछि जसपासँग ३४ सिट थियो।

यसपालीको निर्वाचनको प्रारम्भिक मत परिणामले नेपाली कांग्रेस र नेकपा एमालेको सिट बढ्ने देखिएको छ। जसपा पहिलाको सिट कायम राख्दै केही थप्ने देखिन्छ भने लोसपाले पाहिलाको केहि सिट गुमाउने राजनीतिक विश्लेषकहरुको भनाई छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App